नीति तथा कार्यक्रममा प्रतिपक्षीकाे आलाेचना : न घाम छेक्ने न पानी छेक्ने माकुराको जालोजस्तो

समाधान संवाददाता २०७७ जेठ २१ गते ६:३९

पाेखरा

Advertisement

प्रदेश सभा प्रस्तुत नीति तथा कार्यक्रममा मंगलबार पनि घनिभूत छलफल भएकाे । आइतबार प्रदेश प्रमुखले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा पहिलाे दिन साेमबार १८ र दाेस्राे दिन १४ सांसद सहभागी भए । सत्तारुढ दलका सांसदले नीति तथा कार्यक्रममा खाेट लगाउने ठाउँ नै नभेटेकाे बताइरहँदा विपक्षी सांसदले भने चुराे कुराे नै नसेमेटिएकाे भन्दै आलाेचना गरे ।

छलफलमा आज बुधबार सा‌ंसदले बाेल्ने क्रम सकिने छ भने बिहीबार मुख्यमन्त्रीले जवाफ दिनेछन् । प्रस्तुत छ मंगलबारकाे बैठकमा सा‌ंसदले व्यक्त गरेका विचारकाे सम्पादित अंश

दीपक कोइराला, नेकपा / कास्की
राम्रो छ भन्दा सत्ता पक्षको जस्तो । नराम्रो छ भन्दा प्रतिपक्षको जस्तो । सत्तापक्षले राम्रो भन्नुपर्ने र प्रतिपक्षले नराम्रो भन्नुपर्ने । सत्तापक्षकै सांसद भएर पनि विरोध गर्न सकिन्छ कि भनेर निकै अध्ययन गरें । अनुसन्धान गरें । तर कहिँ केही फेला परेन । नीति तथा कार्यक्रममा भएका कार्यक्रम नै सकारात्मक भएकाले सकारात्मक लाग्यो ।

यो समाजवाद उन्मुख व्यवस्था हो । समाजवादै होइन । समाजवादी दिशातिर जान नीति कार्यक्रमले मद्दत पुर्‍यायो कि पुर्‍याएन भनेर हेर्दा पुर्‍याएकै देखिन्छ । सुखी र समृद्ध नेपाल बनाउन मद्दत गरेकै छ । समाजवादको दिशातिर यसले लैजान्छ भन्ने प्रष्ट छ । समीक्षामा पनि जति गर्न सकिन्छ, त्यो कुरा यसले भनेको छ । जे गरिएको छ त्यो भनिएको छ । जे नगरिएको हो, त्यो भनिएको छैन ।

Advertisement

यो अवस्था आउँछ भनेर कसैले कल्पना गरेको थिएन । कोभिड १९ सँग हामी कसरी लड्छौं भन्ने कुरा नीति तथा कार्यक्रमले प्रष्टसँग भनेको छ । आफू कसरी सुदृढ हुन सकिन्छ भनेर पनि यसले सम्बोधन गरेको छ । हामीले हाम्रो प्रदेशमा जुन दिशातिर लैजान खोजेका छौं । त्यतातिर यसले लैजान्छ ।

पूर्वाधारको क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, महिला बालबालिकाको क्षेत्रमा आदि आदि समग्रता कुनै न कुनै कुरा समेट्न छोडेको छैन । संविधानले जे दिएको छ, त्यो प्रदेश सरकारले कार्यान्वयन गर्ने हो । जे छैन त्यसमा समन्वय गर्ने हो । त्यस कारण समन्वय गरेर गर्ने काम पनि आएका छन् र आफैंले गर्ने काम पनि आएका छन् ।

नीति तथा कार्यक्रमले सबैलाई समेटेको छ । कृषिलाई जोड दिएको छ । रोजगारी सिर्जना गर्ने कुरा शिक्षाको क्षेत्र समेटेको छ । शिक्षाको धेरै अधिकार प्रदेशलाई पर्दैन । तर मेडिकल कलेज खोल्ने कुरा यसले गरेको छ, जुन आफ्नो अधिकार क्षेत्रमा पर्छ ।

ओमकला गौतम, कांग्रेस / नवलपुर
नीति तथा कार्यक्रम माकुराको जालो जस्तो न यसले घामलाई छेक्न सक्छ न पानी छेक्न सक्छ । न यसले रोगलाई छेक्न सक्छ न भोकलाई ।
न हामीले पनि गाईलाई घाँसै र बाघलाई मासु नै दिने भनेका हौं । जनताको चाहना र भावना विपरीत छ ।

