बागलुङमा आइसोलेसन कक्ष थपिँदै

समाधान संवाददाता २०७७ जेठ २४ गते १२:१२

बागलुङ

कोरोना सङ्क्रमित बढेसँगै जिल्लामा आइसोलेसन श्यया अपुग देखिएको छ । धवलागिरि अस्पतालको आइसोलेसन कक्ष सङ्क्रमितले भरिएको छ ।

सदरमुकामस्थित सो अस्पतालमा अहिले १६ सङ्क्रमित उपचाररत छन् । १२ श्ययाको आइसोलेसन कक्ष रहेकामा बिहीबार तत्कालै १० श्यया थपी सङ्क्रमितलाई भर्ना गरिएको थियो । पछिल्लोपटक बडिगाड गाउँपालिकाका चार, गलकोट नगरपालिकाका तीन र निसीखोला गाउँपालिकाका तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

अघिल्लो साता सङ्क्रमण देखिएका तमानखोला गाउँपालिकाका चार र बडिगाडका दुई जना आइसोलेसनमै छन् । भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका बेला उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । जिल्लाका दशै स्थानीय तहमा गरी अहिले एक हजार ४४९ जना क्वारेन्टिनमा छन् ।

Advertisement

क्वारेन्टिनमा बसेकाको परीक्षण बढाइएसँगै सङ्क्रमित थपिने देखिएपछि आइसोलेसनको क्षमता बढाउन लागिएको हो । जिल्ला कमाण्ड पोष्टका अनुसार धवलागिरि अस्पतालमा आइसोलेसन श्यया २४ पु¥याइनेछ । सङ्क्रमित बढ्दै जाँदा उक्त अस्पतालले मात्र चाप धान्न नसक्ने हुँदा जिल्लाका अन्यत्र स्थानमा आइसोलेसन कक्ष बनाउन तयारी अघि बढाइएको हो ।

धवलागिरि अस्पतालअन्तर्गत सञ्चालन हुने गरी बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाकाको समन्वयमा धवलागिरि बहुमुखी क्याम्पसमा ५० श्ययाको ‘प्रि–आइसोलेसनकक्ष’ सञ्चालन गरिनेछ ।

Advertisement

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको समन्वयमा गलकोट प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गत गलकोट नगरपालिका–२ को स्वास्थ्यचौकी भवन, ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको समन्वयमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२÷१२ श्ययाको ‘प्रिआइसोलेसन कक्ष’ बनाइनेछ ।

जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको समन्वयमा कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा १२ श्ययाको ‘प्रि–आइसोलेसनकक्ष’ सञ्चालनमा ल्याइने जिल्ला कमाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूले जानकारी दिनुभयो ।

उहाँका अनुसार दक्ष जनशक्ति र भौतिक सामग्री व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय भएको छ । तत्काललाई प्रदेशको सामाजिक विकास मन्त्रालयमा रु २५ लाख बजेट प्रस्ताव गरिएको छ । “स्वास्थ्य अवस्था सामान्य रहेका र लक्षण नदेखिएका सङ्क्रमितलाई प्रि–आइसोलेसन कक्षमा राख्ने गरी व्यवस्था मिलाउँदैछौँ”, प्रजिअ सैँजूले भन्नुभयो, “कोरोनाको लक्षण देखिएर उपचार गर्नुपर्ने भएमा मात्र अस्पताल ल्याउँछौँ ।” प्रि आइसोलनकक्षमा रहँदा पनि सङ्क्रमित चिकित्सक, स्वास्थ्यकर्मीको विशेष निगरानीमा रहनेछन् ।

सदरमुकामस्थित निलगिरि अस्पतालले तीन, मुक्तिनाथ अस्पतालले दुई, सफल पोलिक्लिनिकले एक र गलकोट नगरपालिका–३ हटियास्थित आरोग्य अस्पतालले दुई श्यया आइसोलेसनका लागि छुट्याए पनि प्रयोगमा आएका छैनन् । आइसोलेसनमा सङ्क्रमित भर्ना गर्न निजी अस्पताल झट्टै तयार हुने छाँटकाँट देखिएको छैन ।

कोरोनाका शङ्कास्पद बिरामीलाई समेत आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने भएकाले श्यया अभाव भएको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताउनुभयो । “लक्षण नेदेखिएका र सामान्य अवस्थाका सङ्क्रमित होम आइसोलेसनमासमेत बस्न मिल्ने गरी निर्देशिका आइसकेको छ”, प्रमुख चिकित्सक पोखरेलले भन्नुभयो ।

जिल्लामा सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य छ । गत चैतमा सङ्क्रमण पुष्टि भएका १९ वर्षीया युवती र ६५ वर्षीय महिला धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् । दुवै बेल्जियमबाट आउँदा सङ्क्रमण देखिएको थियो । जिल्लामा सङ्क्रमितको कूल सङ्ख्या १८ पुगेको छ । निको हुनेको सङ्ख्या दुई छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भारतबाट आइ क्वारेन्टिनमा बसेका सबैको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताउनुभयो ।

अहिलेसम्म भारतबाट आएका झण्डै ४०० जनाको कोरोना परीक्षण गरिएको छ । पोखरास्थित जनस्वास्थ्य प्रयोगशालाको सीमित क्षमताका कारण स्वाब परीक्षणमा ढिलाइ भइरहेको छ । रासस

तपाईको प्रतिक्रिया