होटलले बुझाए क्वारेन्टाइन बनाउने प्रस्ताव – १ दिनको खर्च कम्तीमा ३ हजार

समाधान संवाददाता २०७७ जेठ २५ गते २०:४२

अनुप पौडेल, पोखरा

क्वारेन्टाइन बनाउन पोखराका ३६ होटलले आफ्नो भौतिक पूर्वाधार दिने गरी पोखरा महानगर पालिकामा प्रस्ताव पेस गरेका छन् । विदेशबाट फर्किनेलाई राख्न महानगरले होटललाई सेल्फ पेड क्वारेन्टाइन बनाउने गरी होटल व्यवसायीसँग प्रस्ताव मागेको थियो ।

महानगरका सूचना अधिकारी भरतराज पौडेलले २९ होटलले पश्चिमाञ्चल होटल संघमार्फत र ७ होटलले सिधै महानगरमा प्रस्ताव पेस गरेको जानकारी दिए । ५ हजार बेडको खोजीमा लागिपरेको महानगरमा झन्डै २ हजार बेडका लागि प्रस्ताव आएको छ ।

Advertisement

‘५ दिनअघि प्रस्ताव आह्वान गरिएकोमा ३६ होटलको प्रस्ताव आएको छ । त्यसमा ११ सय ६३ कोठा छन् । त्यसमा १९ सय ५० बेड छन्,’ सूचना अधिकारी पौडेलले भने । प्रमुख जिल्ला अधिकारीले सोमबार समन्वय समितिको बैठक बोलाए सोही बैठकमा होटलले बुझाएको रेटसहितको प्रस्ताव लगिनेछ । विभिन्न स्तरका होटलले दैनिक ३ हजारदेखि ९ हजारसम्म खर्च हुने गरी प्रस्ताव पेस गरेका छन् ।

विदेशबाट आउने सबैले क्वारेन्टाइन बसाई खर्च स्वयं व्यहोर्नुपर्ने हुन्छ । एक्लै र २ जनासँगै बस्दा छुट्टाछुट्टै मूल्य प्रस्ताव गरिएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । होटल संघमार्फत महानगरमा पुगेको प्रस्तावमा न्यूनतम ३ हजारदेखि अधिकतम ८ हजार तोकिएको छ ।

Advertisement

‘२ छाक खाना र २ छाक खाजा गरेर एउटा कोठमा एक्लै बसे प्रतिव्यक्ति दैनिक ३ हजार पर्छ । २ जना बस्दा १ जनाको भागमा २ हजार हुनेछ । न्यूनतम ३ हजारदेखि ८ हजारसम्मका कोठा छन्,’ अध्यक्ष तुलाचनले भने । सोभन्दा माथि प्रतिव्यक्ति दैनिक ४ हजार पर्ने कोठा पनि रहेको उनले जानकारी दिए ।

१ जना व्यक्ति १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । महानगरमा बुझाइएको रेटअनुसार १४ दिन क्वारेन्टाइनमा बस्दा एक्लै बसे दैनिक ३ हजारका दरले ४२ हजार र २ जना एउटै कोठामा बसे दैनिक २ हजारका दरले २८ हजार रुपैयाँ खर्च हुनेछ ।

सम्बन्धित समाचार – पोखराका होटलमा ५ हजार बेडको ‘सेल्फ पेड’ क्वारेन्टाइन बनाउने तयारीमा महानगर

अध्यक्ष तुलाचनले होटल क्वारेन्टाइनमा बस्नेलाई दिइने सेवासुविधाका हिसाबले रेट महँगो नभएको बताए । अध्यक्ष तुलाचनले भने, ‘हामीले दिने सेवा सुविधाका हिसाबले यो मूल्य खासै महँगो होइन । २ छाक खाना र २ खाजा खाजासहित सबै प्रकारका कर, भ्याट यसमै समावेश छ ।’

