भत्तामा र्‍याल

समाधान संवाददाता २०७७ जेठ १९ गते १०:०१

सम्पादकीय

Advertisement

कोरोनाको महाहारी नेपालमा देखा पर्नपर्न लाग्दा धेरै संस्थाका स्वास्थ्यकर्मी भने आफ्नो दायित्वमा डट्ने प्रतिबद्धतामा उत्रिन सकेनन् । कोरोना भाइरस रोग कोभिड १९ को उपचारमा प्रत्यक्ष संलग्नहरुलाई प्रोत्साहन गर्न सरकारले भत्ता दिने घोषणा गर्‍यो ।

चिकित्सक र स्वास्थ्यकर्मीहरु सुरक्षा उपकरण र सामग्री अभाव भएको भन्दै सेवामा उत्रन हिच्किचाइरहेको अवस्थामा सरकारले प्रोत्साहन भत्ताको घोषणा गर्नु स्वागतयोग्य नै कुरा थियो । एकातिर सुरक्षा सामग्रीको पूर्ति गर्नुपर्ने दायित्वमा सरकार थियो, अर्काेरित स्वास्थ्य क्षेत्रलाई प्रेरित गर्नुपर्ने कर्तव्य ।

त्यसैको परिणाम सुरक्षा सामग्रीको जोहो पनि बुताले भ्याएसम्म सरकारले ग¥यो । तर एउटा मान्छे बिरामी हुँदा पनि त्यसलाई अस्पताल ल्याएर राख्न यहाँका अस्पताल र चिकित्सकहरु तयार देखिएका होइनन्, राजनीतिक नेतृत्वको दबाबपछि मात्रै बाध्य भए । धौलागिरी अस्पताल बागलुङले चैतमा त्यहाँ कोरोना भाइरस संक्रमितको उपचार गर्न आनाकानी गरेकै थियो । प्रदेश सरकारको दबाबपछि भने ऊ बाध्य भएर बिरामी अंश सापकोटालाई अस्पताल भर्ना लियो ।

तिनै अंशु सापकोटाले खासमा डक्टरको नाकमुख देखिनन् । सुरक्षा सामग्री पिपिई लगाएर बिरामी भेटेकाले सापकोटाले नाकमुख नदेखेकी होइनन् । साँच्चीकै प्रत्यक्ष डक्टरको प्रत्यक्ष निगरानी रहेन । यो कुरा उनी अस्पताल भर्ना भएको १२ औं दिनमा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगको फोनवार्तामा बताएकी छिन् ।

Advertisement

मुख्यमन्त्रीले उनीसँग गरेको कुराकानीको भिडियो सार्वजनिक रुपमै उपलब्ध छ । अर्की बिरामी मनकुमारी पौडेलले पनि यसो कताकति नर्सहरु आएर सोधपुछ गरेकोसम्म बताउँछिन् । उनी पनि डक्टरको खास उपचार पाएकी होइनन् । त्यसो त कोरोना भाइरस कोभिड १९ को चिकित्सकीय उपचार नै छैन ।

तथापी डक्टरको उपस्थिति र मनोपरामर्श नै बिरामीका लागि काफी ओखती हुन्छ । यो चिकित्सकीय क्षेत्रमा पनि सर्वमान्य सिद्धान्त हो । तर त्यति हिम्मत र सेवाभाव पनि नदेखाएको त्यही अस्पतालले आफ्ना भएभरका सबै कर्मचारीलाई प्रोत्साहन भत्ता माग गरेर जुन हर्कत प्रदर्शन गरेको छ, यसबाट स्वास्थ्य क्षेत्र सेवा गर्नुपर्दा पछि हट्ने र मेवा लिनुपर्दा अघि सर्ने प्रवृत्तिमा उद्यत छ भन्ने प्रष्ट गरेको छ ।

कोरोना भाइरसका रोगीको उपचार गर्नै ओखतीमूलो आविष्कार भएकै छैन । सकेसम्म डक्टरको निगरानीमा सामान्य अरु औषधोपचारको अभ्यास विश्वभर भइरहेको छ । जस्तो कि फोक्सोमा समस्या भए, सास फेर्न सजिलो बनाउने उपाय खोज्ने, अरु जे जे समस्या आउँछ, त्यसैत्यसैको उपचार र औषधीमुलो गर्ने । तर बागलुङका २ संक्रमितको त्यस्तो खास उपचार गर्नुपर्ने अवस्था उनीहरुमा थिएन ।

न बिरामीलाई कुनै सकस न उपचार गर्नुपर्नेलाई । तर प्रत्यक्ष उपचारमा संलग्न नभए पनि सबै चिकित्सक, जस्तो कि स्त्रीरोग विशेषज्ञ, हाडजोर्र्नीदेखि फिजियोथेरापिस्टसम्म हुँदै भान्छे र मालीसम्मको नाम भत्ता मागको पत्रमा उल्लेख गरेर अस्पतालले पठायो यो जहाँ जो छौं सक्नेले राष्ट्रको ढुकुटी दोहन गर्नुपर्छ भन्ने मानसिकताबाहेक केही होइन । यस्तो प्रवृत्ति निन्दनीय छ ।

स्वास्थ्यकर्मी र चिकित्साकर्मी आत्मैदेखि सेवामा लाग्नु उनीहरुको कर्तव्य हो, जुनसुकै बाहनामा पनि उनीहरु कर्तव्यपथबाट पछि फर्कनु हुँदैन, प्रोत्साहन त राज्यले गर्छ, गर्नुपर्छ तर खट्टे बाँडेझै भत्ता बाँडिनु हुँदैन ।

सम्बन्धित समाचार –

संक्रमितको उपचारमा नखटिनेलाई पनि भत्ता दाबी, नामसहित

२ बिरामीको उपचारमा प्रोत्साहन भत्ता डेढ करोड !

धौलागिरीका कर्मचारीले संक्रमितको उपचारमा नखटिँदाको भत्ता पाउँदैनन् : मन्त्री पुन

डेढ करोड भत्ताबारे मौन रहँदै धौलागिरीले भन्यो – ‘स्वास्थ्यकर्मीको मनोबल नघटाऔं’

डेढ करोड भत्ता मागेपछि अर्थमन्त्रीले भने – सुन्दै असहज लाग्यो, भिडियोसहित

तपाईको प्रतिक्रिया