वर्ष नबिराई देखियो सापु

समाधान संवाददाता २०७७ जेठ २१ गते २०:०८

अनुप पौडेल, पोखरा

घटना १ : दमौलीकी ३ वर्षीया निशा मगर राति सकुशल सुतेकी थिइन् । तर बिहान उठ्दा उनको आँखा रातो हुन थाल्यो । उनी सुतेको ठाउँमा मरेको सेतो रङको पुतली आमाबुवाले देखे । सञ्चो हुने आशमा एकदिन घरमै बसे । दोस्रो दिन आँखाको दृष्टि कमजोर हुने अनि बिझाउने हुन थाल्यो । आँखा देख्नै छोडेपछि अभिभावकले उनलाई पोखराको हिमालय आँखा अस्पताल ल्याइपुर्‍याए ।

घटना २ : पोखरा–३२ की २१ वर्षीय सीता खड्कालाई वैशाख २४ गतेदेखि एक्कासि आँखा चिलाउने र रातो हुने भयो । २ दिनसम्म घरमै बसेकी उनको आँखाको दृष्टि कम हुन थाल्यो । उनी आँखा अस्पताल पुगिन् । डाक्टरले उनको आँखामा सुई लगाए अनि अप्रेसन गरे । तर उनको आँखा ठिक भएन ।

Advertisement

दुवैको घटनामास्थान फरकफरक भए पनि समस्या एउटै थियो ।सेतो पुतलीको सम्पर्कमा आउँदा दुवैलाई त्यस्तो समस्या देखिएको हो । सेतो पुतलीको संसर्गमा आउँदा सिर्जना हुने समस्यालाई चिकित्सक सापु भन्छन् ।

पछिल्लो १ महिनायता पोखराको हिमालय आँखा अस्पतालमा ४ जिल्लाका ४ जना यस्तै समस्या लिएर आएका छन् । ‘४ जनामध्ये १ जनाको निको भयो, २ जनाको अप्रेसन ग¥र्यौं । १ जना काठमाडौं जान्छु भनेर जानुभयो,’ अस्पतालकाचिफ मेडिकल डाइरेक्टर इन्द्रमान महर्जनले भने ।

Advertisement

तनहुँ र कास्कीका २ जनाबाहेक अरु २ जना स्याङ्जा र पर्वतका रहेको मेडिकल डाइरेक्टर महर्जनले जानकारी दिए । उनले भने, ‘स्याङजाका २८ वर्षे युवक समयमै अस्पताल आएकाले उहाँले अहिले बराबर आँखा देख्नुहुन्छ । पर्वतकी ७ वर्षीय बालिकालाई अस्पताल ल्याइपु¥याउन ढिलो भएकाले पूर्ण आँखा देख्नुहुन्न ।’

२ वर्षको अन्तरालमा देखिने गरेको यो रोग पोहोर साल गण्डकी प्रदेशका जिल्लाहरुमा देखा परेकाले यस वर्ष नदेखिने अनुमान गरिएको थियो । तर, बिरामी आउन थालेपछि विज्ञहरु छलफलमा जुटेका छन् । ‘सधैं वर्ष बिराएर आउँथ्यो । यो वर्ष नआउनुपर्ने हो । यसका विषयमा हामीले छलफल गरिरहेका छौं,’ महर्जनले थपे, ‘वैज्ञानिकलाई पनि सोध्यौं तर उहाँहरु प्नि कन्फ्युजनमा हुनुहुन्छ ।’

सापुको संक्रमण बालबालिकामा बढी हुने आँखारोग विशेषज्ञ डा. हरिमाया गुरुङ बताउँछिन् । ‘संक्रमण र उपचार हेर्दा ठूलो उमरेकालाई भन्दा बच्चालाई यसको संक्रमण बढी हुने पाइएको छ । बच्चाहरुको आँखा एक्दमै छिटो बिगार्छ,’ उनले भनिन् । वर्ष बिराएर देखा पर्ने सापु २ वर्ष लगातार देखा पर्दा जानकारवाला नै अचम्मित परेका छन् ।

