बन्दाबन्दीमै म्याग्दीमा पुस्तक ढुवानी

म्याग्दी, २३ जेठ
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक जिल्ला भित्रिएको छ । कोरोना भाइरसको जोखिम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका बीच पुस्तक ढुवानी भइरहेको छ ।
शिक्षा मन्त्रालयले लकडाउनको अवस्थामा असार १ गतेदेखि वैकल्पिक व्यवस्था गरेर पठनपाठन गराउन निर्देशिका जारी गरेसँगै म्याग्दीका विद्यालयले विद्यार्थीलाई स्वअध्ययन गराउने तयारीमा जुटेका छन् ।
विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएर विद्यालय नखुले पनि घरमै बसेर पढ्ने वातावरण बनाउन लागेको बेनी–९ नेप्टेचौरको राष्ट्रिय माविका शिक्षक रामचन्द्र शर्माले बताए ।
‘सामाजिक दूरी कायम र लकडाउनको परिपालना गरेर विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन लागेका छौँ,’ उनले भने, ‘वैकल्पिक माध्यमबाट पढाउन भने पनि स्पष्ट नभएकाले पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययन गर्न उपयोगी हुन्छ ।’
भौगोलिक विकटता र प्रविधिको पहुँच नभएका ठाउँमा अनलाइनको माध्यमबाट पठनपाठन सञ्चालन गर्न चुनौती छ । सबै वर्ग र क्षेत्रका विद्यार्थीमा रेडियो–टेलिभिजनको पहुँच पनि छैन ।
विद्यार्थीहरुले घरमै बसेर पढ्ने, अभ्यास गर्ने, सिकाइ वृद्धि र विद्यालय खुलेपछि व्यवस्थापन गर्न सहज हुने भएकाले जेठ महिनाभित्र पुस्तक वितरण गरिसक्ने विद्यालयको योजना छ ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, म्याग्दीले सदरमुकाम बेनीमा सामुदायिक विद्यालयको पुस्तक ल्याएर बिक्रीकक्ष स्थापना गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरास्थित क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी कक्षा १ देखि १० सम्मको पुस्तक आयात भएको छ ।
स्थानीय तहका शिक्षा शाखामार्फत तथ्यांक संकलन गरेर मागका आधारमा पुस्तक ल्याइएको महासङ्घका जिल्ला अध्यक्ष मुकुन्दप्रसाद आचार्यले बताए । ‘पुस्तक अभाव नहोस् भनेर पर्याप्त मात्रामा ल्याएका छौँ,’ उनले भने, ‘टाढाका विद्यालयलाई प्राथमिकता दिएर पुस्तक पठाउन थालेका छौँ ।’
उनका अनुसार पुस्तक अभाव र पूर्ण सेटमा नपाउने समस्या हुन नदिनका लागि लकडाउन भए पनि शैक्षिकसत्र शुरु हुनुअघि नै ढुवानी गरिएको हो । पालिकाले विद्यालयलाई पुस्तक खरिदका लागि माग गरिएकोमध्ये ७० प्रतिशत बजेट पेश्की उपलब्ध गराएका छन् ।
आन्तरिक स्रोत जुटाएर पुस्तक खरिदवापतको रकम भुक्तानी गरिएको रघुगंगा–४ दग्नामको जनता माविका प्रअ गुन पुनले बताए । २ सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा पुस्तक खरिदमा वार्षिक १ करोड बजेट खर्च हुने गरेको छ ।
एउटा कक्षाका लागि एक हजार ७०० देखि २ हजार २५० सेट पुस्तक आवश्यक पर्छ । कोरोनाको जोखिम र लम्बिँदो लकडाउनका कारण तत्कालै विद्यालय खुल्ने सम्भावना नभए पनि पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययनको वातावरण बन्ने अपेक्षा गरिएको छ ।
मङ्गला गाउँपालिकाले तल्लो कक्षाका विद्यार्थीका लागि सिकाइ सामग्री तयार पारेर वितरणको तयारी गरेको शिक्षा शाखा संयोजक डेकबहादुर बानियाँले बताए । बन्दाबन्दीको फुर्सदमा युवाद्वारा श्रमदान कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको लकडाउनका कारण फुर्सदिला बनेका जलजला गाउँपालिकाको वारीबेनीका युवा श्रमदानमा जुटेका छन् ।
वारीबेनीको नवउत्साही समूहको नेतृत्वमा जुगेधाराको खेलमैदान परिसरमा सार्वजनिक शौचालय निर्माण गर्न युवाले श्रमदान गरिरहेका हुन् । युवाले श्रमदान गरेर सार्वजनिक शौचालयको खाडल खनेर पर्खाल निर्माण भएको छ ।
समूहमा आवद्ध युवालाई सामाजिक दूरी कायम गरी सुरक्षा सावधानी अपनाएर शौचालय निर्माणमा परिचालन गरिएको अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए। चार दिनका दरले श्रमदान गरिसकेका छन् ।
दैनिक १५ युवा श्रमदानमा सहभागी भएका छन् । लकडाउनको फुर्सदको सदुपयोग, रचनात्मक कार्य र सामाजिक आवश्यकता पूरा हुने भएकाले शौचालय बनाउन श्रमदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
शौचालय निर्माणका लागि पर्वत क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा रु दुई लाख विनियोजन भएको छ । सो बजेटबाट सिमेन्ट, प्यान, पाइपलगायत निर्माण सामग्रीका साथै ढुवानी गरिने समूहले जनाएको छ ।
खाडल खन्ने, पर्खाल लगाउने, भवन बनाउनेलगायत काममा युवाले श्रमदान शुरु गरेका हुन् । स्थानीयवासी तथा युवाको पहलमा नदी किनारको सार्वजनिक बगर र पाखो सम्याएर खेलमैदान बनाइएको छ । कालीगण्डकी किनारमा निर्माण भएको खेलमैदानलाई सुरक्षित बनाउन नदी नियन्त्रण योजना माग गरेका छन् । रासस







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया