युवा पिँढी र श्रमको सम्मान गर्ने संस्कृतिलाई सरकारले बुझेन

समाधान संवाददाता २०७७ जेठ २१ गते १७:२७

मणिभद्र शर्मा

Advertisement

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले विसं २०१५ देखि २०१७ को १८ महिने सत्ता कालमा भारतका नेहरूको नेपालप्रतिको गिद्धे दृष्टिलाई सशक्त बौद्धिक कूटनीतिक क्षमता प्रदर्शन गरी भारतीय संसदमा माफी माग्न लगाएको र चीनका चाउ एनलाई र माओत्सेतुङसमेतलाई सगरमाथा लगायत मुस्ताङ काण्डमा माफी मगाएको र २०१७ सालपछि सत्ता बाहिर बस्दा पनि सबै प्रकारका यातना अपमान सहेर पनि नेपालको राष्ट्रियताका पक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरमहरुमा प्रकट गरेका अभिव्यक्ति र पहलले संसारले उच्च मूल्यांकन गरेको र उनकै नातिनी मनीषा कोइरालाले राष्ट्रियताका पक्षमा इन्डियामा व्यक्त अभिव्यक्तिले सम्पूर्ण नेपालीको शिर ठाडो पार्दै संघर्ष गर्दै छन् ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्पूर्ण नेपाली कांग्रेस त्यही दिशामा क्रियाशील छ भने अर्कोतिर २०१६—२०१७ देखि नै विशेष गरेर २०१९—२०२० तिर प्रष्ट रुपमा राजा महेन्द्रवादी डिएन एडिट फर्मुलावादी कम्युनिस्ट नश्ल यो प्रदेश सभामा पनि चिच्याइरहेको पक्षलाई मैले धेरै अनौठो मानेको छैन । र अहिले पनि जिम्मेवारी बोधका साथ संस्थागत निर्णय गरेर नेपाली कांग्रेस राष्ट्र राष्ट्रियताका पक्षमा अगाडि बढिरहेको कुरालाई सम्मानका साथ हेर्न नसक्ने डाह गर्नेहरुका प्रति के भनौं र खोइ ?

कोरोना विरुद्धको अभियानमा सुरु अवस्थाको लकडाउनबाहेक अरु पक्ष होसपूर्वक नगरिएको जस्तै सुरु सुरु प्लेनमा आउनेलाई एयरपोर्टमा ट्रेसिङ नगरेका कारण बागलुङले सुरुको तनाव भोग्यो । अन्यत्र पनि इन्डियाबाट आएका नागरिकलाई बोर्डरमा अपमानजनक रोकिँदा नदीमा हाम फालेर भित्रिनेदेखि खुला बोर्डरबाट अवैधानिक बाटो भएर भित्रिएर ट्रेसिङमा समस्या भई एक परिवारका दर्जनौं व्यक्ति संक्रमित हुन पुगे ।

Advertisement

अहिले इन्डियाबाट आइरहेकाहरुलाई पनि अझै ठिकसँग व्यवस्थापन नगरेका कारण क्वारेन्टाइन नै संक्रमण उद्योग बन्न पुग्यो र साधन स्रोतका अभाव भएका पालिका सरकारहरुलाई ठूलै जोखिम र मेहनत गर्न परेको छ ।

सुरुमै महामारी विरुद्ध लडने अभियान सामान खरिदमै भ्रष्टाचार गरेको र भ्रष्टाचार स्वीकार्ने तर कारबाही नगर्ने गरेका कारण आमजनताले राहत कोषमा अपेक्षाकृत सहयोग गर्न चाहेनन् ।

सर्वदलीय सर्वपक्षीय संयन्त्र बनाउन सरकारी पक्ष मानेनन् र सत्तापक्षका कार्यकर्ता नेता सांसद चामल बोरा बाँडेको फेसबुके अभियान देखाए तर पीडितहरुलाई खाना खुवाउने लगायत अन्य दान गर्न पनि स्वतन्त्र नागरिकलाई र अरु पार्टिका नेता कार्यकर्तालाई बन्देज गर्ने, प्रहरी लगाएर थुन्ने, धम्की दिने र अझ नेकपाकै सुण्डे मुन्द्रेहरुले खुट्टा भाँचिदिने धम्की दिने कामसमेत भएको आत्म समीक्षा आज गर्न जरुरी छ ।

नेपाली कांग्रेसले ५० दिन अगाडि नै ६ महिने खाद्य भण्डारण गर्ने सुझाव दिएको थियो । आज खाद्य सामग्रीको ४० प्रतिशतसम्म मूल्य बढिरहेको छ । ख्याल छ कि छैन ।

उत्पादन लागत कम नगराएमा छिमेकीहरुको प्रतिस्पर्धा गर्न सकिँदैन र लगानी आकर्षित हुँदैन भन्ने थाहा राखेर नीति तथा कार्यक्रम बनाइएन ।
वैदिक विज्ञानले गाईगोरुको मूलमत्रबाट फलेको अन्नबाट स्वस्थ शरीर सन्तुलित वृद्धि हुन्छ भनेको छ । तसर्थ कृषि र पशुपालनलाई एकीकृत रुपमा विकास गर्न असली अर्गानिक उत्पादन गर्न किसानलाई कम्तीमा ५ वर्षसम्म निब्र्याजे ऋण उपलब्ध बनाउनुपर्ने र इन्डिया र चीनबाट आउने कृषि उपज खरिद गर्ने विदेशी मुद्रा सञ्चितको कठिनाइ पनि कम हुने र रोजगारी पनि सिर्जना हुने विशेष होइन ठोस कार्यक्रम व्यवस्था गर्नु आजको आवश्यकता हो ।

स्वास्थ्य क्षेत्रमा भइरहेका उपचार पक्षलाई प्रभावकारी बन्न जरुरी छँदै छ । अझ रोग नलागोस् र रोगसँग लड्न सक्ने क्षमता प्रिभेन्टिभ इम्युनिटी डेभलप गर्ने आयुर्वेदिक विज्ञ टिमलाई जिम्मा दिने नीति तथा कार्यक्रम बनाउन किन चुकिरहेको छ । यसले जडिबुटी उत्पादन प्रयोग तथा रोजगारलाई समेत मद्दत पु¥याउँछ ।

विदेश गएर डेन्जर, डर्टी र डिफिकल्ट काम गर्न बाध्य भएका हाम्रा युवा पिँढी र समाजमा श्रमको सम्मान गर्ने संस्कृति विकास गराउने पक्षमा यो नीति तथा कार्यक्रमले आजको पहिलो आवश्यकता भन्ने बुझेन ।
पूर्ववर्ती सरकारका पालामा निर्माण भइसकेका र केही दिनभित्रै सम्पन्न हुन गइरहेको विद्युत योजनाहरु उद्घाटन गर्दै जानुस् र उत्पादित विद्युतबाट चल्ने गाडीहरु निर्माण गर्ने फ्याक्ट्री यस प्रदेशमा सुरु गरेर रोजगार दिने आयात प्रतिस्थापन गर्ने र विदेशी मुद्रा सञ्चितिमा परेका समस्याबाट राष्ट्रलाई जोगाउन नीति तथा कार्यक्रम बनाउनबाट असफल नहोस् सरकार ।

द्वन्द्व पीडितहरुलाई गरिने विभिन्न प्रकारका सहयोगहरुमा यही प्रदेश सरकारका हिजोका भेदभावपूर्ण व्यवहार अब दोहोराउन्न भन्ने प्रतिवद्धता नीति तथा कार्यक्रममा छुटे पनि बजेट बनाउँदा ख्याल गर्नुहुन अनुरोध छ सरकार ।

जंगलमा काठ कुहाउने नीति निर्देशन गर्ने र विदेशबाट खर्बौंका काष्ठजन्य र आल्मुनियमजन्य समान झिकाउने नीतिलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम नबनाइयोस् हजुर

अन्त्यमा यो प्रदेश सरकारका असफलताले दुईवटा कुराको समस्या आउँछ हजुर । यो जहाज डुब्दा हामी पनि डुब्छौं र संघीयता पनि माइला दाइ चित्रबहादुर केसीले भने जस्तै हुन्छ हजुर भन्दै संकीर्ण नहुन खुला भइदिन र नीति तथा धरातलीय यथार्थमा बनाउन घोषणा पत्रमा मात्रै नअल्मलिन सरकारलाई फेरि पनि अनुरोध गर्दै बिदा हुन्छु ।
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेत मणिभद्र शर्मा कँडेलले नीति तथा कार्यक्रमको छलफलमा व्यक्त गरेको विचार

तपाईको प्रतिक्रिया