युएई र म्यानबारबाट १ सय ९४ नेपाली फर्क‌दै

समाधान संवाददाता २०७७ जेठ २३ गते ६:४३

काठमाडाैं

युनाइटेड अरब इमिरेट्स र बिम्स्टेक सदस्य मुलुक म्यान्मारले आफ्नै खर्चमा १ सय ९४ जना नेपालीलाई स्वदेश फर्काउँदैछ।

यूएईले एक सय ६८ र म्यानमारले २६ जना नेपाली पठाउन लागेको हो। उनीहरू आज काठमाडाैं आइपुग्दै छन्। फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्दैन।

Advertisement

म्यान्मार र यूएईले कोरोना भाइरस संक्रमण फैलिएपछि ती मुलुकमा अलपत्र परेकामध्ये १ सय ९४ नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन्। यूएईले आफ्नोमा अलपत्र परेकालाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो। म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जनाए।

म्यान्मारबाट २६ जना नेपाली ल्याउन नेपाली ल्याउन परराष्ट्र मन्त्रालयको पहलसँगै सेनाले त्यहाँको सेनासँग आग्रह गरेको अधिकारीहरूले बताए। नेपाली सेनाको आग्रहलाई स्विकार्दै म्यान्मारको सेनाले आफ्ना दुईवटा विशेष जहाजबाट त्यहाँ अलपत्र परेका नेपालीलाई ल्याउन तयार भएको हो। म्यान्मारले आफ्नो सेनाको दुई वटा विशेष जहाजबाट २६ जना नेपाली ल्याउँदै छ।

Advertisement

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले म्यान्मार र यूएईबाट आउने नेपालीलाई व्यवस्थापन गर्ने प्रक्रिया पूरा भइसकेको बताए। विमानस्थल ओर्लिएपछि उनीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ। स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको शंका भएमा त्यस्ता व्यक्तिलाई सीधै कोभिड अस्पताल लगिनेछ।

अन्यलाई कोभिड १९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर ९सीसीएमसी० ले प्रदेश अनुरुप तोकेको होल्डिङ क्षेत्रमा राखिनेछ। त्यसपछि सम्बन्धित प्रदेशसँगको समन्वयमा उनीहरूलाई सम्बन्धित पालिकामा पुर्‍याएर क्वारेन्टाइनमा राखिनेछ।

१४ दिने क्वारेन्टाइन बसाइका क्रममा कोरोना भाइरसको संक्रमण नदेखिएमा उनीहरू आफ्नो घर जान सक्ने गरी तयारी गरिएको छ। क्वारेन्टाइनमा रहेका बेला कोरोना भाइरसको संक्रमण देखिए उनीहरूलाई प्रदेशस्थित कोभिड अस्पतालमा भर्ना गरिनेछ।

सिसिएमसीको संयोजनमा म्यान्मार र यूएईबाट नेपालीहरू फिर्ता ल्याउन लागिएको हो। म्यान्मारबाट आउनेहरूमा बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ४, प्रदेश १ का ४ र प्रदेश ५ का १ जना छन्।

यूएईबाट आउने १ सय ६८ मध्ये प्रदेश १ का १ सय ३३ जना र बाँकी गण्डकी प्रदेशका रहेको उल्लेख छ। यूएईबाट आउने यात्रुको संख्या घटबढ भएकाले प्रदेशअनुसार यात्रुको विवरण प्रस्ट भइसकेको छैन। म्यान्मार र यूएईबाट आएका सबैलाई सिसिएमसीले बनाएको कार्ययोजनाअनुसार व्यवस्थापन गरिनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई प्रदेशबमोजिम तोकिएको होल्डिङ क्षेत्रमा राखिनेछ।

सिसिएमसीले प्रदेश १ का यात्रुको व्यवस्थापनका लागि १ हजार जना क्षमताको भक्तपुरको सूर्यविनायकस्थित इम्पेरियल पार्टी प्यालेस र ठिमीस्थित हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ क्षेत्र तोेकेको छ। बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का यात्रुलाई काठमाडौंको सुकेधारास्थित मिराकल र स्काइजोन पार्टी प्यालेस, बसुन्धारास्थित यती र कुण्डलिनी पार्टी प्यालेसलाई होल्डिङ क्षेत्र तोकेको छ। उपत्यकामा बस्ने यात्रुलाई समेत सुकेधारा र वसुन्धाराकै पार्टी प्यालेसमा राखिनेछ।

तपाईको प्रतिक्रिया