मुस्ताङमा जिल्ला बाहिरका कामदार ल्याउन नपाइने

समाधान संवाददाता २०७७ जेठ २२ गते १९:४२

एसके थकाली
जोमसोम

आर्थिक वर्ष सकिन १ महिना मात्र बाँकी रहँदा मुस्ताङका ५ स्थानीयतहले विकास पूर्वाधारका निमित्त टेन्डर आह्वान गरेका छन् । स्थानीय तहले चालु आवको विकास बजेट फ्रिज हुने देखिएपछि विनियोजित बजेट खर्च गर्न विकासको कामलाई अघि बढाउन थालेका हुन् ।


मुस्ताङका स्थानीयतहले चालु विकास बजेट खर्च गर्न जिल्लामा नयाँ कामदार मजदुर भित्र्याउन थालेपछि कोरोना संक्रमणको जोखिम बढेको हो । पछिल्लो समय देशका ६६ जिल्ला कोरोना प्रभावित बनेकाले संक्रमित जिल्लाका कामदार मुस्ताङ ल्याउँदा कोरोनाको थप समस्या जटिल बन्नसक्ने हुनाले जिल्लास्तरीय राहत संकलन तथा व्यवस्थापन समितिले नया कामदार ल्याउन रोक लगाएको छ ।

Advertisement


जिल्ला समन्वय समिति मुस्ताङकी अध्यक्ष छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि बसेको उच्चस्तरीय बैठकले जेठ ३२ गतेसम्म नयाँ कामदार ल्याउन रोक लगाउने निर्णय गरेको जिसस अघिकारी पुष्प कटुवालले जानकारी दिए ।
कोरोना रोकथामका लागि बसेको बैठकले जिल्लामा उपकरण चलाउने अपटेर बाहेक अन्य कामदारलाई जिल्ला प्रवेश गर्न रोक लगाउने निर्णय गरेको हो ।

जिल्लामा काम गर्न आउने नया उपकरण चालक ल्याउँदा निर्माण कम्पनी, ठेकेदार र उपभोक्ता समितिले मुस्ताङ र म्याग्दीका सीमानाकामा अनिवार्य आरडिटी परीक्षण गराएर त्यसको रिपोर्टको आधारमा जिल्ला भित्रिन दिने निणर्य गरेको हो ।

Advertisement

कास्की, चितवन, बागलुङ, रुपन्देही र बर्दिया लगायतका जिल्लाबाट ३ दिन अघि कामदार तथा निर्माण सामग्री लिएर आएका चालक तथा सहचालकमा आरडिटी पोजेटिभ देखिएपछि जिल्लास्तरीय समितिले सीमानाकामा कडाइ गर्ने निर्णय गरेको हो ।

पछिल्लो समयसम्म मुस्ताङबाट १० जना व्यक्तिको स्वाब नमुना पोखराको प्रयोगशालामा पठाइएको छ । जसमध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ जना स्वास्थ्यकर्मी पिसीआर रिपोर्ट आउन बाकी छ ।

जिल्लास्तरीय राहत संकलन तथा व्यवस्थापन समिति र जिल्ला विपद व्यवस्थापन समितिको संयुक्त बैठकले जिल्लामा कोरोना रोकथामका लागि सामूहिक रुपमा प्रतिकार्य गर्ने निर्णय गरेको छ । बैठकमा मुस्ताङका सिडिओ वेदप्रकाश अर्यालले कोरोना नियन्त्रण गर्न ७ बुदे कार्यपत्र पेस गरे । कार्यपत्रमा गण्डकी प्रदेशका केही जिल्लामा कोरोना संक्रमण देखिएकाले सचेत रहनुपर्ने भन्दै स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक भएको सिडिओ अर्यालले बताए ।

कोरोना रोकथाम बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको छ । मुस्ताङको सीमा नाकामा आरडिटी परीक्षणलाई थप प्रभावकारी र विश्वसनीय बनाउने, जिल्लामा आरडिटी पोजेटिभ देखिएकाको स्वाब संकलन गरी पोखरा पठाउन २ वटा सवारी साधनलाई तयारी अवस्थामा राख्ने, आइसोलेसन र क्वारेन्टाइन स्थल र संख्या तोक्ने जिम्मा चिकित्सकलाई दिने, आइसोलेसन र क्वारेन्टाइनमा बिरामी थपिए पालिकामा रहेका स्वास्थ्यकर्मी खटाउने लगायतको निर्णय गरेको छ ।

बैठकले हिमपात र कोरोनाले सिर्जित लकडाउनका कारण चालु आवका विकास योजना सम्पन्न हुने अवस्था नरहेकाले जिल्लाको विकास बजेट फ्रिज हुने एवं आयोजना अधुरो रहने हुँदा हिमाली जिल्ला मुस्ताङका लागि कात्तिक मसान्तसम्म थप गर्न कानुनी तथा नीतिगत व्यवस्थापनका लागि संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेका सिडिओ वेदप्रकाश अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया