गाडी नपाउँदा गाउँमै अड्किए स्याङ्जा हरिनासका २ संक्रमित

समाधान संवाददाता २०७७ जेठ २४ गते १२:२४

अनुप पौडेल, पोखरा

संक्रमितलाई आइसोलेसनमा लैजाने गाडीको व्यवस्था हुन नसक्दा स्याङ्जाको हरिनास गाउँपालिकाका २ संक्रमित गाउँपालिकाकै क्वारेन्टाइनमा अड्किएका छन् ।

कोरोना भएको जानकारी आएलगत्तै गाडीका लागि पहल गरे पनि व्यवस्था हुन नसकेको गाउँपालिका अध्यक्ष खिमनारायण मान्नधरले बताए । ‘पठाउने भनेर तयारी अवस्थामा छौं । गाडीको व्यवस्था हुन सकेको छैन,’ उनले भने, ‘जिल्ला अस्पतालबाट पठाउँछु भन्नुभएको थियो । अहिले पठाउन नसक्ने जानकारी आयो ।’

Advertisement

सीमाबाट उद्धार गर्न गाउँपालिकाले छुट्टै गाडी व्यवस्था गरेको र त्यसलाई उतै पठाउनुपर्ने भएकाले अर्को गाडीको खोजी भइरहेको अध्यक्ष मानन्धरले जानकारी दिए । आज बिहान हरिनास गाउँपालिकाका १८ र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।

दुवैलाई भीरकोट नगरपालिक १ हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका लागि ल्याउने तयारी गरिएको हो । गाउँपालिकाबाट आइसोलेसन झन्डै ३२ किलोमिटर टाढा छ । त्यसमा पनि कच्ची सडक पार गरेर पुग्नुपर्छ ।

Advertisement

संक्रमण पुष्टि भएका १८ वर्षका युवक गाउँपालिकाको वडा नम्बर ६ दग्दीस्थित पिताम्बर माविको क्वारेन्टाइनमा बसेको गाउँपालिकाका हेल्थ असिस्टेन्ट विदुर सिग्देलले जानकारी दिए । उनी जेठ १५ गते अरु ४ जनासहित गाउँपालिकाको क्वारेन्टाइनमा आएका थिए ।

अर्का ४० वर्षीय पुरुष जेठ १२ गते अरु २ जनासहित गाउँपालिकाको वडा नम्बर ४ स्थित जनजागृति मावि क्वारेन्टाइनमा बसेको हेल्थ असिस्टेन्ट सिग्देलले बताए ।

गाउँपालिकाले स्थानीय विद्यालयमा बनाएको क्वारेन्टाइनमा ६१ जना बसेका छन् । २९ जनाको स्वाब संकलन गरेर पठाइएकोमा २ जनाको पोजेटिभ आएको गाउँपालिका अध्यक्ष खिमनारायण मान्नधरले जानकारी दिए ।

बाँकी २७ जनाको रिपोर्ट भने आइनसकेको अध्यक्ष मानन्धरले बताए । आज स्याङ्जाको हरिनास गाउँपालिकाका २ जनासँगै अन्य ८ जनामा कोरोना पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि भएका बाँकी ८ जना वालिङ नगरपालिकाका हुन् । स्याङजामा आज थपिएका १० जनासँगै गरेर संक्रमितको कुल संख्या २३ पुगेको छ ।

अहिलेसम्म वालिङका १३ जना, चापाकोट नगरपालिकाका ४ जना, गल्याङ र हरिनास गाउँपालिकाका २/२ जना, विरुवा गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका १र१ जना छन् । गण्डकी प्रदेशभर भने संक्रमितको सख्या ७५ पुगेको छ ।

तपाईको प्रतिक्रिया