साइकल, रगत अनि जितेन्द्र

समाधान संवाददाता २०७७ जेठ १७ गते १६:१७

दिवस गुरुङ

लकडाउनको पहिलो दिन । बागलुङ घर भइ पोखरा–१५ बस्दै आएका पुरुष कलेजोको अपरेशनका लागि मनिपालमा उपचाररत थिए । उनको उपचारका लागि तुरुन्त दुई पिन्ट ए नेगेटिब ब्लड चाहिएको थियो । ती पुरुष नाताले भिनाजु पर्ने भएकाले पोखराका राजनीतिज्ञ रोमबहादुर भण्डारी रगत खोज्न लागिपरे । उनले जितेन्द्रमान शाक्यलाई सम्झिए ।

जितेन्द्रले तुरुन्तै डोनर खोजे र रगतको व्यवस्था गरिदिए । अपरेशन सफल भयो । लकडाउनको १९ औं दिन गण्डकी अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीय पुतली परियारलाई एबी पोजेटिभको पिआरपी चाहियो । त्यो खबर जितेन्द्रसम्म पुग्यो ।

Advertisement

तत्काल तीन जना रक्तदाता खोजेर रगतको व्यवस्था गरे । लकडाउन जारी रहेपनि जितेन्द्रको दिन रक्तदाता खोजेर र रक्तदान गरेर बित्छ । कोरोनाको महामारीभन्दा पनि उनलाई रगत अभावले कसैको ज्यान जान्छ कि भन्ने चिन्ताले सताइरहन्छ । लकडाउनमा पनि दैनिक ५० देखि ६० यूनिट रगतको माग भइरहेको उनले सुनाए ।

‘पोखरामा लकडाउनको समयमा पनि दैनिक ५० देखि ६० युनिट रगतको माग हुन्छ । प्राय मानिसहरु कोरोनाको भयले रक्तदान गर्न डराउँछन्,’ उनी भन्छन्, ‘त्यसैले हामी ब्लड बैंकसँग सहकार्य गरेर टोलटोलमै सबै सुरक्षाका विधिहरु अपनाएर आकस्मिक रक्तदान कार्यक्रममा जुटिरहेका छौं ।’

Advertisement

कोरोना फैलिन नदिन सरकारले चैत ११ गते लकडाउन घोषण ग¥यो । पूर्वनिर्धारित कति रक्तदान कार्यक्रम स्थगित भए । बिरामीले रगत नपाउने हुन् कि भन्ने चिन्ता जितेन्द्र र उनीजस्तै अरुलाई पनि भयो ।

रगतको विकल्प रगत नै हो । त्यसैले लकडाउनको २९ औं दिन पोखरामा रक्त अभावलाई मध्यनजर गर्दै लामाचौरमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा उनले ६९ औं पटक रक्तदान गरे । रक्तदान मात्र हैन, अहिलेसम्म हजारौंलाई रक्त व्यवस्था गराएर नयाँ जीवन दिलाएका छन् उनले ।

‘लकडाउन अवधिभर करिब ५० भन्दा बढीलाई रगतको व्यवस्था गर्न सफल भएँ । १२ भन्दा बढी आकस्मिक रक्तदान कार्यक्रममा आफैं सहभागी भएँ,’ उनले सुनाए । गहुँगोरो अनि हँसिलो मुहारसँगै अग्लो कदका उनी साइकलको जर्सी, हाफ पाइन्ट अनि साइकलकै हेल्मेटमा हरेक बिहान पोखरा वरिपरिका डाँडामा भेटिन्छन् ।

जितेन्द्र आफूले रक्तदान गर्ने मात्र होइन अरुलाई पनि समयसमयमा रक्तदान गर्न सुझाउँछन् । आफूले रक्तदान गरेको संख्या सुनाउँदा कतिले जिब्रो टोक्छन् । जितेन्द्रले त्यति सुनाएपछि कहिल्यै रक्तदान नगरेका हरुले पनि पहिलोपटक रक्तदान गरे ।

लकडाउन र कोरोनाले उनको सक्रियतालाई सुस्ताउन सकेको छैन । जितेन्द्र नेपालमै रक्त व्यवस्थापनमा अग्रणी भुमिका खेलेको संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज पोखरा शाखाका अध्यक्ष हुन्। पोखरामा रक्त अभाव हुँदा ब्लड बैंकले समेत यही संस्थालाई सम्झन्छ । उनी भन्छन्, ‘रक्त अभावले हामी कुनै नेपालीको ज्यान जान दिदैनौं । यो हाम्रो संस्थाको संकल्प हो । हामी कास्की जिल्लालाई मात्र नभई सिंगो नेपाललाई नै रक्त अभावमुक्त घोषणा गराउने संकल्पका साथ अघि बढ्दै छौं ।’

