पाल्पामा मृत्यु भएका काेराेना संक्रमितकाे शव सेनाले गाड्याे

समाधान संवाददाता
पोखरा, २२ जेठ
पाल्पाको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कोरोना संक्रमित जेठ १८ गते भारतको मुम्बईबाट गाउँ फर्केको गाउँपालिकाले जनाएको छ ।
पाल्पाको पूर्व खोला गाउँपालिका १ सिलुवा घर भएका ४५ वर्षे पुरुष ती पुरुष मुम्बईबाट सुनौली हुँदै पाल्पा पुगेका थिए । सुनौलीबाट उनी आएको गाडीमा अरु २६ जना पनि रहेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।
उनीहरु सबैलाई पूर्व खोला गाउँपालिका वडा २ जल्पास्थित शम्भु माविको क्वारेन्टाइनमा राखिएको थियो । सँगै आएकामध्ये ती पुरुषलाई उच्च ज्वरो आउने समस्या देखिएपछि सदरमुकाम तानसेनको मिसन अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबारै निधन भए पनि बिहीबार मात्र भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
मृत्यु भएका व्यक्तिमा कोरोना देखिएपछि उनीसँगै आएका अन्यको पनि पिसिआर परीक्षणका लागि नमुना लिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष थापाले बताए । मगर थरका ती व्यक्ति विगत २ दसकदेखि मुम्बईमा कार्यरत थिए । सामान्य आर्थिक अवस्थाका उनको परिवारका अन्य सदस्य गाउँमै खेतीकिसानी गर्दै आएको छ । परिवारमा पत्नी, २ छोरी र १ छोरा छन् ।
नेपाली सेनाको टोलीले जिम्मा लिएर बिहीबार नै उनको अन्तिम संस्कार गरेको छ । उनको दाहसंस्कार कसरी गर्ने भन्ने बारेमा केहीबेर अन्यौल भएको थियो । सरकारले कोरोना संक्रमितको दाहसंस्कार कार्यविधि परिमार्जन गरी आफन्तले लगेर आफ्नो धार्मिक परम्परा अनुसार गर्न सकिने उल्लेख गरेको छ ।
पहिलाको कार्यविधिमा आफन्तले टाढाबाट मात्र हेर्न पाउने तर छुन नपाउने उल्लेख थियो । परिवारसँग गाउँपालिका अध्यक्ष, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले गरेको छलफलका क्रममा उनको दाहसंस्कार नेपाली सेनाको टोलीले नै गर्ने सहमति जुटेको थियो । तानसेन बजारभन्दा पश्चिमको जंगलमा उनको दाहसंस्कार गरिएको (गाडिएको) गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया