गण्डकी सरकारको राजपत्रमै गम्भीर त्रुटि
समाधान संवाददाता
पोखरा
गण्डकी सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गम्भीर त्रुटिसहित २ वटा राजपत्र प्रकाशन गरेको छ ।
वैशाख २४ गते प्रकाशित गण्डकी प्रदेश सभाको ५ औं अधिवेशन अन्त्य र जेठ ५ मा प्रकाशित छैटौं अधिवेशन आह्वान सम्बन्धी सूचना समेटेर प्रकाशन गरिएका २ राजपत्रमा गम्भीर त्रुटि गरिएको हो ।
दुवै सूचनामा राजेन्द्र न्यौपानेलाई गण्डकी प्रदेश सरकारका निमित्त सचिव उल्लेख छ । जबकि न्यौपाने गण्डकी प्रदेश सभाका निमित्त सचिव हुन् ।
वैशाख २४ मा आन्तरिक मामिलाले राजपत्रको खण्ड ३ को अतिरिक्तांक १, भाग ३ र जेठ ५ मा सोही खण्डको अतिरिक्तांक २, भाग ३ प्रकाशन गरेको थियो ।
मन्त्रालयले सच्यायो गल्ती
राजपत्रमै गम्भीर गल्ती भएपछि समाधान प्रतिनिधिले मन्त्रालयका सचिव किरणकुमार शर्मालाई यस बारेमा प्रश्न गर्दा प्रवक्ता काशिराम गैरेसँग सम्पर्क गर्न आग्रह गरे । गैरेलाई यसबारेमा सोध्दा सूचना अधिकारी तथा कानुन महाशाखा प्रमुख लक्ष्मी शर्माको नाम दिए ।
लक्ष्मी शर्माले न्यौपाने प्रदेशसभाकै निमित्त सचिव हुनुपर्नेमा गल्तीवश प्रदेश सरकारको निमित्त सचिव भएको प्रतिक्रिया दिएकी थिइन् । उक्त प्रतिक्रियापछि मन्त्रालयले जेठ १५ गतेको मिति राखेर उक्त गल्ती सच्याएको छ ।
तपाईको प्रतिक्रिया