चलचित्र पत्रकारले बाँडे राहत
समाधान संवाददाता
पोखरा, १७ जेठ
चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरा आसपासका १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
पोखरा नेपाल–युके फाउन्डेसन’ को आर्थिक सहयोगमा करिब ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको संस्थाले जनाएको छ ।
लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नपाएका मजदुर परिवारलाई हामीले खाद्यान्न वितरण गरेको चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाका अध्यक्ष अरुण गिरीले बताए ।
चलचित्र पत्रकार संघ र ‘पोखरा नेपाल–युके फाउन्डेसन’ लाई एक ठाउँमा ल्याउने काम फिल्मकर्मी प्रकाश गुरुङ ‘काश’ले गरेका थिए । उनी फिल्मको सिनेम्याटोग्राफर पनि हुन् ।
‘म आफै पनि फिल्मकर्मी भएकोले चलचित्र पत्रकार संघसँगको बोन्डिङ राम्रो थियो । र, यूकेबाट मेरा नेपाली साथीहरुले म मार्फत नै रकम संघका लागि पठाएका हुन्,’ प्रकाश गुरुङ ‘काश’ले भने, ‘चलचित्र पत्रकार संघसँग जोडिएर यो पुण्य काममा योगदान दिन पाउँदा म निकै खुशी छु ।’
राहत वितरणका क्रममा स्थानीयस्तरमा गायक गौतम गुरुङ र गुरुङ फिल्मकी नायिका उर्मिला गुरुङले पनि सहजीकरण गरेका थिए ।
‘पोखरा नेपाल–युके फाउन्डेसन’ युकेमा काम गर्ने नेपालीहरुको संस्था हो । विपद्मा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यसहित स्थापित संस्थाले त्यहाँका करिब २ सय ४० जना नेपालीहरुसँग आर्थिक सहयोग संकलन गरेको थियो । संस्थामार्फत जगत गुरुङ र भीम महेन्द्र गुरुङले आर्थिक संकलनको नेतृत्व गरेका थिए ।
‘पोखरा नेपाल–यूके फाउन्डेशन’ले पोखरा र आसपासका क्षेत्रमा विपद्मा रहेका थुप्रै परिवारलाई सहयोग गरिसकेको छ । यसअगाडि संस्थाले जक्सन ग्रुप प्रालि, पोखरा सांगीतिक कलाकार संघ र मेरो साथी टिभीमार्फत सहयोग गरिसकेको छ । हालसम्म संस्थाले कुल १३ लाख रुपैयाँ बराबरको सहयोग गरिसकेको छ । जसबाट ४ सय ५० परिवारका करिब २ हजार १ सय जनाले राहत प्राप्त गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया