कोरला सडक कालोपत्रे गर्न चिनियालाई दिनुपर्ने सांसद तुलाचनको प्रस्ताव

समाधान संवाददाता २०७७ जेठ २१ गते १८:५७

एसके थकाली, जोमसोम

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको कोरला नाकामा भन्सार कार्यालय, पशु क्वारेन्टाइन, सुरक्षा निकाय, सुख्खा बन्दरगाह र अध्यागमन लगायतको पूर्वाधार निर्माण तथा जोमसोम –कोरला १ सय १० किमी कालोपत्रे सडक निर्माणका लागि मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले सोमबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली समक्ष एक प्रस्ताव पेस गरेका छन् । सांसद तुलाचनले परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री ज्ञवालीलाई प्रस्ताव पेस गरेका हुन् ।

सांसद तुलाचनले नेपालका निर्माण कम्पनीभन्दा चिनिया कम्पनीले गर्ने काम छिटो छरितो अनि गुणस्तरीय हुने र पूर्वाधारको लागत समेत कम लाग्ने भएकाले कोरलाको भन्सार लगायत पूर्वाधार तथा सडकको कालोपत्रे गर्न चिनिया कम्पनीलाई आह्वान गर्नुपर्ने लिखित प्रस्ताव पेस गरेको संघीय सांसद तुलाचनले जानकारी दिए ।

Advertisement

‘कोरला पूर्वाधार निर्माण गर्ने कार्यक्रम बजेटको रातो किताबमा उल्लेख छ । तर बजेटमा आउन सकेन,’ सांसद तुलाचनले भने, ‘चीनतर्फ पूर्वाधार निर्माण भइरहेको छ, नेपाल पक्षले पनि यथाशीघ्र अघि बढाउनु पर्ने ध्यानआर्कषण गराएको छु ।’ सांसद तुलाचनले यसबारे परराष्ट्रमन्त्रीले चिनिया पक्षसँग वार्ता गरेर निर्णय लिने आश्वासन प्राप्त भएको बताए ।
उत्तरी कोरला नाकामा चिनिया पक्षले ३ वर्षदेखि भन्सार, अध्यागमन लगायत पूर्वाधार निर्माणको काम अघि बढाएको थियो । चीनले अहिले कोरलामा अत्याधुनिक अस्पताल भवन बनाउने काम गरिरहेको छ । चीनले सीमाको करिब ३० किलोमिटर पठारमा सैनिक क्याम्पसमेत राखेको छ ।

चीनले कोरला नाकामा धमाधम भौतिक पूर्वाधार निर्माण गर्दै गर्दा नेपालले पूर्वाधार निर्माण गर्न चासो दिएको पाइएको छैन । भारतीय नाकाबन्दीपछि सरकारले महत्व दिएको उत्तरी कोरला नाका पूर्वाधारको काम अघि बढ्न नसकेको हो ।

Advertisement

सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत कोरला पूर्वाधारको काममा बजेटले सम्बोधन गर्न सकेन । सरकारले उत्तरी कोरलानाका भन्सार लगायतको पूर्वाधार निर्माण गर्न जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएको थियो । सरकारले जग्गा प्राप्तिका लागि सिडिओको संयोजकत्वमा नापी, मालपोत लगायतको समितिले कोरलामा जग्गा नापजाच ग¥यो । जसअनुसार कोरला नाकाको दशगजायता कोरला सडकको दायाँबायाँ हजार रोपनी जग्गा भन्सारको नाममा दर्ता गर्ने काम सम्पन्न गरिसकेको सांसद तुलाचनले जानकारी दिए ।

सांसद तुलाचनले जोमसोम –कोरला सडकको कालोपत्रे गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेर मन्त्री ज्ञवालीसमक्ष प्रस्ताव गरेका छन् । २०७४ सालदेखि सुरु भएको राष्ट्रिय गौरवको जोमसोम–कोरला ग्राभेल सडकको काम अहिले ८५ प्रतिशत सम्पन्न भइसकेको छ ।

जोमसोम–कोरला सडकमा ७ प्याकेजमध्ये ३ प्याकेज सडकलाई हस्तान्तरण भइसकेको छ । बाकी खण्डको काम पनि अन्तिम चरणमा छ । २ पटक म्याद सकिएको जोमसोम–कोरला सडकको म्याद असारमा सकिने भएपनि मंसिरसम्म म्याद थपिएको बेनी–जोमसोम–कोरला सडकले जनाएको छ । विश्व व्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको लकडाउनले राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया