कोरोनाको कहरमा रमाएको पर्यावरण
झलकराज पाैडेल
व्रह्माण्डमा रहेका जतिपनि जैविक, अजैविक अवयवहरुको सामूहिक स्वरुप र तिनीहरु अन्तरक्रिया एवं अन्तरसम्वन्धबाट उत्पन्न परिवेश वातावरण हो। वातावरणको कारणले गर्दा पृथ्वीमा मानिस लगायतका जीव जीवात्माहरु अस्थित्वमा छन्। सन्तुलित र स्वस्छ वातावरणले नै मानव जीवनलाई स्वस्थ, सुखी र खुशी तुल्याउँदछ। वातावरण, पारिस्थितिक प्रणाली र जैविक विविधता संरक्षण बीच अन्योन्याश्रित सम्वन्ध छ। जैविक विविधताको संरक्षण र पारिस्थितिक पद्धतिले वातावरण सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्दछन्।
वातावरण संरक्षण कायम राख्न र वातावरणको प्राकृतिक स्वरुप क्षय गर्न मानिस स्वयं कै ठूलो भूमिका हुन्छ। मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष, जानी वा नजानीकन दिनानुदिन वातावरणको प्राकृतिक अस्तित्वलाई नष्ट गर्दै गइरहेको छ। स्वाभाविक रुपमा मानिस चिन्तनशील र उन्नतोन्मुख प्राणी हो। यथास्थितिलाई शिरोधार्य गरी चित्तोशान्ति गर्ने र रमाउने स्वभाव नभएको कारणले नै होला निमेष-निमेषमा उसले आफ्नो प्रगति, उन्नति र अग्रगमनका पाइलाहरु लम्काइरहेको हुन्छ।
त्यसैले त आज विज्ञान तथा प्रविधिको क्षेत्रमा उसले अलौकिकता र चामत्कारिकता प्राप्त गर्न सफल भएको छ। यहि उन्नति, प्रगति, विकास र चमत्कारिताका नाउँमा प्रकृति र वातावरणको प्राकृतिक स्वरुप र वातावरणीय प्रभावलाई बेवास्ता गर्दा आज मानव जीवनको लागि अति नै महत्वपूर्ण पक्षको रुपमा रहेका वातावरणीय तत्वहरुको दिनानुदिन स्खलन भइरहेको छ।
विश्वव्यापीकरण, औद्योगिकीकरण, शहरीकरण, यान्त्रिकीकरण, आधुनिकिकरण आदिको अगुणकारी उपयोग, बढ्दो सवारी साधन, आणविक र रासायनिक तत्वको बढ्दो संसर्ग, अव्यवस्थित शहरीकरण, प्राकृतिक स्रोत साधन माथिको अत्याधिक दोहन, तीव्र जनसंख्या वृद्धि जस्ता मानवीय क्रियाकलापसँगै विश्वभर विशेषगरी विकसित र औधोगिक राष्ट्रहरुबाट भएको अत्याधिक कार्वन उत्सर्जनबाट आज विश्वव्यापी रुपमा वातावरणीय विनास भइरहेको छ।
फलतः जलवायु परिवर्तन, विश्वव्यापी उष्णता, आणविक हिउँद, अम्लिय वर्षा, जैविक विविधतामा ह्रास, हरितगृह प्रभाव, ओजोन तहको विनाश आदिबाट मौसमको स्वरुपमा परिवर्तन, अतिवृष्टी, अनावृष्टी, प्राकृतिक एवम् दैविक प्रकोपजन्य भूक्षय, बाढी पहिरो, भूकम्प, खडेरी, कृषि उत्पादनमा ह्रास, मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव, खाधान्न संकट जस्ता जटिलताको सामना गरिरहेका छौं।
त्यस्तै मौसममा आएको अशोभनीय फेरबदल, पृथ्वीको तापक्रममा आएको क्रमिक वृद्धिले हिमालको हिँउ पग्लिने, सामुन्द्रिक सतहमा वृद्धि भई तटीय क्षेत्रहरु डुबानमा पर्ने, हिमाली भेगमा रहेका हिमतालहरु फुट्ने, हिउँ पहिरो, सुख्खा पहिरो जस्ता खतराहरुबाट मानव जीवन प्रत्यक्ष जोखिमको शिकार बन्नुको साथै स्थलीय, जलीय पारिस्थितिक प्रणालीमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संकट परिरहेको अवस्था छ। यसर्थ, विकसित र औधोगिक राष्ट्रहरुले वातावरणीय क्षेत्रमा गरेको अकर्मन्यता र हेलचक्र्याईको प्रत्यक्ष नियती भोग्नुपर्ने वाध्यता नेपाल लगायतका कम विकसित राष्ट्रहरुको लागि भयावहको स्थिति बनिसकेको छ, जसको वातावरण विनासमा नगन्य रुपमा मात्र भूमिका रहेको छ।
उद्योग, कलकारखाना तथा सवारीसाधनहरू बन्द भएकोले त्यसबाट उत्सर्जन हुने हरितगृह ग्यासहरूमा उल्लेखनीय कमी आउँदा काठमाण्डौं लगायतका ठूला र बढी भिडभाड हुने शहरहरु अप्रत्यासित सुन्दर देखिन थालेका छन् ।
अन्तराष्ट्रिय प्रयास
जलवायु परिवर्तनको एजेण्डा र वातावरणीय एजेण्डा आज विश्ववापी रुपमा सर्वाधिक चासो र चिन्तनको विषयको रुपमा रहेको छ। वर्तमान समयमा वातावरणमैत्री विकास, हरित विकास, प्रकृतिमैत्री विकास जस्ता अवधारणाहरु अगाडि सारिएको छ। वर्तमानका विकासका गतिविधिहरुले भावी पुस्ताका अधिकारलाई हनन गर्न नहुने गरी विकासलाई वातावरण सापेक्ष र सन्तुलित रुपमा अगाडि बढाइनुपर्ने मान्यताको विकास भइरहेको छ। विश्वव्यापी रुपमा विकास प्रक्रियामा आएको तिव्रतासँगै प्रकृतिमा उपलब्ध स्रोतको दीगो उपयोगद्वारा पृथ्वीको धान्नसक्ने क्षमता ह्रास हुन नदिनको लागि वातावरणमैत्री विकासको अवधारणा ल्याइएको हो। यस सम्वन्धमा अन्तराष्ट्रिय स्तरमा सन् १९७२ मा UNEP को स्थापना, सन् १९८३ मा गठित ब्रुटल्याण्ड कमिसनको सन् १९८७ मा पेश गरिएको प्रतिवेदन, सन् १९९२ को रियो सम्मेलनमा एजेण्डा २१ पारित, सन् १९९७ मा क्योटो प्रोटोकल पारित, सन् २००७ को वाली सम्मेलन, सन् २००९ को कोपनहेगन सम्मेलन तथा त्यसपछिका विभिन्न कोप सम्मेलनहरु (हालसम्म २४ वटा कोप सम्मेलनहरु सम्पन्न भइसकेका), जलवायु परिवर्तन र जैविक विविधता संरक्षणका लागि विश्वस्तरमा भएका विभिन्न सन्धी, महासन्धी, सम्झौता र प्रतिवद्धताहरु आदिको माध्यमबाट वातावरणीय विनास, जैविक विविधता संरक्षणमा प्रतिकूलता, पारिस्थितिक प्रणालीमा ह्रास, हरितगृह ग्याँसको अस्वाभाविक उत्सर्जन लगायतका सवालहरुलाई एउटा गम्भीर मानवीय संकटको रुपमा औल्याई तिनीहरुको न्युनीकरणको लागि व्यक्तिस्तर देखि राष्ट्रिय, अन्तराष्ट्रिय स्तरसम्म आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने र वातावरण संरक्षणको लागि महत्वपूर्ण भूमिका वहन गर्नुपर्ने वस्तुनिष्ठता प्रकट गरेको छ। सोही अनुरुप अन्तराष्ट्रिय स्तरमा संयुक्त राष्ट्र संघ लगायत अन्य क्षेत्रगत संघ सस्था र निकायहरुले पर्यावरण संरक्षणको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेका छन्।
राष्ट्रिय प्रयास
वातावरणीय विनास र जलवायु परिवर्तनको असरबाट बढी प्रभावित हुने विश्वका थोरै देशहरु मध्ये नेपाल पनि एक हो। यस परिस्थितिको सामना गर्न अर्थात वातावरण संरक्षण कायम गर्नको लागि अन्तराष्ट्रिय र क्षेत्रीय रुपमा गरेका प्रतिवद्धताहरु साथै विभिन्न अन्तराष्ट्रिय सम्मेलनहरुमा नेपाल सहभागी भई पीडित राष्ट्रका तर्फबाट बुलन्दित सशक्त धारणाहरु ग्लामरको रुपमा रहेका छन्। त्यसैगरी नेपालले संवैधानिक रुपमा संविधानको मौलिक हक मै उल्लेख गरी वातावरण संरक्षणमा बेवास्ता गर्ने उपर कानूनी उपचारको समेत व्यवस्था गरेको छ भने राज्यको मार्गनिर्देशक शिद्धान्तको रुपमा दीगो विकासको लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्दै र वातावरणको स्वच्छता कायम गरी विकास निर्माणका कार्यहरु सञ्चालन गर्नुपर्ने जस्ता संवैधानिक व्यवस्था अङ्गिकार गरेको छ।
त्यस्तै नीतिगत रुपमा वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावली, २०५४, सो ऐनको पहिलो संशोधित वातावरण संरक्षण ऐन, २०७५ का अलवा बन ऐन, २०४९, जल उत्पन्न प्रकोप व्यवस्थापन नीति, २०७२, भू-उपयोग नीति, २०७२ समेतका नीतिहरुले वातावरण संरक्षण एवम् सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्दछन्। त्यसैगरी छैटौं योजना देखि नै वातावरण र भू-उपयोग नीति, सातौं योजनामा विकासमा वातावरणीय प्रभाव मूल्याङ्कन, आठौं योजनामा दीगो विकासको अवधारणागत नीति अघि सारेको र नवौं योजना देखि हालसम्मका योजनाहरुमा दीगो विकास र वातावरण संरक्षणका विषयलाई निरन्तर रुपमा सम्वोधन गरेको पाइन्छ। संस्थागत रुपमा वातावरण मन्त्रालय, वातावरण परिषद, वातावरण विभाग, प्रदेश सरकार, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय लगायतले वातावरण संरक्षण, फोहोर मैला व्यवस्थापन तथा सरसफाई अभियान, भवन निर्माण मापदण्ड निर्धारण, विभिन्न विकास आयोजनाहरु सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन परिक्षण गर्नुपर्ने लगायतका क्रियाकलाप एवम् कदमबाट वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नको लागि गरिएका व्यवस्थाहरु महत्वपूर्ण छन्।
कोभिड-१९ मा वातावरण
अहिले हामी अत्यन्तै कठिन परिस्थितिमा छौं। हाम्रो सामु महामारीको रुपमा आइपरेको कोभिड-१९ का कारण विश्वभर मानिसहरु लकडाउनमा छन् । उद्योग, कलकारखाना, स्कुल-कलेज, मठमन्दिर, यातायात, सपिङ महल, बजार, सिनेमा हल लगायत बन्दप्रायः छन् । अत्यावश्यक नभई मानिसहरु बाहिर निस्कन छोडेका छन् ।समाजको आर्थिक, सामाजिक, साँस्कृतिक गतिविधिहरु निष्कृय छन्। उल्लेखित समग्र क्षेत्रहरुमा यसले पार्ने दूरगामी असरको आँकलन छर्लङ्गै छ । तर पनि वातावरणीय प्रभावका दृष्टिले केहि सकारात्मक संकेतहरू भने देखिएका छन् ।
उद्योग, कलकारखाना तथा सवारीसाधनहरू बन्द भएकोले त्यसबाट उत्सर्जन हुने हरितगृह ग्यासहरूमा उल्लेखनीय कमी आउँदा काठमाण्डौं लगायतका ठूला र बढी भिडभाड हुने शहरहरु अप्रत्यासित सुन्दर देखिन थालेका छन् । सदैव फोहोर ओसारेर दिक्क भएका नदीहरु कञ्चन बोक्न थालेका छन्। जलचर तथा जंगली जनावरहरुको उपस्थिति उल्लेख्य मात्रामा बाक्लिएको अनुभूति भएको छ। धरती माता आफ्नो मौलिक सुन्दरता प्राप्त गर्न पाएको त्यसै फुरुङ्ग छिन्। एक अध्ययन अनुसार कोलकत्ता, दिल्ली, मुम्बई, बैंग्लोरजस्ता अत्याधिक प्रदूषित सहरहरूमा नाइट्रस अक्साइड जस्ता हानिकारक ग्याँसको उत्सर्जनमा गिरावट आएको छ। ती प्रदुषित शहरहरुले थोरै भएपनि सुन्दरताको श्वास फेर्ने अवसर पाएका छन् ।
वातावरण दिवसको सन्दर्भः
वातावरण संरक्षणका लागि विश्व स्तरमै सामाजिक र राजनीतिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गर्यो। उक्त सम्मेलनले वातावरण संरक्षणको आवश्यकता महशुस गरी सन् १९७३ जुन ५ मा विश्व वातावरण दिवस पहिलो पटक मनाउन सुरु गरेको हो। त्यसै समयदेखि संयुक्त राष्ट्र संघको अग्रसरतामा हरेक वर्ष भिन्न देशको आयोजनामा भिन्न नाराका साथ जुन ५ का दिन विश्व वातावरण दिवस मनाउँदै आइरहेको छ। यस वर्ष पनि “प्रकृतिका लागि समय” नाराको साथ जर्मनीको समर्थन र कोलम्बियाको आयोजनामा ४८ औं विश्व वातावरण दिवस मनाइँदै छ। जसको मूल ध्येय जैविक विविधताको संरक्षण मार्फत मानिस र पृथ्वीलाई बचाउने नै हो। विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिइरहेको कोभिड-१९ को प्रभावले यस वर्ष विगतका कार्यक्रम झैं नहुने निश्चित छ। नेपालले पनि सन् १९७६ देखि उक्त दिनको अवसर पारेर हरेक वर्ष वातावरण संरक्षण गर्ने उद्देश्यले विशेष कार्यक्रमहरु आयोजना गरी वातावरण दिवस मनाउँदै आइरहेको छ। वातावरण मन्त्रालय र वातावरण विभागले वायुको गुणस्तरीयता कायम गर्ने क्रियाकलापमा सहयोग गर्ने अभिप्रायले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाउँदै आइरहेको छ।
वातावरणीय क्षेत्रमा क्रियाशिल विभिन्न सरकारी, गैरसरकारी तथा सामुदायिक संघ संस्थाहरु, नागरिक समाज, टोल सुधार समूह, आमा समूह, विभिन्न अन्तराष्ट्रिय तथा स्थानीय तहका क्लव, सामुदायिक तथा निजी विद्यालय, विश्वविद्यालय तह लगायतबाट वातावरण दिवसको अवसर पारेर विभिन्न ढङ्गले कार्यक्रमहरु गर्दै आइरहेका हुन्छन्। यसका अलावा अन्य कुनै विशेष अवसरमा समेत वातावरण संरक्षण तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेका हुन्छन्। वातावरण सन्तुलन र स्वच्छन्ताको लागि यस दिनको अवसर पारेर वृक्षारोपणका कार्यक्रम गर्ने, सामूहिक सरसफाई अभियान सञ्चालन गर्ने, वातावरण विनास, कार्वन उत्सर्जन न्युनिकरण, बन विनासबाट हुने असर बारे गोष्ठी, कार्यपत्र लगायत सचेतनामूलक कार्यक्रमहरु विगत देखि सञ्चालन गर्दै आइरहेका थिए। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) संक्रमणले आजको दिनमा यस अवसरलाई पनि नराम्रो प्रभाव परिरहेको छ। यस वर्ष भने विगतका वर्षहरुमा झैं तामझामका साथ उपरोक्तानुसारका कार्यक्रमहरु सञ्चालन गर्ने स्थिति रहेन। यद्यपि वातावरण संरक्षणमा योगदान गर्दै आइरहेका, वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर संरक्षणको लागि सचेतना प्रदान गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुले भने विश्व स्वास्थ्य संगठनले तोकेका न्युनतम मापदण्डहरु अवलम्वन गर्दै केहि त्यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा आँकलन गरिन्छ। जसले यो संक्रमणकालीन अवस्थामा पनि वातावरण स्वच्छन्दता कायम राख्नमा पक्कै पनि थप भूमिका खेल्ने छ।
अन्त्यमा, विभिन्न राष्ट्रहरुको प्राविधिक, आर्थिक, भौतिक विकासको होडबाजी र प्रतिस्पर्धात्मक मनोवृत्तिले आज वातावरण र विकास एक अर्कामा अन्तर विरोधीको रुपमा देखिएको छ। विकासका नाममा विनास गर्ने यहि पद्धति रहने हो भने भोलि मानव जीवन अझै ठूलो जोखिममा नपर्ला भन्न सकिदैन। “खति भएपछि अति हुन्छ” प्रकृतिले पनि आफ्नो सन्तुलन कायम राख्न उपाय खोज्नु नै पर्ने हुन्छ। आफूले गरेको विनासको परिणती भोग्दै छौं यतिबेला। संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले एउटा गतिलो पाठ सिकाएको छ। प्रदूषण र वातावरणीय विनाशका जिम्मेवार पक्ष हामी नै हौं । तसर्थ, कोरोना कहर पछाडि पनि वातावरणीय पक्षमा हामी संयमित हुन सकेनौ भने यस्ता विपत्तिहरु बारम्बार बेहोर्नुको विकल्प हुनेछैन । यो एउटा बहुआयामिक र अन्तराष्ट्रिय स्तरको सवालको रुपमा रहेको हुँदा एउटा सिङ्गो राष्ट्रको एकल प्रयासबाट मात्र वातावरणीय संरक्षण सम्भव हुदैन। यसको लागि व्यक्ति, समाज, समुदाय, राष्ट्र र अन्तराष्ट्र सबैको उत्तिकै भूमिका र दायित्व रहनेछ। विशेषतः तोकिएको मापदण्ड बमोजिमको अनुशासनमा रहेर यो चुनौतिको सामना गर्दै वातावरण संरक्षणमा विशेष सचेत हौं वातावरण दिवसको शुभकामना।
तपाईको प्रतिक्रिया