म्याग्दीमा देखियो डेङ्गी, १ बालिकामा संक्रमण

समाधान संवाददाता २०७७ जेठ १८ गते ११:५९

समाधान संवाददाता

म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गी सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ।

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गी सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गी सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौजना निको भएर घर फर्किएका छन् ।

Advertisement

बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गी पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए ।

उनका अनुसार बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएको छ । सङ्क्रमित बिरामीलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको सूचना अधिकारी सुवेदीले बताए ।

Advertisement

लामखुट्टेको टोकाइबाट डेङ्गी सङ्क्रमण हुने भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। अमृत अधिकारीले फोहर र पानी जम्ने ठाउँ सफा गर्न सुझाव दिए ।

वर्षातको समय सुरु भएसँगै गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ, टायर र गमलालगायतको विशेष सफाइमा ध्यान दिनुपर्ने उनको भनाई छ । रासस

तपाईको प्रतिक्रिया