गल्याङका संक्रमित भारतबाट ५४ जनाको समूहमा आएका थिए

समाधान संवाददाता २०७७ जेठ १८ गते १३:२१

अर्जुन काफ्ले, स्याङ्जा

स्याङजाको गल्याङमा आज बिहान भेटिएका कोरोना संक्रमित भारतबाट जेठ ११ गते ५४ जनाको समूहमा आएको खुलेको छ । सो समूहमा गल्याङका ८ जना आएकोमा २७ र ४० बर्षका २ पुरुषमा कोरोना पोजेटिभ आएको हो ।

दुवै जना भारतबाट आएपछि गल्याङको मालुङ्गा क्वारेटाइनमा बसेका थिए । दुवैजनालाई जिल्ला अस्पताल स्याङजाको आइसोलेसनमा उपचार शुरु गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

जेठ १० गते भेटिएका संक्रमितसँगै आएका ४ र ११ गते आएकासहित ७५ जनाको स्वाब परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानाकारी दिए ।

३ सय ४१ जनाको स्वाब लिइएकोमा पिसिआर विधिबाट परीक्षण गर्दा अहिलेसम्म स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ । आज भेटिएकाबाहेक अरु ५ जना संक्रमित वालिङ नगरपालिकाका हुन् । वालिङका ५ मध्ये १ महिलाको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । संकलित स्वाबमध्ये ४५ जनाको नतिजा आउन बाँकी छ ।

Advertisement

जिल्लामा १ हजार १ सय ७० जनाको आरडिटि परीक्षण गरिएकोमा ४ जनाको पोजेटिभ देखिएको र ३ जनाको नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख शर्माले बताए । उनकाअनुसार आरडिटि पोजेटिभ आएको एक जनाको नतिजा पिसिआर विधिबाट आउन बाँकी छ ।

६ जिल्लाका २४ जनामा कोरोना

गण्डकी प्रदेशमा अहिलेसम्म ६ जिल्लाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङका गरी अहिलेसम्म २४ जनामा कोरोना पुष्ट भएको हो ।

स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार बागलुङमा सबैभन्दा धेरै ८ जनामा कोरोना देखिएको छ । तीमध्ये २ जना घर फर्किसकेका छन् । त्यसबाहेक नवलपुरका ६, लमजुङका १, म्याग्दीका १ र तनहुँका १ जनामा कोरोना पुष्टि भएको छ ।

तनहुँमा भने आज पहिलोपटक एक जनामा कोरोना देखिएको हो । तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज बिहान कोरोना पुष्टि भएको हे । अहिलेसम्म भेटिएका संक्रमितमध्ये नवलपुरका ६ जनाको भरतपुर अस्पताल, लमजुङका १ जनाको जनस्वास्थ्य प्रयोगशाला टेकु र बाँकी १७ जनाको पोखरास्थित कोरोना परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।

तपाईको प्रतिक्रिया