उद्धार भयो तर काखमा जुम्ल्याहा खेलाउने रहर पूरा भएन

समाधान संवाददाता २०७७ जेठ १९ गते १८:४८

समाधान संवाददाता

म्याग्दी अन्नपूर्ण गाउँपालिका ५ शिखकी २६ वर्षीया नर्दिता गर्बुजाको गर्भ ७ महिनाको थियो । केही दिनयता पेट पनि दुखिरहेको शिखकै स्वास्थ्य चौकीमा जचाउँदाका क्रममा उनी सुनाउँथिन् ।

स्वास्थ्य चौकीकी इन्चार्ज तथा अनमी डिलकुमारी पाइजाले उनलाई बैलेमा सुविधायुक्त अस्पतालमा जान सुझाइन् । आइतबार उनलाई असह्य नै भयो । त्यसैमाथि रक्तश्राव हुने क्रम पनि रोकिएन । अवस्था जटिल हुने देखिएपछि स्वाथ्य चौकीकी इन्चार्ज पाइजाले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी गराइन् ।

Advertisement

सामाजिक विकास मन्त्रालय अन्तर्गतको निर्देशनालय मार्फत उनको आइतबार बिहानै उद्धार भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुरक्षित उपचारका लागि ल्याइयो ।

आइतबार साँझ साढे ६ बजेतिर उनी सुत्केरी भए पनि जुम्ल्याहा बच्चा जोगिन सकेनन् । उनका श्रीमान् होमबहादुर गर्बुजा पुनले दुबै बच्चा खेर गरेको टेलिफोन सम्पर्कमा सुनाए । ‘उनलाई त ठिकै छ । डाक्टरले पनि आजै (सोमबार) डिस्चार्ज गर्ने कुरा छ,’ उनले भने, ‘बच्चा रहेनन् ।’

Advertisement

गर्भवती भएदेखि नै गर्बुजाले त्यहीँको स्वास्थ्य चौकीमा जाँच गराउँदै आएकी थिइन् । जाँचकै क्रममा केही शंका लागेपछि जिल्ला अस्पताल म्याग्दी बेनीमा भिडिओ एक्सरे गर्न इन्चार्ज पाइजाले सुझाएकी थिइन् । एक्सरेमा जुम्ल्याहा बच्चा देखियो ।

गर्भवती त्यसैमाथि पनि जुम्ल्याहा बच्चा देखिएपछि स्वास्थ्यकर्मीले उनलाई विशेष निगरानीमा राखिरहेका थिए । स्वास्थ्यकर्मीले बेलैमा पोखरा ल्याउन सुझाव नदिएको भए आमालाई पनि जोखिम उत्तिकै थियो । प्रदेश सरकारमार्फत बेलैमा उद्धार हुन सक्यो । तर काखमा बच्चा खेलाउने रहर भने पुरा हुन सकेन् । यसअघि गर्बुजा दम्पतीको ७ वर्षकी पहिलो छोरी छन् ।

गर्बुजाको शरीरमा आवश्यकभन्दा बढी मात्रामा पानी जम्मा भएको थियो । आइतबार नै उनको शरीरबाट १ बाल्टी पानी निकालेर उपचार थालिएको थियो । साढे ६ बजे डेलिभरी गराउँदा दुबै बच्चा जीवित नरहेको उनका श्रीमान् होमबहादुरले सुनाए ।

रक्तश्रावले सिकिस्त गर्भवतीको हेलिकोप्टरमार्फत उद्दार

तपाईको प्रतिक्रिया