डिमर्चाको म्युजिक भिडियो सार्वजनिक

समाधान संवाददाता २०७७ जेठ २२ गते ११:४०

समाधान संवाददाता

चर्चित सांगीतिक ब्यान्ड डिमर्चाको म्युजिक भिडियो सार्वजनिक भएको छ । विश्व नै यतिबेला कोरोनासँग लडिरहेको अवस्थामा ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

कोरोनाको कारण भएको लकडाउन र यसले समाजमा उत्पन्न गरेको अवस्थालाई गीत मार्फत चित्रण गर्न खोजिएको ब्यान्डका गायक भाष्करध्वज श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘गीतले श्रम गरेर खाने हरेक मानिसको कथालाइ बोल्ने मात्रै होइन यो पीडादायी दिनको अन्त्य छिट्टै हुनेछ भन्दै निराश नहुन पनि आग्रह गरेको छ ।’

Advertisement

गीतमा सन्जय बरालको शब्द रहेको छ भने संगीत डिमर्चाकै रहेको छ । म्युजिक भिडियोको छायांकन सन्जय शाक्यले गरेका हुन् भने सम्पादन सविन गायकले गरेका छन् । भिडियोको निर्देशन सञ्चारकर्मी सन्जय मल्लले गरेका हुन् । ‘भिडियोले लकडाउनका कारण सबैभन्दा पीडित बनेका मजदुर र विपन्न परिवारको कथालाई उन्ने प्रयास गरेका छौं ।’ निर्देशक मल्लले भने, ‘समाजको यथार्थ कथालाई यथार्थ पात्र मार्फत नै चरित्रका रुपमा चित्रण गर्न खोजेका छौं ।’ गीतले अहिलेको वास्तविक भोगाइको अनुभूति दिलाउने निर्माण समूहले जनाएको छ ।

पोखरा लेकसाइडको द ट्रेजरको प्रस्तुतिमा बनेको भिडियोमा सञ्चारकर्मी/पत्रकार उत्तम पौडेल, आयुष श्रेष्ठ, शिवचन्द्र परियार, बाल कलाकारहरु निया श्रेष्ठ, स्वीकार मल्ल, आर्य भुजेलको अभिनय रहेको छ ।

Advertisement

पोखराको पहिलो र्याप ब्यान्डको रुपमा परिचित डिमर्चाले विसं २०५५ सालमा पहिलो एल्बम ‘खैलाबैला’ बजारमा ल्याएको थियो । २०५९ मा हुन्देरे, २०६२ मा ‘१, २, ३ भन्दिने हो’, २०६४ मा ‘झ्याम्म–झ्याम्म’ र २०६८ मा ‘कोहि छ किन्ने’ गरि ५ वटा एल्बम बजारमा ल्याइसकेको छ । डिमर्चा ब्यान्डमा गायक भाष्करध्वज श्रेष्ठ, बेस गितारमा विरेन पुन, लिड गितारमा सञ्जय नेपाल, ड्रममा प्रज्वल विक र सफल परियार रहेका छन् ।

अन्य थुप्रै फुटकर गीत समेत रिलिज गरिसकेको डिमर्चाले नेपालको समसामयिक राजनीतिक अवस्थालाई चित्रित गर्ने गीत ‘नेताज्यू नमस्कार’ बोलको गीतको म्युजिक भिडियो पनि यही साताको शुक्रबार सार्वजनिक गर्दैछ ।

तपाईको प्रतिक्रिया