केवल ल्याउनका लागि मात्रै ल्याइएको त होइन भन्ने प्रश्न उठेको छ । अभिव्यक्तिले रोग र भोक टर्दैन । रोग टर्न उपचार नै चाहिन्छ । भोक टर्न खानै पर्छ ।

महामारीका बेला ११ वटा गाडी खरिद गर्ने कुरा आएको छ । १६ वटा पिसिआर मेसिर खरिद गरेर जाँच गरे हुँदैन । खालि भगवानलाई सम्झेर हुन्छ ? ५० औं जनालाई एउटै क्वारेन्टाइनमा राखिएको छ । १ जनालाई कोरोना रहेछ भने सबैलाई फैलन सम्भावना छ । प्रत्येक जिल्लामा बाहिरबाट आएका नागरिकको पिसिआर गर्नुपर्नेमा हप्तौंसम्म गरिएको छैन । बाहिर गएका युवा गुलामी गर्न होइन पसिना बगाउन गएका हुन् । बाहिरबाट आउनेलाई रोजगारी दिने कार्यक्रम खै ? रोजगारीको व्यवस्था उद्योगी व्यवसायीको संरक्षण आजको आवश्यकता हो । उनीहरुलाई सरकाले बचाउने जिम्मेवारी हो कि होइन ? खै जिम्मेवारी ? हिजो लगानीकर्तालाई हौस्याउने काम गर्‍यो । आज लगानीकर्ताको सुरक्षा गर्ने दायित्व सरकारको हो कि होइन ?

मुख्यमन्त्री नमुना जलवायु मैत्री गाउँ छनोट कसरी गर्ने हो ? समानुपातिक सांसदले पनि छनोट गर्नुपर्ने होइन ? कृषिमा अनुदान दिने भ्रष्ट कार्यक्रम हो । यो भ्रष्ट कार्यक्रम खारेज गरियोस् । किसानलाई सहुलियतदरमा ऋण दिने कार्यक्रम गरियोस् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यविधि सुधार गर्दा सबैको समान हैसियत हुने गरी सुधार गरियोस् ।
लैंगिक विभेद अन्त्य गर्ने ठोस नीति खै ? महिलालाई सबलीकरण गर्न जरुरी छ । आर्थिक रुपमा सबलीकरण गर्ने कार्यक्रम ल्याइयोस् ।

स्वास्थ्यमा महिलाहरुको गम्भीर अवस्था छ । स्वास्थ्यमा सीमित पहुँच हुनु, पोषणयुक्त खाना खान नपाउनु जस्ता कारणले मातृ र बालमृत्युदर बढ्ने सम्भावना देखिन्छ । महिलालाई लक्षित गरी यथेष्ट बजेट व्यवस्था गरियोस् भन्ने माग गर्न चाहन्छु ।

नवलपुरबासीले गण्डकी प्रदेशको राजधानी पोखरा हो भनेर गर्व गर्न नसकेको अवस्था छ । सडक सञ्जाल नहुनु र त्रिवेणी दुम्कीबास सडक विस्तार हुन नसक्नु दुर्भाग्य हो । त्यसैले नवलपुरबासीले गण्डकी प्रदेश मेरो हो भनेर कसरी गर्व गर्ने ? नवलपुरको भन्सारमात्रै प्रयोग गर्ने हो ? त्यहाँका जनताका विषयमा नीति तथा कार्यक्रम बोल्नुपर्ने हो कि होइन ? संविधान संशोधनको विषय स्वागत गर्न चाहन्छु । प्रतिपक्षको कामलाई सरकारले किन धन्यवाद दिन नसकेको हो ?

मनबहादुर गुरुङ, नेकपा/कास्की
ठूलाठूला राष्ट्रहरुलाई पनि कोरोना भाइरससँग लड्न हम्मेहम्मे परेको छ । स्रोत साधन कम भएको देश हाम्रो । यो सरकारको अथक प्रयासले आज हामी विश्वको तुलनामा कमैमात्रै मृत्युदर र कमैमात्रै संक्रमित भएको देश बन्न सफल भएका छौं ।

४ महिनाअघि चीनको वुहान प्रान्तबाट नेपाली विद्यार्थी ल्याउने क्रममा एकजना विद्यार्थीसँग कोरोना संक्रमित भएको परीक्षण हङकङमा गराएर ल्याउनुपरेको सबैलाई जाहेर छ । हिजो धेरै ठाउँमा राखेको र आज सकरकारले नगरेको भन्ने होइन । आज ७ वटै प्रदेशमा पिसिआर व्यवस्था गरेको छ । तसर्थ यो सरकारलाई धेरै धेरै धन्यवाद दिनुपर्छ ।

यो सरकार नीति बनाउने कुरामा योजना बनाउने कुरामा कार्यान्वयन गर्ने कुरामा सरकार अब्बल छ । यो सरकारप्रति गर्व गर्छु । कोरोना विरुद्ध लड्न सरकारले प्रेरणा दिएको छ । स्वास्थ्य प्रणालीको सुधार, सीमान्तीकृत वर्गको उत्थान व्यवस्था गरेको छ । समाजवाद उन्मुख नीति तथा कार्यक्रम आएको छ । सबल र समृद्ध प्रदेश बनाउन दृढ संकल्पित भएर सरकारले नीति तथा कार्यक्रम आएको छ ।

प्रदेश सरकारले पोखरालाई पर्यटकीय हब बनाउने कार्यक्रम बनाएको छ । विकास अत्यन्तै द्रुतगतिका अघि बढेको छ । लकडाउनको कारणले मात्रै हो, यो सरकारले अब विकासको मूल ढोका खोल्यो भन्ने कुरामा दुई मत थिएन ।

नीति तथा कार्यक्रममा केही सुझाव पनि दिन चाहन्छु । अव्यवस्थित बसोबास गरिरहेकालाई उचित क्षेत्रमा बसोबास व्यवस्था गर्ने कार्यक्रम समावेश गरे हुन्थ्यो । बिजुलीको तार र केबुलको तार अन्डरग्राउन्ड बनाए हुन्थ्यो । लक्षित वर्गलाई पानी र बिजुली निशुल्क वितरण नर्ग पाए हुन्थ्यो । स्वस्थ खानेपानी यथासक्य वितरण गर्न पाए हुन्थ्यो । यातायातको चापलाई मध्यनजर गरी पोखराको चोकचोकमा आकाशेपुल निर्माण गरे प्रदेश सरकार यहाँ छ भन्ने जनतालाई महसुस हुन्थ्यो । प्रदेशले १, २, ३ भनेर गन्न सक्ने गरी प्रदेशका गौरव योजना सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गर्छु ।

खिमविक्रम शाही, राजमो/बागलुङ
प्रदेश सरकारले बलबुताले भ्याएसम्म काम गरेको छ । राम्रोलाई राम्रो भन्नुपर्छ । सरकारको उपस्थिति पालिकापालिकामा हुनपथ्र्याे । अब हुन जरुरी छ । नीति तथा कार्यक्रममा धेरै राम्रा कार्यक्रम आएका छन् । लेख्दैमा राम्रो हुँदैन । सुन्दैमा राम्रो हुँदैन । हिजो पञ्चहरुले राम्रो राम्रो कार्यक्रम लेखेको थिए । ती कुरा व्यवहारमा ढाल्नका लागि मन्त्री र सांसद सबैको आचारण र चरित्र र आनीबानीमा परिवर्तन हुन जरुरी छ । व्यवस्था परिवर्तन भएर भए न हामी परिवर्तनु हुनुपर्‍यो । यो व्यवस्था नेपालको परिवेश अनुरुप नभएका कारणले सजिलै सुधार गर्न सजिलो छैन ।

ढोरपाटन क्षेत्र नीति तथा कार्यक्रममा छुटेको छ । त्यो पर्यटकीय क्षेत्रको विकास गर्न ढोरपाटनमा पुग्ने गरी जुन सडक विस्तार गरिएको छ, त्यसलाई निरन्तरता दिइयोस् । नयाँ ट्रयाक विस्तार गरियोस् । त्यहाँ भएको जलाशययुक्त हाइड्रो पावर पनि समावेश गरियोस् भन्न चाहन्छु । ५ नम्बर प्रदेशले पनि छोएको क्षेत्र हो, ती प्रदेशबाट आउन सडक सञ्जाल विस्तार गर्न जरुरी छ । निसीभुजीमा एउटा क्याम्पस छ, त्यसलाई सहयोग गरियोस् । बुर्तीबाङ स्वास्थ्य केन्द्रलाई विस्तार गरियोस् ।

निसीखोलाको वडा नम्बर ५ का एउटै वडाको अर्काे ठाउँमा जान पूरै एक दिन लाग्छ । ढोरपाटन नगरपालिकामा पनि त्यस्तै ठाउँ छन् । त्यहाँ बिजुली छैन । बिजुली विस्तार गरियोस् । सडक सञ्जाल विस्तार गरियोस् । प्रत्येक पालिकामा कर्भल हलको व्यवस्था गर्न जरुरी छ । प्रदेशको केन्द्रबाट, जिल्लाको केन्द्रसम्म मोटरबाटो जोड्ने जुन योजना छ, पुल पनि पक्कै आउँछ होला । मानिसहरु मृत्यु भएपछि दाहसंस्कार गर्ने ठाउँहरु पनि व्यवस्था गर्नुपर्ने कुरा छुटेको छ ।

लामो दुरीका मोटरबाटोहरुमा सार्वजनिक शौचालयहरुको व्यवस्था गर्नुपर्छ होला । त्यो पनि छुटेको छ । बिजुली पुगेको केही जिल्लाका भागमा पनि थुप्रै ठाउँमा बिजुली पुगेको छैन, त्यहाँ सोलारबाट बत्तीको व्यवस्था गर्न जरुरी छ । बाटोले भत्काएर सिँचाइ सकिएको छ ।

सोलारबाट सिँचाइ गर्न जरुरी छ । इन्टरनेटको सुविधा पालिकापालिकामा पुगेको छैन । त्यो कुरालाई समेट्नुपर्छ । मन्त्रीहरु पालिकापालिकाको भ्रमण गरिदिनुभए हुन्थ्यो । आफैं पुगेर त्यहाँको समस्या अनुभूति गरिदिए हुन्थ्यो ।


धनञ्जय दवाडी, नेकपा/लमजुङ
विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारणले परिस्थिति असामान्य छ । त्यही परिस्थिति अनुसार नीति तथा कार्यक्रम आएको छ । नीति तथा कार्यक्रमले निरोगी प्रदेशका लागि बहुपक्षीय पहल गरेको छ। सबैभन्दा पहिला उपचार र उपचारका लागि पूर्वाधारको योजना अघि सारेको छ । प्रकोपजन्य रोगको उपचार गर्ने अस्पतालको परिकल्पना गरेको छ । जनताको स्वास्थ्य पहिलो कुरा हो भनेर नीति तथा कार्यक्रम आएको छ । जनताको मत लिएको सरकारले गर्नुपर्ने काम यिनै हुन् ।

गण्डकी प्रदेश सरकार अब्बल सरकार हो, जसले पूर्वअनुमान ग¥यो । एकोहोरो आलोचनाले कुण्ठाप्रेरित छौं भन्ने देखाउँछ । सर्वनास्तीभन्दा अर्धनास्ती काफी हुन्छ । एउटा योजना सुरु गर्ने छोड्ने, अर्काे सुरु गर्ने छाड्ने गर्ने हुँदैन । लोकतान्त्रिक सरकारमा त्यस्तो चरित्र हुँदैन ।

प्रत्येक पटक लहडमा योजना बनाउन सकिँदैन । समृद्ध प्रदेश बनाउने हो भने अविचलित रुपमा हिँडेर मात्रै गन्तव्यमा पुग्न सक्छौं । युद्ध हुँदाका बखत उत्पादन गरेनौं ? ग¥यौं । त्यसै अनुसार प्रदेश सरकार जनताको जीवन जोगाउन लागेको छ ।

अब राज्य नियन्त्रित अर्थतन्त्र विकसित गर्नुपर्ने भएको छ । अब समाजवादी बाटोमा हिँड्न अग्रसर भएको छ समय । कृषिमा आत्मनिर्भरतर्फ, स्वास्थ्य बिमातर्फ यो सरकार केन्द्रित भएको छ ।

यतिबेला किसानलाई बजार बढाइदिने चरणमा छौं । उत्पादन बढाइदियौं भने बजारमा पहुँच पु¥याइदियौं भने समाजवादमा पुग्छौं हामी । ज्ञानलाई किसानलाई कहाँ पु¥याउन नै मुख्यमन्त्री जलवायुमैत्री कार्यक्रम आएको हो । हामी पनि किसानलाई उनीहरुको खेतबारीमै बजार पुर्‍याउने चरणमा छौं ।


नीति आधारमा कार्यक्रम तय गर्ने गर्दा व्यक्तिको भन्दा नीतिको भूमिका प्रमुख हुन्छ । जुन ढंगले प्रदेश सरकारले नीति ल्याएको छ, त्यही नीतिका आधारमा समृद्धि सम्भव छ । समृद्धि उत्पादनबाट सम्भव छ, त्यही योजना सरकारले बनाएको छ । काम गुमाइरहेको जनशक्तिलाई रोजगारी दिलाउँछु भनेर प्रदेश सरकारले भनेको छ ।

हरेकपटक कात्तिकका असिना परेर धान नहसनहस हुन्छ । त्यसो भनेर किसानले अर्काेपटक धान नरोप्ने ? नरोपेको भए मानव सभ्यता यहाँसम्म आइपुग्दैनथ्यो । त्यसैले कोरोना आयो भन्दैमा चुप लागेर बस्न बस्न मिल्दैन । कोरोनालाई हामी जित्नेछौं ।

