डा. विनोद विन्दु ! अफवाह फैलाएवापत तपाईंलाई किन पक्राउ नगर्ने ?

समाधान संवाददाता २०७७ जेठ १९ गते १४:५२

रामकृष्ण ज्ञवाली

Advertisement

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता एवं गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माको नाममा आइतबार एउटा प्रेस विज्ञप्ति आयो ।

गण्डकी प्रदेश सरकारको लेटर प्याडमा जारी गरिएको उक्त विज्ञप्तिमा लेखिएको थियो–म्याग्दीका संक्रमितसँगै पोखरा आएका २ जना सम्पर्कविहीन छन् । उनीसँगै लमजुङका ३ जना र गोरखाका १ पनि सम्पर्कविहीन छन् । कृपया सम्पर्कमा आउनु होला ।’

विज्ञप्तिले गम्भीर आग्रह गरेको थियो । एक जना व्यक्तिका कारण कोरोना भाइरस समुदायमा फैलन सक्छ । म्याग्दीका संक्रमितसँगै आएकाले उनीहरु पनि संक्रमित बन्न सक्छन भन्ने त्रास स्वभाविक हो ।

त्यसैले आम मान्छेलाई सचेत बनाउन र सो बसमा आएका व्यक्तिहरुलाई खोजी गर्ने कार्यमा सक्दो सहयोग पुर्‍याउनु आम सञ्चारको दायित्व हो । त्यसैले समाधानन्यूजमा मुख्य समाचार बनाइहाल्यौं– म्याग्दीका संक्रमितसँगै आएका पोखराका २ जना सम्पर्कविहीन

Advertisement

यस्तो सम्वेदनशील विषयमा प्रदेश सरकारकै स्वास्थ्य क्षेत्रको जिम्मेवारी सम्हालेको मुखिया यो हदसम्म गैर जिम्मेवार हुन्छन् भन्ने कसले सोच्नसक्छ ?

साँझ एक जना सरकारी अधिकारीको फोन आयो । उनले भने– तपाईंहरुले दिनभर अनावश्यक तनाब दिनु भयो यार । कोरोना संक्रमितसँगै आएका २ जना सम्पर्कविहीन भनेर झुठो समाचार लेखदिने ? म झसँग भए ।

सम्बन्धित समाचार –म्याग्दीका संक्रमितसँगै आएका पोखराका २ जना सम्पर्कविहीन

त्यति बेलासम्म झण्डै एक हजार ६ सय भन्दा धेरै पटक त्यो समाचार सामाजिक सञ्जालमा सेयर भइसकेको थियो । पोखरामा समाचार भाइरल भइसकेको थियो । हाम्रो सञ्चारमाध्यमले अक्षम्य गल्ती ग¥यो कि भन्ने लाग्यो । र फेरि गण्डकी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले पठाएको विज्ञप्ति हेरें ।

विज्ञप्तिमा लेटर हेड गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयकै छ । विज्ञप्ति जारी गर्नेको नाम प्रदेशका स्वास्थ निर्देशनालयका प्रमुख डा.विनोदविन्दु शर्मा लेखिएको छ ।

उनको हस्ताक्षर पनि नक्कली होइन । अनि मैले ती सरकारी अधिकारीलाई फोन मै भने–‘गण्डकी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयको वक्तव्यलाई पत्याउँ कि तपाईंको फोन संवादलाई ? एकचोटी समन्वय गर्नुस, विज्ञप्ति हेर्नुस ।’

हो हाम्रो समाचारको स्रोत अथेन्टिक थियो, विश्वास गर्नै पर्ने थियो । त्यसैले समाचार बन्यो, बनायौं । तर ती सरकारी अधिकारीको फोनले झस्क्यायो र थप बुझ्न थाल्यौं । पोखरा महानगर, जिल्ला प्रशासन र जिल्ला प्रहरी लगायतका जिम्मेवार अधिकारीलाई सम्पर्क ग¥यौं ।

उनीहरु सबैलाई दिनभर तनाब भएको रहेछ । ती मान्छे खोज्न खटिएछन् । अन्तत, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सम्पर्कविहीन भनेका व्यक्ति त पोखरा महानगर कै क्वारेन्टाइनमा बसेका रहेछन् ।

स्रोत अथेन्टिक भएर के गर्नु ? समाचार झुटो परेछ, हतारहतार राति ८ बजेपछि अर्को समाचार पोस्ट गर्यौ‌ं– म्याग्दीका संक्रमितसँगै आएका ४ जना पोखरा महानगरको क्वारेन्टिनमा

सम्बन्धित समाचार – म्याग्दीका संक्रमितसँगै आएका ४ जना महानगरकाे क्वारेन्टाइनमा

यस्तो सम्वेदनशील विषयमा प्रदेश सरकारकै स्वास्थ्य क्षेत्रको जिम्मेवारी सम्हालेको मुखिया यो हदसम्म गैर जिम्मेवार हुन्छन् भन्ने कसले सोच्नसक्छ ? भारतको सिमामा अलपत्र परेका मानिसहरु देश भित्र र उनीहरुको घर घरमा पुर्याउने कामको नेतृत्व सरकारले नै गरेको हो ।

उनीहरुलाई ल्याउने बस सरकारले खोजेको हो । कहाँ कहाँ पुर्याउने भन्ने जिम्मा पनि सरकारले नै लिएको हो । भारतबाट आउने सबैलाई क्वारेन्टिनमा राख्ने जिम्मेबारी स्थानीय सरकारलाई दिइएको छ । यो सबै बारेमा डा. विनोदविन्दु जानकार हुनुपर्ने हो कि होइन ? वक्तब्य जारी गर्नु पूर्व उनले सरकारी निकायबीच समन्वय गर्नुपर्ने हो कि होइन ?

यहाँ संघीय सरकारको प्रतिनिधि जिल्ला प्रशासन कायालय र जिल्ला प्रहरी कार्यालय छन् । स्थानीय सरकारको प्रमुख सहितका सबै जनप्रतिनिधि र कर्मचारी छन । प्रदेश सरकारका मुख्य मन्त्री, मन्त्री र कर्मचारी छन् । ती सबैलाई चक्मा दिँदै डा.बिनोद बिन्दुले ब्रेकिङ न्यूज दिए । आतंक फैलाए, संक्रमितसंगै आएकाहरु सम्पर्कविहीन भनेर ।

अब दोष मिडियालाई दिन खोजिँदैछ । हो हामी माध्यम बन्यौं । हाम्रै कारणले धेरै मानिसले थाहा पाउनु भयो । यसले हाम्रा आम पाठकलाई आतंकित पनि बनायो । ठूलो जिम्मेवारी सम्हालेका एक जना सरकारी अधिकारीको गम्भीर लापरवाहीका कारण हामीले हाम्रा पाठकलाई झुठो खबर दिन बाध्य भयौं । यसमा क्षमा माग्दछौं, हाम्रा पाठकसँग ।

तर तपाई सरकारी अधिकारीहरुसंग माफी माग्दैनौं । ‘म्याग्दीका संक्रमितसंगै आएका व्यक्तीहरु पोखरा महानगर कै क्वारेन्टिनमा छन, उनीहरु बेपत्ता छैनन्’ भन्ने समाचार पोष्ट भएपछि आइतबार राती ती सरकारी अधिकारीहरुसँग फेरि फोन मै कुराकानी गरेँ ।

उनीहरु सबै डा. विनोद विन्दुसँग क्रुद्ध त थिए, तर मिडियाले समाचार नहालिदिएको भए हुन्थ्यो भन्न छाड्दैन थे । भालुको रिस खन्यु माथि । मैले कुरो बुझें । अनि अलि झन्किदै भनें– ‘हिम्मत छ भने डा. बिनोद विन्दुलाई पक्राउ गर्नुस् । उनैले अफवाह फैलाएका हुन् ।’

ती सरकारी अधिकारीको बोल्ती बन्द भयो । फोन काटे । मेरो मनमा अर्को कौतुहलता लाग्यो । ती डाक्टरले अर्को वक्तव्य जारी गरेर गल्ती सच्याए कि सच्याएनन् !

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको वेबसाइट र आधिकारिक फेसबुक पेज भ्रमण गरें । सम्पर्कविहीन भएको विज्ञप्ति अझै छ । त्यसको खण्डनबारेमा केही लेखिएको छैन । अनि निदाउनुअघि मनमनै प्रश्न गरें– डा. विनोद विन्दु ! अफवाह फैलाए वापत तपाईंलाई किन पक्राउ नगर्ने ?

तपाईको प्रतिक्रिया