कुखुरा खान पुगेको चितुवा आफै खोरमा फँस्याे

समाधान संवाददाता २०७७ जेठ २५ गते १४:२२

Advertisement

समाधान संवाददाता
स्याङ्जा, २५ जेठ

स्याङ्जाको अर्जुनचौपारीमा कुखुरा खान गएको चितुवा आफै खोरमा परेको छ । आइतबार राति कुखुरा खान खोरमा पसेको पोथी चितुवा खोरमा परेको हो ।

अर्जुनचौपारी गाउँपालिकाको ४ राम्चेका स्थानीय रमाकान्त चापागाँईको घरमा रहेको कुखुराको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको हो ।

खोरमा कुखुरा खान गएको चितुवालाई खोर बन्द गरी फलेकहरु लगाएर नियन्त्रणमा लिइएको चापागाईंले बताए ।

Advertisement

राति केही आवाज सुनेपछि न्याउरी मुसा होला भन्दै हेर्दा चितुवा भएको थाहा पाएपछि बाहिरबाट खोर बन्द गरेको चापागाईं बताए ।

उनले चितुवालाई खोरमा नियन्त्रण गर्न खोज्दा कान्छो छोराको खुट्टा समेत भाँचिएको बताए ।

स्थानीयको खबर पश्चात सुरक्षाकर्मी र वन अधिकृत राजेन्द्र शर्माको टोलीले जिल्ला वन कार्यालयको फलामको खोरमा चितुवालाई राखेको भन्दै १/२ राखिने र उपयुक्त स्थानमा सुरक्षित छाडिने जिल्ला वन अधिकृत कोमलराज काफ्लेले बताए ।

घरभन्दा डेढ सय मिटर तल सालघारी रहेकाले सोही सालघारीबाट चितुवा आएको हुनसक्ने अनुमान गरिएको छ । चितुवाले खोरमा रहेको एउटा कुखुरा खाइसकेको थियो भने अर्कोलाई मारेर छाडेको थियो ।

चितुवा ७/८ वर्षको भएको रहेको बताउँदै काफ्लेले अन्य जिल्लामा चितुवाले मानिस समेत खाएकाले सचेत रहन आग्रह गरे ।

तपाईको प्रतिक्रिया