मुस्ताङका ५ तहलाई साढे ८९ करोड

समाधान संवाददाता २०७७ जेठ १८ गते ६:२८

एसके थकाली
जोमसोम

Advertisement


संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि हिमाली जिल्ला मुस्ताङलाई ८९ करोड ४० लाख बजेट विनियोजन गरेको छ ।
बुधबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा मुस्ताङका लागि ८९ करोड ४० लाख विनियोजन भएको हो ।

५ स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान वापत उक्त रकम प्राप्त गरेको हो ।

मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकाले सबैभन्दा बढी २१ करोड ९० लाख प्राप्त गर्ने भएको छ । चालु वर्षको बजेटमा पनि यस पालिकालाई सोही अनुपातमा बजेट विनियोजन गरिएको थियो । सरकारले घरपझोङलाई समानीकरण अनुदान ६ करोड ७१ लाख, सशर्त अनुदान १० करोड ६९ लाख र विशेष अनुदान ४ करोड ५० लाख पाएको छ ।

मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २० करोड ७७ लाख बजेट प्राप्त गरेको छ । जसअन्र्तगत समानीकरण अनुदान ६ करोड ७१ लाख, सशर्त अनुदान १२ करोड ५६ लाख र विशेष अनुदान १ करोड ५० लाख पाएको छ ।

Advertisement

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई १३ करोड ७९ लाख बजेट विनियोजन भएको छ । लोघेकरलाई समानीकरण अनुदान ६ करोड ६० लाख, सशर्त अनुदान ५ करोड ६९ लाख र विशेष अनुदान १ करोड ५० लाख छुट्याइएको हो ।

चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले १६ करोड ४ लाख बजेट पाएको छ । लोमान्थाङलाई समानीकरण अनुदान ६ करोड ६० लाख, सशर्त अनुदान ८ करोड र समपुरक अनुदान १ करोड ४४ लाख बजेट विनियोजन भएको हो ।
मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि १६ करोड ५० लाख पाएको छ । जसमा समानीकरण अनुदान ६ करोड ७१ लाख, सशर्त अनुदान ८ करोड ७९ लाख र विशेष अनुदान एक करोड विनियोजन भएको छ ।

सरकारले मुस्ताङका ५ वटै पालिकामध्ये सबेभन्दा बढी घरपझोङ र सबैभन्दा कम लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई बजेट छुट्याएको छ । लोघेकरको बजेट घरपझोङ थासाङको भन्दा ७ देखि ८ करोडसम्म कम छ । लोमान्थाङ र बारागुङ मुक्तिक्षेत्रले लोघेकरको भन्दा ३ करोड बढी पाएका छन् ।

वित्तीय समानीकरण समानजस्तै भए पनि सशर्त अनुदान भने घरपझोङभन्दा थासाङको २ करोड बढी छ । थासाङ र लोघेकरले समान १ करोड ५० लाख बिशेष अनुदान पाएका छन् भने घरपझोङले ४ करोड ५० लाख पाएको छ । लोमान्थाङको भागमा आगामी आर्थिक वर्षका लागि विशेष अनुदान राखिएको छैन । यस्तै, जिल्लाको लोमान्थाङले मात्रै समपुरक अनुदान पाएको छ । अन्य पालिकाले समपुरक अनुदान पाउन सकेनन् ।

तपाईको प्रतिक्रिया