प्रभा कोइराला, नेकपा/कास्की
नीति तथा कार्यक्रम स्पष्ट दृष्टिकोणसहित आएको छ । समृद्धिका मध्यकालीन, दीर्घकालीन र अल्पकालीन लक्ष्यसहित सरकार अघि बढेको छ । बिजुली नगुेको ठाउँमा बिजुली पु¥याउने कार्यक्रम छन् । एक घर एक धारा बनाउने कार्यक्रम छ । अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने, प्राकृतिक चिकित्सालयलाई सहयो गर्ने कार्यक्रम राम्रा छन् । कृषि क्षेत्र अब व्यवस्थित हुँदैछ भन्ने अनुभूत हुँदैछ । महामारीका कारण जनतामा परेको असरलाई सम्बोधन गर्ने विषय महत्वपूर्ण छन् । प्रदेश सरकारको आचित्य पुष्टि भएको महसुस भएको छ । सरकारले मानव स्वास्थ्यमाथि ध्यान दिएको छ । मातृ र शिशु जोगाउन एयरलिफ्टिङ कार्यक्रम महत्वपूर्ण छ । सबै प्रदेश बासीलाई स्वास्थ्य बिमामा समेट्ने कुराले सरकार जनउत्तरदायी बनेको देखिन्छ । अर्गानिक खेती गर्दै जाने, बिचौलिया अन्त्य गर्ने कुरा आएको छ । खेतीयोग्य जमिनमा सिँचाइको कुरा आएको छ । चक्लाबन्दीको कुरा छ । सार्वजनिक जमिन व्यवस्थित गर्ने लगायत कार्यक्रम छन् । पर्यटनलाई ध्यान दिएको छ । विपतमा परेकालाई उद्धार गर्ने कार्यक्रम महत्वपूर्ण छ । लोमन्थाङ र गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा राख्ने कुरा महत्वपूर्ण छ ।

कोपिला बोहोरा, कांग्रेस/बागलुङ
क्वारेन्टाइनमा बस्नेको ट्वाइलेट एउटै, चप्पल एउटै हुँदै कोरोना भाइरस सरेको अवस्था छ । राहत एकपटक मात्रै बाँडिएको छ । राहत दोस्रोपटक बाँडिएको छ । व्यक्तिले राहत बाँड्छु भन्दा किन कारबाही गर्ने ? व्यक्तिले उद्धार गर्न किन नदिने ? धेरै व्यक्ति मार्ने हो भने गर्न नदिनुपर्छ । होइन भने व्यक्तिलाई पनि राहत बाँड्न र उद्धार गर्न दिनुपर्छ । क्वारेन्टाइनमा बसेकाको उपचारका लागि सरकारलाई अनुरोध गर्छु ।

कृषि त भन्ने तर सबैको जमिन छैन । सुकुम्बासीलाई सार्वजनिक जमिनमा कृषि गर्न दिनुपर्छ । सुकुम्बासीलाई सधैं भरि हल हल नभनी न्याय दिलाउन पनि म अनुरोध गर्छु । विदेशबाट फर्किएकाहरुलाई तिनलाई रोजगारी कसरी दिने ? तिनलाई रोजगारी दिने कार्यक्रम हुनुपर्छ । विदेशमा अलपत्र परेकालाई छिटोभन्दा छिटा फर्काउनुपर्छ ।

सत्ता पक्ष र प्रतिपक्षलाई एउटै हैसियत दिनुपर्छ । प्रतिपक्षलाई फरक लोगो र ड्रेस हुनुप¥यो कि ? होइन भने योजना माग्दा प्रतिपक्षलाई नदिने हुनु भएन । शिक्षामन्त्री महिला पायौं भनेर हाँसेका थियौं । तर अहिलेसम्म उहाँबाट केही पाएका छैनौं । महिलालाई खै रोजगारी ? कमाउने ठाउँ चाहियो । महिलालाई रोजगारी दिनुपर्छ । महिला दलित र अल्पसंख्यक सबैले रोजगारी पाउनुपर्छ । महिलाको आयआर्जन कागजमा सीमित नहोस् ।

रामबहादुर गुरुङ, नेकपा/तनहुँ
नीति तथा कार्यक्रमका प्रत्येक ठाउँमा अत्यन्तै महत्वपूर्ण बुँदा छन् । संसारमा आज सबैभन्दा विकसित मुलुक चीन देखिएको छ । हामीले छिमेकीबाट सिक्नुपर्छ । नीति तथा कार्यक्रमले विकासको बाटो खोलिदिएको छ । समद्धिको बाटोमा हिँड्न लगाएको छ । आज स्वास्थ्य क्षेत्रलाई ध्यान दिनुपर्छ । नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रलाई ध्यान दिएको छ । नेपाललाई निर्यातमूलक देश बनाउने दिशामा लैजान खोजेको छ । कृषिमा व्यावसायीकरण गर्ने कुरा गरेको छ । गण्डकी प्रदेशलाई ७ वटा प्रदेशमा नमुना प्रदेश बनाउन सरकार लागेको छ । आयातलाई प्रतिस्थापन ग¥यो भने कोही नेपाली बेरोजगार हुँदैन । नीति तथा कार्यक्रम अनुसार बजेट आउन सम्भव छैन । गण्डकी प्रदेशलाई ७५ अर्ब दिनुपर्ने हो । तर त्यत्रो बजेट छैन ।

ललितकला गुरुङ, कांग्रेस/पर्वत
पक्ष र प्रतिपक्षमा आफ्नो पक्षले राम्रो भए पनि नराम्रो भन्नै पर्ने हाम्रोमा संस्कार छ । गण्डकी सरकारले राम्रो गर्दा जस प्रतिपक्षले पनि पाउने हो । सत्ता पक्षले मात्रै जस पाउने होइन । मलाई आफ्नो सरकारलाई मुक्तकण्ठले प्रशंसा गर्ने मन छ, तर त्यो अवसर छैन ।
कोरोना भाइरसबाट बँच्न बनाइएका क्वारेन्टाइन धेरैजसो सुरक्षित छैनन् । ती सुरक्षित हुनुपर्छ । नीति तथा कार्यक्रममा गत साल मिठा कार्यक्रम थिए । गोठदेखि ओठसम्म आलीदेखि थालीसम्म जस्ता कार्यक्रम थिए । तर हामीले अनुभूत गर्न पाइएन । कृषिमा आत्मनिर्भर हुने कार्यक्रम कहाँ छ ? यातायात क्षेत्र अव्यवस्थित छ । जनताले लाइसेन्स दिन वर्षाैं कुर्नुपरेको छ ।
मलाई एउटा गीतको याद आउँछ । सायद रामकृष्ण ढकालले गाएको हो । भगवानले हेर्छन् भन्थे, तिम्रो भगवानले हेरेको पनि देखियो । हामी साढे २ वर्षमा छौं तर सुखी र समृद्ध प्रदेशको अनुभूति गर्न पाइएको छैन ।

इन्द्रलाल सापकोटा, नेकपा/बागलुङ
सरकारले आफ्नो औकात अनुसार कार्यक्रम गरेको छ । प्रदेशबासीलाई निराश नहुन अपिल गरेको छ । कोभिड १९ परास्त गछौं भन्ने संकेत गरेको छ । स्वास्थ्य बिमाको कार्यक्रम ल्याएको छ । बाललुङमा जन्मिएका भगत सर्वजित विश्वकर्माका नामा सिप विकासको कुरा गरेको छ । आशा र उत्साह जगाएको छ । यसलाई पराजित गर्छाैं र हाम्रो भविष्य सुखद छ भन्ने कुरा गरेको छ ।


यसले अत्यन्तै समेट्न प्रयास गरेको छ । सरकारले अनुदान दियो किसानलाई । कृषिमा यान्त्रीकीकरणको कुरा ग¥या छौं । धेरै कुरा गरेका छौं । किसानको बीचमा सरकार पुगेको छ । किसानको मनोबल उठाएको छ । कृषिमा जे गरेका छौं पछुताउनु पर्ने छैन । तर यसले पुगेको छैन । सरकारले अहिले पनि फेरि कृषिलाई जोड दिएर आएको छ ।

नीति र कार्यक्रम निरन्तरताको जगमा छ । लोकतान्त्रिक मूल्य मान्यताको जगमा छ । तर राजस्व संकलनको क्षेत्रमा कमजोर छौं । खर्च बढेको छ । आम्दानी बढेको छैन । योजना बनायौं । खर्च गर्न सकेका छैनौं । कमजोरी भएका छन् । जनप्रतिनिधिमाथि प्रश्न चिह्न छ । कर्मचारीमाथि प्रश्न चिह्न छ । यसमा समीक्षा जरुरी छ । जनतालाई सुशसान दिन सकेका छैनौं । आय संकलन गर्ने कुरामा ध्यान पु¥यायौं भने सुशासन दिन सक्यौं भने जनताका आशा पूरा गर्ने ठाउँमा पुग्न सक्छौं ।

विष्णुप्रसाद लामिछाने, कांग्रेस/नवलपुर
प्रदेशको भविष्य नीति तथा कार्यक्रममा समेटिएर आउनुपर्ने थियो । हातमुख जोर्ने समस्यामा भएका जनताको भविष्य कोर्ने दिनमा हामी छौं । त्यो भविष्य नीति तथा कार्यक्रमले कोर्नुपर्ने थियो । मुलुक विषम परिस्थितिमा छ । विश्व कोरोनाको कारणले आक्रान्त बनेको छ । विश्वमा यसैका कारण धेरैले ज्यान गुमाउनुपरेको अवस्था छ । सबैलाई धैर्य र उच्च मनोबलको साथमा रहन आग्रह गर्छु ।


भनौं सम्धीको चित्त दुख्ने नभनौं छोरीको नाक बुच्चै भनेजस्तो अनुभूत मैले गरेको छु । समय सापेक्ष नीति र कार्यक्रम आएन । अहिलेको परिस्थितिसँग जुध्न सक्ने किसिमको आएन कि भन्ने ठम्याइ मेरो छ । अहिले मुलुक थिलोथिलो छ । पहिलो प्राथमिकता ती जनता जसले सरकारको अपेक्षा गरेर बसेका छन्, तिनलाई कसरी स्वास्थ्य उपचार गर्ने, र कसरी राहत दिने भनेर त्यति धेरै ध्यान नदिएको जस्तो मलाई लाग्छ । आएको छ तर आउनुपर्ने जति आएको छैन ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिले आत्महत्या गर्नुपर्ने स्थिति कसरी आएको छ । हामी कहाँनेर चुक्यौं । समीक्षा गर्नुपर्छ । हाम्रो पहिलो प्राथमिकता भनेको जनता हो । जनतालाई बचाउनु हो ।

विदेशबाट धेरै आउनुभाछ । उहाँहरुलाई व्यवस्थित गर्नुपर्छ । मेरो सरकारले केही गर्छ भन्ने कुरा आउनुपर्ने हो । त्यो कुरा झल्केको पाइँदैन । प्रदेशलाई आत्मनिर्भर बनाउने कुरा खै त ? यो यो ग¥यौ भने आत्मनिर्भर बनाउन सक्छौं भन्ने खै त ? हिजोभन्दा परिस्थिति फरक छ । त्यो परिस्थिति अनुसार आउनुपथ्र्याे । अब हामी आत्मनिर्भर हुनुपर्छ । कोरोनाले त्यो अवसर दिएको छ ।

एक धुर पनि जमिन नभएका सुकुम्बासीको बारेमा नीति र कार्यक्रमले बोल्नुपर्दैन ? साँच्चै सुकुम्बासीलाई पुर्जाको मालिक बनाउनुपर्छ । त्यो कुरा नीति र कार्यक्रमले भुलेको छ ।

अब कृषिमा गर्ने लगानी वैज्ञानिक हुनुपर्छ । अनुदानका कुरा धेरै गए । प्रतिफल के भयो ? अनुगमन भयो कि भएन ? लेखाजोखा छैन । अनुगमनको पाटो दह्रो भएन ।

हाम्रो लागि चुनौती बसाइ सराइ हो । बसाइ सराइ न्यूनीकरण गर्ने कार्यक्रम खै ? अब गाउँलाई हराभरा बनाउनुपर्दैन हामीले । यसमा पनि नीति र कार्यक्रम बोलेको छैन ।

पहिलो वर्षको नीति र कार्यक्रमले हामीलाई पोखराबाट जाने बाटो त्रिवेणी पु¥यायो । पोहोर दुम्कीबास पु¥यायो । अहिले त अरुणखोलासम्म मात्रै पु¥याएको छ । त्रिवेणीका जनता गण्डकी प्रदेशको उपनिवेश भएर बसेका छन् । अर्काे प्रदेश भएर आउनुपर्छ त्यहाँका जनता । तिनलाई सम्बोधन गर्नुपर्दैन ? त्रिवेणीका जनताले हामी गण्डकीका मान्छे हौं भनेर गर्व गर्ने कार्यक्रम हुनुपर्दैन ?

जे गर्न सकिन्छ, त्यही कुरा गरौं । संघीयतालाई विश्वास उठ्ने गरी नसक्ने काम गर्छाैं नभनौं । गर्नै नसकिने काम जति पनि ल्याउन सकिन्छ । झन्झटिलो प्रक्रियालाई छरितो बनाउने कार्यक्रम चाहिँदैन ? सुशासन दिने प्रत्याभूति दिने कार्यक्रम उल्लेख हुनुपर्दैन ?

जिल्लामा प्रदेश सरकारले के के ग¥यो भन्ने थाहा छैन । जिल्लामा प्रदेशले यो ग¥या छ भन्ने थाहा हुनुपर्दैन । प्रदेश सांसद भूमिकाविहीन हुँदा राम्रो सन्देश जाँदैन ।

दिलमाया रोका, नेकपा/बागलुङ
समृद्ध प्रदेश र सुखी नागरिकको लक्ष्य सहित प्रष्ट कार्यक्रमसहित नीति तथा कार्यक्रम आएको छ । जुन स्पिरिट अनुसार नीति तथा कार्यक्रम आएको छ, त्यसै अनुसार बजेट व्यवस्था हुनुपर्छ । कृषिमा यसको प्रभावकारी कार्यान्वयनले भोलिको सुन्दर भविष्यको ढोका खोल्नेछ । आधुनिकीकरण गरी कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रम छ । तर भूमिको असमान वितरण त्यसमा बाधक हुन सक्छ । भूमि सुधार गरी श्रम गर्नेको हातमा भूमिको व्यवस्था हुनुपर्छ ।

डोबाटे विश्वकर्मा, कांग्रेस/तनहुँ
सत्ता पक्षका माननीयलाई कालोलाई सेतो भन्नुपर्ने बाध्यता होला । तर छुटेका कुरा समेट्दा राम्रो होला भनेर हामीले सुझाव राखेका छौं । सरकारसँग मजदुर र श्रमिक वर्गको तथ्यांक नभएकाले राहत फिलतो हुँदा रोगले भन्दा भोकले मर्ने डर छ । नीति तथा कार्यक्रममा राहत छुटेको छ । सरकारका नारा नारामै सीमित छन् ।

भ्रष्टाचार गर्न दिन्न भन्ने नीति र नारा त्यस्तै छ । जनताले राहत पाएका छैनन्, राष्ट्रपति कार्यालयमा १ करोडको कार्पेट हाल्ने ? त्यो भ्रष्टाचार हो कि होइन ?
अस्पताल स्तरोन्नति बनाउने सन्दर्भमा दमौलीको अस्पताल स्तरोन्नति गर्न बजेट छुट्याइनु आवश्यक छ । दलित र सीमान्त वर्गमाथि अन्याय हुँदा पनि सरकार टुलुटुली हेर्छ भने त्यो नारामा सीमित नै भयो । कति दलितले राहत पाएका छन् ? गरिब र भूमिहीन सुकुम्बासीको व्यवस्था कहाँ र कहिले हुन्छ ? सरकारका नाराले जनतालाई भ्रममात्रै छरेको छ ।

छुवाछूत अन्त्य घोषणा गर्दा पनि अहिले दलितको ज्यान गइरहँदा सरकारले नीति मात्रै ल्याएर हुन्छ कि छुवाछूत अन्त्यको कार्यान्वयन गर्नुपर्छ ?

राजीव पहारी, नेकपा/कास्की
महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई कसरी चलाउने भनेर नीति तथा कार्यक्रम आएको छ । समृद्ध प्रदेश कसरी बनाउन सकिन्छ भन्ने प्रष्ट भिजनसहित आएको छ । जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ भनेर जनताले अनुभूत गर्ने गरी आएको छ । सञ्जीवनी बुटीका रुपमा यो नीति तथा कार्यक्रम आएको छ ।

धेरै काम भइरहेका छन् । जेट स्पिडमा काम भइरहेको थियो । सरकार अगाडि बढिरहेको थियो । तर अकस्मात कोरोना भाइरसको सामना हामीले गर्नुप¥यो । सरकारका मन्त्रीहरुले सकारात्मक भूमिका खेल्नुभएको छ । सही नीतिको प्रभावकारी कार्यान्वयनका कारण कोरोना भाइरस गण्डकी प्रदेशमा समुदायमा फैलन पाएको छैन । सरकारले जे जति काम ग¥यो, त्यसका कारणले कोही रोग र भोकले मर्नुपरेको छैन । आफू चुर्लम्ब भ्रष्टाचारमा डुबेकाले जनताको सेवामा लागेको सरकारलाई भ्रष्टाचारी देखेको छ ।

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । स्वास्थ्य बिमा गर्ने, विशिष्टकृत अस्पताल स्थापना गर्ने कार्यक्रम ल्याएको छ । कृषिमा आत्म निर्भर बनाउनुपर्छ । पर्यटनका विषयमा नयाँ ढंगले सोच्नुपर्छ ।

तपाईको प्रतिक्रिया