लकडाउनमै पूरा भयो मादीमाथि पुल

समाधान संवाददाता २०७७ जेठ २३ गते १७:५४

समाधान संवाददाता

मादी गाउँपालिकाबासीको एउटा धोको थियो । ज्याम्दुमा मादी नदीमाथि सरर मोटर गुड्ने पुल हुँदै गाउँ आउजाउ गर्ने । धोको पूरा गर्ने सपना देखेका मादीबासी वर्षौंसम्म पर्खे । जब ४ वर्षसम्म अधुरै रहेको ज्याम्दुस्थित पुल ढलान गर्ने तयारीमै थियो, २०७६ असार पहिलो साता आएको भेल बाढीले फर्मा सहित बगायो ।

२०७२ चैतमा हटाैंडाको ठेकेदार कम्पनी मृत सञ्जीवनी निर्माण सेवाले उक्त पुल बनाउने जिम्मा लिएको थियो । उसको म्याद २०७५ वैशाखमा सक्किसकेको थियो । पछि पुनः म्याद थपेर सोही कम्पनीले बल्लबल्ल ढलानसम्म पु¥याएको थियो, बाढीले फर्मा मात्र बगाएन मादी गाउँपालिकाको लाइफलाइन नै बगायो ।

Advertisement

ठेकेदार कम्पनीले हिउँदभरि घाम तापेर बर्खा लागेपछि काममा निस्केको गाउँपालिकाको गुनासो थियो । तत्कालीन जिल्ला विकास समितिबाट ठेक्का पाएर पनि पटकपटक म्याद थप्दा काम नगरेको ठेकेदारलाई अन्तिम म्याद २०७७ असार मसान्तसम्म दिइयो । पछिल्लो समयमा भने थपेको म्यादमा उक्त कम्पनीले आलटाल नगरी १ महिना अगावै काम सकेसँगै मादीबासीको अधुरो सपना पूरा भएको छ ।

मादीको केन्द्र याङ्जाकोट वडा ३ मा छ । उक्त पुलले गाउँपालिकाको ३ र ७ लाई जोड्छ । गाउँपालिकाको मुकाम पुग्ने सडक सहज नहुँदा आर्थिक जनजीवनसमेत प्रभावित बनिरहेको थियो । ८३ मिटर लम्बाइ र साढे ७ मिटर चौडाइको उक्त पुल आरसिसी स्ल्याब मोडलमा बनेको हो । स्वीस सरकारको सहयोगमा ठेकेदार कम्पनीले ८ करोड ६९ लाख रुपैयाँमा ठेक्का पाएको थियो । काउँले, ज्याम्दुर र ताङतिङका बासिन्दालाई पुल सम्पन्न भएसँगै आवतजावतमा सहज हुनेछ ।

Advertisement

मादी नदीमाथिको काठे पुल बर्खालागेसँगै विस्थापित गर्नुपर्ने हुँदा केही दिनमै नयाँ पुल सञ्चालनमा आउने वडा ७ का अध्यक्ष लालबहादुर गुरुङले सुनाए । ‘बर्खा लाग्दा समस्या थियो । म्याद थप्दाथप्दै वर्षौपछि पुल सम्पन्न भएको छ,’ उनले भने, ‘प्राविधिक पाटो हेर्नै बाँकी छ । तर अहिलेलाई पुल प्रयोगयोग्य देखिन्छ ।’ पुलको दुबैतर्फ सहज बाइपासका निम्ति कटिङ र फिलिङको काम भइरहेको उनले बताए ।

लकडाउनका कारण मजदुर फर्किने चिन्ता भएपनि स्थानीयबासीको सहयोगमा मजदुरलाई त्यहीँ व्यवस्थापन गरी काम सम्पन्न भएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

निर्माणाधीन सुपर मादी हाइड्रो कम्पनीले समेत पुल निर्माणमा महत्वपूर्ण सहयोग गरेको उनले बताए । बर्खा लागेसँगै मादीबासीलाई पुल नहुँदा पर्दै आएको समस्या अब भने टर्ने भएको वडाध्यक्ष गुरुङले सुनाए ।

‘पुल सक्न संघीय सांसद, प्रदेश सांसददेखि हामी सबै स्थानीय जनप्रतिनिधि लागिरह्यौं । धेरैपटक म्याद थप्नु पर्यो । अन्तिम म्याद थपमा पनि काम नसकिने हो कि भन्ने चिन्ता थियो अब ढुक्क छौं,’ उनले भने ।

तस्बिर सौजन्य: एक्काजंग गुरुङ

तपाईको प्रतिक्रिया