त्रासमा बाँचिरहेको स्याङ्जाको गाउँ : संक्रमितलाई आइसोलेसन पुर्‍याउन १२ घन्टा !

समाधान संवाददाता २०७७ जेठ २५ गते ७:३०

अनुप पौडेल, पोखरा

शनिबार बिहानै स्याङ्जाको हरिनास गाउँपालिकामा २ जना कोरोना संक्रमित भेटिएको खबर सार्वजनिक भयो । संक्रमित भेटिएपछि गाउँभर हल्ला फैलियो । गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरलाई बिहानै ७ बजे स्वास्थ्य महाशाखा प्रमुखले फोन गरेर संक्रमित भेटिएको खबर सुनाए ।

खबर पाएलगत्तै अध्यक्ष मानन्धर संक्रमितलाई अस्पताल लैजान गाडीको खोजीमा जुटे । ‘सबैभन्दा पहिले सिडिओलाई खबर गरें । उतैबाट पठाउँछौं भन्नुभो । ‘टु विह्ल’ गाडी गाउँको कच्ची बाटोमा उक्लिँदैन भन्ने भएपछि आफैं खोज्नुस् भन्नुभो,’ अध्यक्ष मानन्धरले सुनाए ।

Advertisement

उनले गाउँपालिकाका सबै जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका नेतालाई खबर गरे । सबै जना संक्रमितलाई ओसार्ने गाडी खोज्न लागिपरे । तर प्रयास असफल भयो ।

जनप्रतिनिधिको ९ घन्टा संक्रमित बोक्ने गाडी खोज्दाखोज्दै भोकभोकै बित्यो । गाउँसम्म सडकको सुविधा भए पनि बेलाबखत पहिरो खस्छ । सीमाबाट गाउँसम्म ल्याउन गाउँपालिकाले भाडामा लिएको जिप त्यही पहिरोमा पर्‍यो । केही विकल्प नभएपछि जिपमा संक्रमितलाई हालेर आफैले अस्पताल पुर्‍याउने मनस्थितिमा अध्यक्ष मानन्धर पुगे ।

Advertisement

उनले आफ्ना स्वकीय सचिव र गाउँको सुरक्षामा खटिएका प्रहरीलाई मोटरसाइकलमा आउन भने । त्यत्तिकैमा उद्धारका लागि खटिएका स्थानीय जिप चालकले संक्रमितलाई अस्पताल पुर्‍याउने दृढता देखाए ।

‘पालिकाभर ४२ वटा जिप छन् । तर मानव उद्धारलाई नपाइने देखियो,’ अध्यक्ष मानन्धरले थपे, ‘अर्को एउटा जिप मगाएर आफै लैजान्छु भन्ने तयारीमा थिएँ । हामीले उद्धारका लागि राखेको जिपको भाइले म लैजान्छु भने ।’ त्यसपछि जिप चालकले पिपिइ लगाएर आफू सुरक्षित भएर संक्रमितलाई अस्पताल लगे ।

कोरोना पुष्टि भएका १८ र ४० वर्षका पुरुष झन्डै ४५ किलोमिटरको दुरी साढे २ घन्टामा पार गरेर आइसोलेसन पुगे । अन्तत २ संक्रमित १२ घन्टामा आइसोलेसन पुगे । दुबैलाई भीरकोट नगरपालिक-१ हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको हो ।

संक्रमितलाई बोकेर अस्पताल पुगेको जिपलाई केही दिन प्रयोगमा नल्याइने र उद्धारका लागि अर्को गाडीको प्रयोग गर्ने गाउँपालिका अध्यक्ष मानन्धरले जानकारी दिए ।

जनमानसमा कोरोनाबारे आवश्यकभन्दा बढी त्रास हुँदा संक्रमितलाई अस्पताल पुर्‍याउन समस्या भएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुली बताउँछिन् । ‘हावाको दुरीबाट पनि सर्छ । संक्रमितले टेकेको ठाउँमा टेक्नै हुँदैन भन्ने बुझाइले समस्या भयो । त्यही सोच परिवर्तन नहुँदाको कारण हो । हामी त्यो बुझाइ चिर्न लागेका छौं,’ उनले भनिन् ।

नयाँ रोग भएकाले पनि बुझाइमा कमी भएको उनले बताइन् । ‘पहिलापहिला कुष्ठ रोगीलाई घरबाट पर जंगलमा लगेर राख्ने चलन थियो रे ! अहिले पनि त्यस्तै बुझाइ भयोजस्तो लाग्छ,’ उनले थपिन्, ‘लाग्ने जति सबैको मृत्यु हुन्छ भन्ने पनि छैन नि । हाम्रै अघि कति जितेर घर गइसके ।’

७ वटा वडा रहेको गाउँपालिकाको १० ठाउँमा क्वारेन्टाइन बनाइएको छ । ती क्वारेन्टाइनमा अहिले भारतबाट आएका ६२ जना बसिरहेका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विदुर सिग्देलका अनुुसार संक्रमण पुष्टि भएका १८ वर्षका युवक गाउँपालिकाको वडा नम्बर ६ दग्दीस्थित पीताम्बर माविको क्वारेन्टाइनमा बसेका थिए ।

