स्याङ्जा जिल्ला अस्पताललाई सय शय्याकाे बनाउन माग

समाधान संवाददाता २०७७ जेठ १८ गते १४:४३

हिमलाल पराजुली

स्याङ्जा, १८ जेठ

Advertisement

कोरोना संक्रमण देखिएका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गरिरहेको जिल्ला अस्पताल स्याङ्जालाई स्तरोन्नति गर्नुपर्ने माग बढ्दै गएको छ ।

सदरमुकाममा रहेको सो अस्पतालले बालबालिका र प्रसूति सेवाका लागि गण्डकी प्रदेशभित्र पर्ने अन्य जिल्ला अस्पतालले भन्दा राम्रो सेवा दिदै आएको जनाइएको छ ।

पछिल्लो समयमा अस्पताललाई १०० श्ययाको बनाउनुपर्ने जिल्लावासीको माग छ । पुतलीबजार नगरपालिका–३ का अनन्तकुमार श्रेष्ठले जिल्ला अस्पताल स्याङ्जालाई स्तरोन्नति गरेर कम्तीमा पनि सय शय्याकाे बनाउनुपर्ने बताए । उनले भने, “सरकारले जनताको स्वास्थ्यमा ध्यान दिनुपर्छ, यो सरकारको दायित्व भएकाले स्याङ्जावासीका लागि मात्रै नभएर सिमाना जोडिएका छिमेकी जिल्ला पर्वत र तनहुँका समेत केही स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि सिफारिस गरी पठाउनुपर्ने अवस्थामा यो अस्पताल पायक पर्ने भएकाले स्तरोन्नति अति आवश्यक छ ।”

पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सीमाकुमारी क्षेत्रीले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिरहेको प्रदेश र सङ्घीय सरकारसँग जिल्ला अस्पतालको स्तरोन्नतिका लागि माग गरेको बताइन् । उनले भनिन्, “हामीले स्थानीय तहबाट गर्नुपर्ने जति सहयोग गरेका छौँ, अस्पताललाई थप व्यवस्थित गर्न अब प्रदेश र सङ्घीय सरकारले ढिला गर्नु हुँदैन । यसका लागि सबैको सहयोग र खबरदारी आवश्यक छ ।”

Advertisement

विसं २०५७ मा स्थापना गरिएको सो जिल्ला अस्पतालमा १५ श्ययाको स्थायी दरबन्दी भए पनि मन्त्रालयको निर्देशनमा १० श्यया थप गरी हाल २५ श्ययाको रहेको छ । अस्पतालकी मेडिकल अधिकृत अञ्जु अर्यालले यही अवस्थामा अस्पतालको संरचनाले धान्न नसक्ने भएकाले स्तरोन्नति गर्नुपर्ने अति आवश्क रहेको बताइन् ।

उनले भनिन् , “अहिलेको जटिल अवस्थामा पनि अस्पतालले जिल्ला अस्पतालले दिनुपर्ने सबै सेवा दिइरहेको र चिकित्सकका साथै सबै स्वास्थ्यकर्मी चौबीसै घण्टा काममा खटिएका छौँ, दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै जाने अवस्था आएकाले अस्पतालको स्तरोन्नतिका साथै आवश्यक उपकरणको व्यवस्था गर्नुपर्ने देखिन्छ ।”

कोरोना विशेष स्रोत व्यक्तिसमेत रहेकाे उनले कोरोना सङ्क्रमितका लागि १० शय्याकाे आइसोलेशन वार्ड रहेको र त्यसमा अहिले ४ जना सङ्क्रमित बिरामीको उपचार भइरहेको र बिरामी सामान्य अवस्थामा रहेको जानकारी दिइन् ।

अस्पतालमा दुईजना स्थायी चिकित्सक र एकजना कन्सल्टेन्ट, करारका ६ जना चिकित्सकसहित ५६ जना कर्मचारी छन् ।

हाल २५ श्ययाको मात्रै रहेको जिल्ला अस्पताल स्तरोन्नति भएमा स्याङ्जा जिल्लावासीलाई मात्रै नभएर पर्वत र तनहुँका केही स्थानीयवासीलाई समेत उपचारमा सहज हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया