पोखराका होटलमा ५ हजार बेडको ‘सेल्फ पेड’ क्वारेन्टाइन बनाउने तयारीमा महानगर

समाधान संवाददाता २०७७ जेठ २१ गते ५:४३

अनुप पौडेल, पोखरा

पोखरा महानगरपालिकाले विदेशबाट फर्किनेलाई राख्न ‘सेल्फ पेड’ होटल क्वारेन्टाइन बनाउने तयारी गरेको छ । महानगरले विदेशबाट फर्किनेलाई राख्न सशुल्क क्वारेन्टाइन सञ्चालनका निम्ति प्रस्ताव पेस गर्न पोखराका होटल प्रतिष्ठानलाई आह्वान गरेको छ ।

न्यूनतम १५ बेड भएका होटललाईजेठ २५ गतेभित्र नियमानुसारका सबै करसहित रेट प्रस्ताव पेस गर्न भनिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । उनले भने, ‘सामान्य मापदण्ड राखेका छौं । उद्धार गरी ल्याइएकालाई प्लेन खुलेपछि नै राख्ने हो । पूर्वतयारी गरौं भनेर होटलको खोजी थालेका हौं ।’

Advertisement

सरकारले २५ हजार जनाको उद्धार गर्दा तीमध्ये पोखरामा५ हजार जनालाई राख्नुपर्ने महानगरको अनुमान छ । युरोप, अस्ट्रेलिया, अमेरिका, जापान, चीन, खाडी मुलुक, सार्क राष्ट्र र नेपालकै विभिन्न ठाउँबाट आउनेलाई उक्त क्वारेन्टाइनमा राखिने महानगरले जनाएको छ ।

क्वारेन्टाइनमा बस्नेहरुले आफै खर्च गर्नुपर्ने भनिए पनि १ जनाले १४ दिन बस्दा कति खर्च गर्नुपर्छ भन्ने यकीन भइनसकेको सूचना अधिकारी पौडेलले बताए । ‘कुन स्तरको होटल कति मूल्य भन्ने व्यवसायीले रेटसहित प्रस्ताव गर्नुहुन्छ । त्यो रेट हामीसँग हुन्छ । आउनेले आफ्नो क्षमता अनुसारको होटल छनोट गर्नुहुन्छ,’ उनले भने ।

Advertisement

सरकारले विभिन्न देशबाट उद्धार गरेर ल्याए पोखराका होटलका ५ हजार कोठा प्रयोगमा आउनेछन् । महानगरले क्वारेन्टाइन बनाउन इच्छुक होटलका लागि विभिन्न ६ बुँदे मापदण्ड तोकेको छ ।

क्वारेन्टाइन बन्नहोटलमा आवसीय बसोबास नभएको, व्यक्तिगत घरसँग नजोडिएको, कम्पाउन्ड भएको र कम्पाउन्डभित्र फिभर क्लिनिक सञ्चालन गर्न मिल्ने हुनुपर्ने छ । आवश्यक कर्मचारी भएको,न्यूनतम १५ बेडको होटलले क्वारेन्टाइनमा बस्नेलाई खाना÷खाजा र पिउने पानीको राम्रो व्यवस्था गर्नुपर्ने मापदण्डमा छ ।

यीबाहेक होटलमा एट्याच बाथरुमसँगै व्यक्तिगत सरसफाइका सामग्रीको राम्रो व्यवस्था हुनुपर्नेछ ।

सुरक्षित हुनुप¥यो, आउनेलाई राख्छौं : होटल संघ

महानगर र केन्द्रबाट पर्यटन विभागले लकडाउन सुरु हुनु पहिल्यै होटललाई क्वारेन्टाइन बनाउने भनेर छलफल गरेको थियो । पछिल्लो समय विदेशबाट नेपाली ल्याउने कुरा चलिरहँदा होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भनेर महानगरले होटल व्यावसायीसँग समन्वय गरेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

‘महानगरले होटललाई क्वारेन्टाइन बनाउने भनेको छ । आवश्यक परेको बेलामा हामीलेसरकारलाई आफ्नो भौतिक पूर्वाधारमात्र दिने हो,’ उनले भने, ‘महानगरले भोलि समाजसँग सिर्जना हुनसक्ने अवस्थाबारे सोच्नुपर्छ ।’ लकडाउन सुरु भएपछि र पर्यटन व्यवसाय धरापमा पर्ने निश्चित भएपछि पोखराका अधिकांश होटलले कर्मचारी कटौती गरेका थिए ।