उनी जेठ १५ गते अरु ४ जनासहित गाउँपालिकाको क्वारेन्टाइनमा आएका थिए । अर्का ४० वर्षीय पुरुष जेठ १२ गते अरु २ जनासहित गाउँपालिकाको वडा नम्बर ४ स्थित जनजागृति मावि क्वारेन्टाइनमा बसेको सिग्देलले बताए ।

२९ जनाको स्वाब संकलन गरेर पठाइएकोमा २ जनाको पोजेटिभ आएको शाखा प्रमुख सिग्देलले जानकारी दिए । बाँकी २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ जनाको रिपोर्ट आउन बाँकी छ ।

हरिनास गाउँपालिका २ चिसापानी स्वास्थ्यचौकीमा आरडिटी परीक्षणका लागि रगतको नमुना संकलन गर्दै स्वास्थ्यकर्मी

कोरोना फैलिन नदिन आफूहरुले सक्दो प्रयास गरिरहे पनि गाउँकै बुद्धिजीवि वर्गले साथ नदिँदा थप समस्या भइरहेको शाखा प्रमुख सिग्देलले सुनाए । ‘गाउँका मानिस त्रासमा हुनुहुन्छ । हामीले क्वारेन्टाइनलाई व्यवस्थित गराउन खोज्दा स्थानीय शिक्षित र बुद्धिजीवी वर्गले अरुलाई भड्काइदिँदा थप समस्या भएको छ,’ उनले भने ।

शनिबार स्याङ्जाको हरिनास गाउँपालिकाका २ जनासँगै अन्य ८ जनामा कोरोना पुष्टि भएको थियो । बाँकी ८ जना वालिङ नगरपालिकाका हुन् । स्याङ्जामा आइतबार बिहानसम्म गरेर संक्रमितको कुल संख्या
३७ पुगेको छ ।

त्रासमा हाइप्रोफाइल

कास्कीमा शनिबार एकैदिन ३ जनामा कोरोना पुष्टि भयो । रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३२ र २३ वर्षे युवा र पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा बसेका ५९ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनीहरु ३ दिन पहिले भारतको हैदराबादबाट गाउँ आएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । शुक्रबार पनि पोखराका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । डेरामै बेहोस भेटिएपछि हेलिकोप्टरमार्फत पोखराको निजी अस्पतालमा सामान्य उपचार गरेर ती संक्रमितलाई मंगलबार काठमाडौं लगिएको थियो ।

खुल्ला घुमिरहेका उनमा संक्रमण भएपछि कास्कीमा कोरोनाको जोखिम बढेको छ । पोखराका हाइप्रोफाइल व्यक्ति उनको सम्पर्कमा आएको र सबैलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

‘उहाँको सम्पर्कमा आउनेको ट्रेसिङ गरिरहेका छौं । अहिलेसम्म ३५ जना सम्पर्कमा आउनुभएको छ,’ उनले भने, ‘तीमध्ये अधिकांश हाइप्रोफाइल हुनुहुन्छ । कोही कानुन व्यवसायी, कोही विद्यालयका फाउन्डर, कोही प्रिन्सिपल हुनुहुन्छ । त्यसबाहेक औषधी पसले र कपाल काट्ने पनि सम्पर्कमा आएको पाइयो ।’

भैरहवाबाट ट्याक्सीमा पोखरा

पोखराका ५९ वर्षीय कोरोना संक्रमित भैरहवाबाट ट्याक्सी रिजर्भ गरेर पोखरा आएको खुलेको छ । महानगरको जाल्पारोडस्थित लेकसिटी हस्पिटलको क्वारेन्टाइनमा बसेका पोखरा–२७ का ती पुरुषमा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

दिल्लीबाट भैरहवा नाकामा आएका ती संक्रमितले त्यहाँबाट ट्याक्सी रिजर्भ गरेर अरु १ जनालाई लिएर पोखरा आएको महानगरको स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए । उनी क्वारेन्टाइनमा अरु ३ जनासँग बसेका छन् ।

ती ३ जनामध्ये २ जना हैदरावादबाट सोही नाका हुँदै जेठ १८ गते नै पोखरा आएका हुन् । बाँकी १ जना भने वृन्दावनबाट भैरहवासम्म छुट्टाछुट्टै र त्यहाँबाट एउटै ट्याक्सीमा पोखरा आएका हुन् । संक्रमितसँगै बसेका अरु ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए ।

आचार्यले भने, ‘जेठ १९ गते स्वाब संकलन गर्दा उहाँहरुको नेगेटिभ आयो । ४ जना सँगै बसेकाले फेरि स्वाब परीक्षण गर्दैछौं ।’ शनिबार संक्रमण पुष्टि भएका तीनै जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया