कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने

समाधान संवाददाता २०७७ जेठ १७ गते १७:०१

समाधान संवाददाता

Advertisement

नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ। शनिबारको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत जानकारी दिए।

‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरेर नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘केन्द्रीय समितिमा सुस्पष्ट प्रस्ताव।’

Advertisement

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको थियो। संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो।

Advertisement

तपाईको प्रतिक्रिया