सामान्य सुविधा भएको होटलमा २ छाक खाना र खाजा खाएर बस्दा दिनको १५ सयदेखि २ हजार रुपैयाँसम्म लाग्ने उनले बताए ।‘कोही म राम्रै खर्च गर्छु भन्ने पनि हुनुहोला । उहाँहरुलाई दैनिक ३५ सय रुपैयाँसम्म पर्ला । सामान्य सुविधा भएकोमा २ छाक खाना र २ पटक खाजा गर्दा १५ सयदेखि २ हजारसम्म पर्न जान्छ,’ उनले भने ।

होटलमा कार्यरत कर्मचारी ल्याउन र स्वास्थ्य सुरक्षाको प्रत्याभूत गर्न महानगरसँग छलफल भएको अध्यक्ष तुलाचनले जानकारी दिए ।उनले भने, ‘आउनेहरुको पिसिआर टेस्ट हुन्छ भन्नुभएको छ । सुरक्षित हुने आश्वस्त भएपछि आउनेहरुलाई राख्छौं । किनभने समाजमा संक्रमण फैलन नदिन हाम्रो पनि दायित्व छ ।’

तुलाचनका अनुसार पोखरामा होटलको संख्या करिब ७ सय छ । ती सबै होटलमा लकडाउन हुनु अघिसम्म १५ हजार कर्मचारी कार्यरत रहेको तथ्यांक थियो । पोखराका होटलमा झन्डै १ खर्ब २५ अर्ब लगानी रहेको अध्यक्ष तुलाचनले जानकारी दिए ।

वडामा बन्दै छन् क्वारेन्टाइन

पोखरा महानगरका ३३ वटै वडामा आवश्यकताअनुसार क्वारेन्टाइन बनाउने पोखरा महानगरको निर्णय कार्यान्वयनमा आएको छ । गत २० जेठमा महानगरको कोरोना मूल समितिको बैठकले आवश्यकता अनुसार ५० जना राख्न सकिने क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

सबै वडालाई आवश्यकता अनुसार क्वारेन्टाइन बनाइरहेको समिति संयोजक तथा उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन् । ‘कोरोना फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सबै वडालाई आवश्यकता अनुसार क्वारेन्टाइन बनाउन पत्रचार गरेका थियौं । १५ वटा वडाले ठाउँ छनोट गरेर क्वारेन्टाइन सञ्चालनको तयारी थालेका छन् । केही वडामा सुरु भइसकेको छ,’ उनले भनिन् ।

क्वोन्टाइन व्यवस्थापन समितिका संयोजक एवं पोखरा–१९ का वडाधयक्ष शोभामोहन पौडेलका अनुसार पोखराका ४ वटा वडाले क्वारेन्टाइन बनाइसकेका छन् । अहिलेसम्म ५, ११, २९ र ३० नम्बर वडाले क्वारेन्टाइन बनाइसकेको उनले जानकारी दिए ।

सरकारले बनाएको क्वारेन्टाइनभन्दा पनि होम क्वारेन्टाइनमा बस्नु राम्रो हुने उनले बताए । ‘सचेत रुपमा होम क्वारेन्टाइनमा बस्दा राम्रो हुन्छ । सामाजिक बहिस्कार गर्नु जरुरी छैन,’ संयोजक पौडेलले भने ।

वडातहसहित महानगरले सञ्चालन गरेको २ क्वारेन्टाइनमा अहिले १ सय ४२ जना बसिरहेका छन् । पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्र र जाल्पारोडको लेकसिटी हस्पिटलमा महानगरले क्वारेन्टाइन सञ्चालन गरेको छ ।

कुन क्वारेन्टाइनमा कति ?

कृषि तालिम केन्द, मालेपाटन – ३९ जना
लेकसिटी हस्पिटल, जाल्पारोड – ५४ जना
शिवशक्ति मावि, पोखरा ११ – ५ जना
त्रिभुवन शान्ति मावि, पोखरा ३० – २ जना

जनप्रकाश मावि, पोखरा २९ – २१ जना
बाराही मावि, पोखरा–५ – २१ जना
जम्मा संख्या – १ सय ४२ जना

तपाईको प्रतिक्रिया