डेढ करोड भत्ताबारे मौन रहँदै धौलागिरीले भन्यो – ‘स्वास्थ्यकर्मीको मनोबल नघटाऔं’

समाधान संवाददाता २०७७ जेठ १८ गते १९:०३

अनुप पौडेल, पोखरा

Advertisement

धौलागिरी अञ्चल अस्पतालले विभिन्न सञ्चारमाध्यममा कोरोना संक्रमितको उपचारमा चिकित्सकले फोनबाट मात्र परामर्श दिने गरेको भन्ने आशयका समाचारमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

संक्रमित बसेको आइसोलेसन वार्डमा नै गएर चिकित्सकले परामर्श दिएको अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवं अस्पतालका कर्मचारीको मनोबल घटाउने खालका सामग्री प्रसारित नगर्न अस्पतालले आग्रह गरेको छ ।

सम्बन्धित समाचार –संक्रमितको उपचारमा नखटिनेलाई पनि भत्ता दाबी, नामसहित

अस्पतालले आफ्नो धारणा समावेश गरेर मात्र समाचार बनाउन आग्रह गरेको छ । धौलागिरी अस्पतालले २ संक्रमितको उपचारमा खटिएको दाबी गर्दै भत्ताका लागि १ सय ६९ जनाको ‘जम्बो लिस्ट’ सामाजिक विकास मन्त्रालयमा पठाएको छ ।

Advertisement

२ संक्रमितको उपचारमा अस्पतालका सबै कर्मचारी खटिएको दाबी गर्दै अस्पतालले नाम पठाएपछि यो विषयले निकै चर्चा पाएको छ । अस्पतालले असारसम्मको गरेर १ करोड ५३ लाख भत्ता मागे पनि सामाजिक विकास मन्त्री नरदेवी पुनले अस्पतालको मागअनुसार भत्ता नदिने स्पष्ट पारेकी छन् । शनिबार समाधानसँग कुरा गर्दै कोरोना कोष सञ्चालक समिति संयोजक रहेकी मन्त्री पुनले संक्रमितको उपचारमा खटिएको समय अर्थात् २८ दिनको मात्र भत्ता दिइने बताइन्।

सम्बन्धित समाचार –धौलागिरीका कर्मचारीले संक्रमितको उपचारमा नखटिँदाको भत्ता पाउँदैनन् : मन्त्री पुन

सरकारले उपचारमा संलग्नहरुको हकमा कार्यान्वयनमा ल्याएको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ ले उपचारमा खटिएकालाई मात्र भत्ता दिनुपर्ने उल्लेख गरेको छ । तर २ कर्मचारीवाहेक अरु सबै कोरोना संक्रमितको उपचारमा खटिएको दाबी गर्दै अस्पतालले सामाजिक विकास मन्त्रालयलाई भत्ता उपलब्ध गराइदिन भन्दै विवरण पठाएको हो ।

सम्बन्धित समाचार – २ बिरामीको उपचारमा प्रोत्साहन भत्ता डेढ करोड !

अस्पतालले चैतदेखि असारसम्मको भत्ता दिनुपर्ने भन्दै डेढ करोड रकम दाबी गरेको छ । अस्पतालले प्रत्येक महिनाको ३८ लाख २९ हजार ५ सय ३९ रुपैयाँ लाग्ने दाबी गर्दै भत्ता रकम उपलब्ध गराइदिन भनेको छ ।

१ सय १३ जना कर्मचारीले सत प्रतिशत, २५ जनाले ७५ प्रतिशत र ३१ जनाले ५० प्रतिशत जोखिम भत्ता पाउनुपर्ने विवरण अस्पतालले मन्त्रालयलाई पठाएको छ । त्यसमा स्त्री रोग विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, खरिदार, अधिकृतलगायतको पनि नाम छ । उनीहरु संक्रमितको उपचारमा संलग्न नभए पनि अस्पताल पुगेकै भरमा भत्ता पाउने गरी नाम पठाइएको हो ।

सम्बन्धित समाचार – डेढ करोड भत्ता मागेपछि अर्थमन्त्रीले भने – सुन्दै असहज लाग्यो, भिडियोसहित

कोरोना कोष सञ्चालन गर्न सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा १० सदस्यीय समिति बनाइएको छ । सो समितिमा अन्य मन्त्रालयका मन्त्री, सचिव र सामाजिक विकास मन्त्रालयअन्तर्गतको महाशाखाका कर्मचारी पनि सामेल छन् ।

बागलुङका १९ र ६५ वर्षीया २ जना संक्रमितलाई पोखरा ल्याएर उपचार गर्ने चर्चा चलिरहँदा धौलागिरी अस्पतालले उनीहरुको त्यहीँ उपचार गरेर सकुशल घर फर्काएको थियो । कोरोना पुष्टि भएपछि बागलुङ नगरपालिका–४ कुँडुलेकी अंशु सापकोटा चैत १५ गते अस्पताल भर्ना भएर २८ दिनपछि घर फर्किएकी थिइन् ।

जिल्लाकी दोस्रो संक्रमित बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल चैत २० गते अस्पताल भर्ना भएर २२ दिनमा निको भएकी थिइन् । १२ बेडको आइसोलेसन तयार पारेको धौलागिरी अञ्चल अस्पतालले ६ जना संक्रमितको उपचार गरिरहेको छ ।

हेर्नुहोस् अस्पतालले जारी गरेको विज्ञप्ती

तपाईको प्रतिक्रिया