कसरी संक्रमित भए कास्कीका ६० वर्षे पुरुष, पत्ता लगाउनै मुस्किल !

समाधान संवाददाता २०७७ जेठ २४ गते ९:३७

रामकृष्ण ज्ञवाली, पोखरा

कोठामा बेहोस भेटिएका पोखरा–८ सिमलचौरका ६० वर्षीय पुरुष कसरी कोरोना संक्रमित भए भन्ने रहस्य अझै खुल्न सकेको छैन । यही पत्ता लगाउन पोखरा महानगर पालिका र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनाय खटिएका छन् । तर केही मेसो पाएका छैनन् ।

‘हामीले हिजै देखि ट्रेसिङ सुरु गरेका हौं, अहिले पनि त्यसैमा खटिएको छु ।’ पोखरा महानगर पालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्र बरालले भने–‘उनले खाजा खाने ठाउ पत्ता लागेको छ । अब त्यहा जाँदैछौं ।’ ती पुरुषको खाजा खाने ठाउ पोखरा–८ कै बगाले टोलमा रहेको बरालले जानकारी दिएका छन् ।

Advertisement

प्राध्यापन पेसामा समेत आबद्ध कानुन व्यवसायी ती पुरुषको कोरोना संक्रमण फैलिएको ठाउबाट आएको कुनै ट्राभल हिस्ट्री छैन । धेरै मान्छेसँग घुलमिल गर्ने बानी पनि नभएको उनका साथीहरुले बताएका छन् । अफिस जाने, त्यही खाजा घरमा खाजा खान जाने र आफू बस्ने कोठामा फर्किने गर्दथे ।

पोखरामा कसैलाई पनि नदेखिएको अवस्थामा उनी कसरी संक्रमित बन्न पुगे ? अहिले मुख्य टाउको दुखाई यही भएको छ ।

Advertisement

सिमलचौरस्थित आलुमाइला चोक नजिकै भाडमा बस्ने उनी गत मंगलबार बिहान आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएका थिए । कोठामा एक्लै बस्दै आएका ती पुरुषलाई बिहान काम गर्न जाने महिलाले बेहोस अवस्थामा भेटाएपछि हार गुहार गरेकी थिइन्। लगत्तै उनका साथी भाइहरु पुगेर हस्पिटल पुर्‍याए थिए ।

ती साथी भाइहरु अहिले होम क्वारेन्टिनमा बसेका छन् र उनीहरु मध्ये कसैलाई पनि अहिलेसम्म कोरोना भाइरसको लक्षण देखिएको छैन ।

उपचारका लागि पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज लगिएका उनलाई सो अस्पतालको इमरजेन्सी वार्डमै प्रारम्भिक उपचार गरिएको थियो । श्रोतका अनुसार उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस संक्रमणको कुनै लक्षण छैन ।

मेनिन्जाइटिसका कारण बेहोस भएको भनिएका उनलाई पोखरामा उपचार सम्भव भएन भन्दै हेलिकोप्टर मार्फत काठमाडाैं लगिएको हो । त्यतिबेला उनकाे शरीरमा साेडियमकाे मात्रा निकै कम भएकाे उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनका परिवार काठमाण्डौं मै बस्ने भएकाले परिवारका सदस्य पनि उनको सम्पर्कमा पुगेका छन् । उनीहरुमा पनि कोरोना भाइरस संक्रमणको कुनै लक्षण छैन ।

त्यसो भए उनमा कोरोना भाइरसको पिसिआर रिपोर्ट कसरी पोजिटिभ आयो ? यो रहस्यकै विषय भैरहेको छ ।

उनी पोखरा ८ का पहिलो संक्रमित भएका छन् । यस अघि सो वडामा मात्रै नभएर कास्की जिल्ला मै कोही पनि पोजिटिभ नपाइएकाले संक्रमणको श्रोत खोज्नु झनै चुनौतिपूर्ण बनेको छ ।

गण्डकी मेडिकल कजेलमा यस अघि कोरोना भाइरस संक्रमित कोही व्यक्तीलाई पनि लगिएको छैन । सो अस्पतालबाट काठमाण्डौंको ह्याम्स हस्पिटल लगिएको हो ।

यस्तो अवस्थामा उनी कसरी संक्रमित भए ? मुख्य चुनौति यही छ । यो जति सक्यो चाडो पत्ता लगाउनु जरुरी छ । अहिलेसम्म नेपालमा कोरोना भाइरस समुदायमा बिस्तार नभएको मानिन्छ । यदी यो संक्रमणको श्रोत छिटो पत्ता लगाउन सकिएन र समुदायमा भाइरस संक्रमण भयो भने पोखरा देशकै सबै भन्दा बढी प्रभावित शहर बन्न बेर लाग्नेछैन ।

तपाईको प्रतिक्रिया