झन्डै ४५ वर्ष पहिले विसं २०३२ मा पोखरामा यो रोग पहिलोपटक देखा परेको थियो । लामाचौरमा देखा परेको यो रोगबारे आँखारोग विशेषज्ञ डा. मदन उपाध्यायको टोलीले अध्ययन थालेको थियो । सुरूमा ‘ट्युमर’ भनिएको समस्यालाई पछि डा. उपाध्याय नेतृत्व टोलीको अध्ययनले सिजनल हाइपरएक्युट पानुभिआइटिस (सापु) नाम दिएको हो ।

सापुबारे अध्ययन गरेका डा. उपाध्यायकै शब्दमा अहिलेको सापु कडा किसिमको छ । ‘जम्मा ३÷४ वटा केसमात्र हो भन्न मिल्दैन। तर जति देखिएको छ त्यो कडा खालको छ । त्यसैले थप अध्ययन आवश्यक छ,’ डा. उपाध्यायले भने ।

के कारणले लगातार २ वर्ष देखियो भन्ने यकीन नभए पनि वातावरणले प्रभाव पारेको हुनसक्ने उनले बताए । गत वर्ष र यस वर्षको वातावरणमा भइरहेको परिवर्तनबारे अनुसन्धान भइरहेको डा. उपाध्यायले जानकारी दिए ।

आफैले सतर्कता नअपनाए सापुले कोरोनाको जस्तै रुप लिने उनले बताए । डा. उपाध्यायले भने, ‘नेपालमा कोरोना नदेखिँदा खासै चासो दिइएन । अहिले त धमाधम बढिरहेका छन् । भोलि सापु पनि त्यस्तै नहोला भन्न सकिँदैन । पहिला पनि १ पटक लगातार २ वर्ष देखा परेको थियो ।’

विशेषगरी भदौदेखि मंसिर महिनासम्म देखा पर्ने सेतो पुतलीको संक्रमण कहिलेकाहीँ अरु महिनामा पनि देखिन्छ । सुरुआतका वर्षमा१÷२ जनामा सापुको संक्रमण देखिए पनि अहिले वार्षिक ६० देखि ७० जना यसबाट प्रभावित हुने गरेका छन् । हिमालय आँखा अस्पतालले पोहोरमात्र ३६ जनाको उपचार गरेको थियो ।

कसरी गरिन्छ सापुको उपचार ?

डा. इन्द्रमान महर्जन
चिफ मेडिकल डाइरेक्टर
हिमालय आँखा अस्पताल, पोखरा

आँखा रातो हुनु, चिलाउनु, आँखाको ज्योति कमजोर हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु सापु रोगका लक्षण हुन् । उपचारका लागि आउने कतिले पुतलीसँग खेलेको बताउनुहुन्छ । कतिलाई पुतलीको सम्पर्कमा आएको पनि थाहा हुँदैन । यस्तो पुतली विशेषगरी सेतो बत्तीमा झुम्मिन्छन् ।

ठूलो उमेरकालाई भन्दा बालबालिकालाई यसको संक्रमण छिटो हुन्छ । हामीले आएका बिरामीमा अनुसन्धान पनि ग¥र्यौं । त्यसमा सेतो पुतलीको सम्पर्कमा आएको २४ घन्टाभित्र उपचार गराउन आउनेको ९० प्रतिशतको आँखा निको भएको पाइएको छ ।

त्यसपछि आउनेको भने कतिको निको हुन्छ, कतिको हुँदैन । तत्काल अस्पताल आउनेलाई हामीले सुरुमा आँखामा हाल्ने र खाने औषधि दिन्छौं । त्यसपछि आँखामा सुई हाल्छौं । त्यति गर्दा पनि ठिक नभए आँखाको अप्रेसन नै गर्छौं ।

यो समस्या एउटा आँखामा मात्र देखिन्छ । त्यसैले सकेसम्म सेतो पुतलीको सम्पर्कमा आउनु हुँदैन । झुक्किएर सम्पर्कमा आइहाले जतिसक्दो छिटो अस्पताल पुग्नुपर्छ ।

तपाईको प्रतिक्रिया