वि.सं. २०५५ सालमा पहिलो पटक रक्तदान गरेका उनले आफ्ना स्व. दाई विरजुमान शाक्यलाई प्रेरणाका स्रोत ठान्छन् । अहिले भने उनी स्वयं सयौंका प्रेरणाका स्रोत बनेका छन् ।
समय २०५६ सालको थियो । गण्डकी अस्पतालमा एक जना सुत्केरी महिलालाई तुरुन्त ए पोजेटिभ रगत चाहिएको थियो । अहिलेको जस्तो धेरै रक्तदाताहरु पनि थिएनन् त्यतिबेला ।

उनले ब्लड बैंकमा गएर जीवनको दोस्रो पटन रक्तदान गरे ।उनको अप्रेशन सफल भयो । केही दिनपछि अस्पतालबाट डिस्चार्ज हुँदा उनीहरुले जितेन्द्रलाई फोन गरेर धन्यवाद दिए । ‘अस्पतालबाट बिदा हुँदाआमा र बच्चाको हँसिलो मुहारले मलाई छुट्टै आत्मसन्तुष्टि मिलेको थियो । त्यसै दिनदेखि रक्तदान गर्न अझै उर्जा थपियो,’ उनले २१ वर्ष पुरानो दिन सम्झिए ।

आफ्नो रगतले अरुको ज्यान बचेको थाहा पाउँदा उनको खुसीको सीमा नै रहेन । त्यसपछि रक्तदान र रक्त संकलनमा रमाउन थाले । २२ वर्ष भइसक्यो बिना तलब र भत्ता निस्वार्थ सेवामा सक्रिय छन् । रक्तदाता खोज्न मासिक २/४ हजार फोनमै खर्च गर्छन् ।

रक्तदातालाई ब्लड बैंक आफ्नै बाइकमा पु¥याउँछन् । ६९ औं पटक रक्तदान गरिसकेका शाक्यकास्की जिल्लाकै सबैभन्दाबढी रक्तदान गर्ने व्यक्तिका रुपमा चिनिन्छन् । उनको योगदानलाई कदर गर्दै नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रेडियो अन्नपूर्ण, राइजिङ स्टार युथ क्लबलगायत विभिन्न सघं सस्थाले सम्मान गरेका छन् । यसले उनलाई थप उर्जा मिलेको छ ।

हरेक घर नै ब्लड बैंक ठान्छन् उनी । उदाहरणका लागि उनको आफ्नै घर । उनीसँगै श्रीमती, छोरा, छोरी, दाइ, भाउजु अनि भजित सबै ३/३ महिनामा नियमित रक्तदान गर्छन् । गलत बुझाइका कारण देशमा बेलाबखत रगत अभाव हुने गरेको उनको बुझाइ छ ।

भन्छन्, ‘१८ वर्ष पुगेका सबै रगतको भण्डार हौं । अनि कसरी हुन्छ रक्त अभाव ? समस्या व्यवस्थापनको पाटो हो । अझै धेरै मानिसहरुमा रक्तदान गर्दा कमजोर भइन्छ, विभिन्न रोगहरु लाग्छन् भन्ने गलत मानसिकता छ ।’

गलत मानसिकतालाई चिर्न स्कुल, कलेजका विद्यार्थीमाझ विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको उनले सुनाए । रक्तदाताहरुको तथ्यांक राख्ने फरक शैली अप्नाउँछन् उनी । हरेक रक्तदाताको नाम, मोबाइल नम्बर, रक्तदान गरेको मिति उनी मोबाइलमा सेभ गरेर राख्छन् । रक्तदाताहरुको लिस्ट पनि उनको मोबाइलमै सुरक्षित रहन्छ ।

‘कम्तिमा आफ्ना साथीभाइ, आफन्तको नम्बर यही अनुसार सेभ गर्न सक्छौं । केही नभए कम्तीमा आफ्नो ब्लड ग्रुपको ८/१० जना मानिसहरुको तथ्यांक राख्न जरुरी हुन्छ,’ उनी भन्छन्, ‘यसो गर्दा हामी आफैँले आफ्नो रगत व्यवस्था सक्छौं ।सबैले यसो गर्न सकियो भने त रगत अभाव हुने कुरै भएन ।’

रक्तदान सम्बन्धि सन्देश बोकेर नेपालका कुनाकन्दरा साइकलमै पुग्छन् । नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी यही सन्देश बोकेर साइकलमै पुगे । बन्दीपुर, घलेगाउँ, मिलिनियम पदमार्ग, बारपाक, सिन्धुली, लुम्बिनी साइकलमै घुमे ।

हरेक नयाँ ठाउँको जनजीवन, भाषा, आत्मीय स्वागत अनि आतिथ्यताले उनलाई लोभ्याउँछ । नेपाल बुझ्न साइकल नै गतिलो माध्यम भएको उनी बताउँछन् । पाँच वर्षअघि धरान टु सिक्किम, दार्जलिङ पुगेको दिन अझै उनको मानसपटलमा ताजै छन् ।

साइकल सिटी पोखराका पूर्वाध्यक्ष रहेका उनी हरेक शनिवार टोली बनाएर पोखरा वरपरका डाँडाकाँडा पुग्थे । फुर्सदमा अरु जिल्लाहरु समेत टोली लगेरै पुग्थे । साइकलमै ग्रामीण पर्यटन प्रवद्धनमा पनि उनी जुटे ।

साइकल र रगतको सम्बन्धलाई जोड्दै उनले भने, ‘एउटा मानिस रक्तदान गर्नका लागि पहिलास्वस्थ हुनु जरुरी छ । व्यायम र स्वस्थ रहन साइकल जस्तो राम्रो माध्यम अरु कुनै हुनै सक्दैन । त्यसैले म साइकल चढ्दै रक्तदान सम्बन्धी जनचेतनामा पनि लागें ।’

आम मानिसहरु रक्तदान गरेर कमजोर भइन्छ भन्ने मानसिकतालाई चिर्न उनी हरेक पटकको रक्तदान पश्चात ५० देखि १०० कि.मी साइकल कुदाउँछन् ।२ वर्ष पहिले उनले ब्लड डोनेसन, बाइकिङ र बन्जी एकैदिन गरेका थिए ।

‘काठमाडौैं ब्लड बैंकमा मैले त्यस दिन बिहानै रक्तदान गरेर ५ घण्टामा १०० कि.मी. साइलक चलाएर भोटेकोसी लास्ट रिसोर्ट पुगें । त्यही दिन बन्जी गरें । ब्लड डोनेसन, बाइकिङ र बन्जी एकैदिनमा गरेर मैले फरक रेकर्ड कायम गरें,’ उनी भन्छन्, ‘यसो गर्दा बिरामीले रगत पायो, मैले सन्तुष्टि र स्वास्थ्य।’

सित्तैमा रक्तदाताले दिएको रगत बिरामीले पैसा तिरेर किन्न पर्नु आफंैमा दुखको कुरा भएको उनी बताउँछन् । उपचार खर्च जुटाउन धौधौ हुने बिरामीले हजारौं रुपैया तिरेर रगत किन्नु पर्दा उनको मन मान्दैन । त्यसैले पनि शाक्य रगत निशुल्क उपलब्ध गराउनुपर्ने आवाज उठाइरहेका छन् ।

उनले भने, ‘यस विषयमा आवाज निरन्तर आवाज उठाइरहेका छौं । सरकार र रेडक्रस सोसाइटी बीच समन्वय भएर रगतलाई सित्तैका व्यवस्था गरिनु पर्छ । बरु उल्टै गरिब र निमुखालाई केही रकम सहयोग गर्न सकियो भने सुनमा सुगन्ध हुन्छ ।’

सामान्य कार्यहरु फरक तरिकाले गर्ने शाक्य सामान्य मानिस हुन् । तर उनले देख्ने सपना आम मानिसको भन्दा फरक छ । रक्तदानलाई धर्म र साइकललाई आफ्नो कर्म ठान्छन् शाक्य । साइकल, रक्तदान र स्वास्थ्यका विषयलाई उठान गरेर निरन्तर लागिपरेका शाक्यको एउटै सपना छ, सिंगो नेपाललाई रक्त अभावमुक्त घोषण गर्ने । उनी गर्वका साथ भन्छन्, ‘कसैलाई नेपालको कुनै ठाउँमा रगत चाहियो भने ९८४६०५०१५० मा कल गर्नुस, रगतको व्यवस्था गर्ने जिम्मा मेरो ।’

तपाईको प्रतिक्रिया