महानगरले ६ बुँदे मापदण्ड तोकेर २० जेठमा ५ दिनभित्र प्रस्ताव पेस गर्न होटलहरुलाई आह्वान गरेको थियो । क्वारेन्टाइन बन्न होटलमा आवसीय बसोबास नभएको, व्यक्तिगत घरसँग नजोडिएको, कम्पाउन्ड भएको र कम्पाउन्डभित्र फिभर क्लिनिक सञ्चालन गर्न मिल्ने हुनुपर्ने मापदण्ड छ ।

आवश्यक कर्मचारी भएको, न्यूनतम १५ बेडको होटलले क्वारेन्टाइनमा बस्नेलाई खाना/खाजा र पिउने पानीको राम्रो व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । यीबाहेक होटलमा एट्याच बाथरुमसँगै व्यक्तिगत सरसफाइका सामग्रीको राम्रो व्यवस्था हुनुपर्नेछ ।

प्रस्ताव पेस गरेका होटल मापदण्डमा भए/नभएको अनुगमन महानगरले गर्नेछ । सरकारले विदेशबाट २५ हजार जनाको उद्धार गर्दा तीमध्ये पोखरामा ५ हजार जनालाई राख्नुपर्ने महानगरको अनुमान छ । युरोप, अस्ट्रेलिया, अमेरिका, जापान, चीन, खाडी मुलुक, सार्क राष्ट्र र नेपालकै विभिन्न ठाउँबाट आउनेलाई उक्त क्वारेन्टाइनमा राखिने महानगरले जनाएको छ ।

पैसा तिर्न नसक्नेलाई सरकारी क्वारेन्टाइन

विदेशबाट पैसा तिरेर ल्याइएकामध्ये कसैले सेल्फ पेड क्वारेन्टाइनको खर्च धान्न नसके उनीहरुलाई सरकारी क्वारेन्टाइनमा राखिने भएको छ । महानगरमा क्वारेन्टाइनको संख्या थप्ने क्रम जारी रहेकाले पैसा तिर्न नसक्नेलाई सरकारी कवारेन्टाइनमा राखिने महानगरको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए ।

विदेशबाट आउनेलाई व्यवस्थापन गर्न पोखरामा फोकल पर्सन तोकिने उनले बताए । ‘पोखरामा सेल्फ पेड क्वारेन्टाइन तोक्छौं । विदेशबाट आउनेहरु उहाँको सम्पर्कमा रहनुहुन्छ,’ उनले भने, ‘सक्नेहरु पैसा तिरेर होटलमा बस्नुहुन्छ । नसक्नेलाई हाम्रै क्वारेन्टाइनमा राख्छौं ।’

पोखरामा क्वारेन्टाइन आवश्यकता अनुसार थप्ने क्रम जारी रहेको संयोजक पौडेलले बताए । पोखरा महानगरपालिकाले २ ठाउँमा र ५ वटा वडाले पनि आ–आफै क्वारेन्टाइन बनाएका छन् । ती क्वारेन्टाइनमा अहिले १ सय ५१ जना बसिरहेको महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

‘समुदाय सुरक्षित हुनुपर्छ’

सरकारले होटललाई क्वारेन्टाइनको रुपमा विकास गर्दा त्यस क्षेत्र आसपास बस्ने स्थानीयलाई सुरक्षाको अनुभूति गराउनुपर्ने होटल संघले माग गरेको छ । भोलि समुदायमा संक्रमण फैलिए त्यसको जिम्मा सरकारले लिनुपर्ने होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । ‘स्थानीयलाई आश्वास्त पार्ने जिम्मा राज्य तहको हो । हामीले भौतिक सम्पत्तिमात्र दिने हो । स्थानीय असन्तुष्ट भए हामी दिनेवाला पक्षमा छैनौं,’ उनले भने ।

होटललाई क्वारेन्टाइन बनाउँदा आवश्यक पर्ने कर्मचारीलाई ल्याउन महानगरले सहयोग गर्ने भएको छ । पोखराका झन्डै ७ सय होटलमा १५ हजार बढी कर्मचारी कार्यरत रहेकोमा लगभग सबैजसो होटलले व्यापार चौपट हुने निश्चित भएपछि कर्मचारी कटौती गरेका छन् । पोखराका होटलमा झन्डै १ खर्ब २५ अर्ब लगानी छ ।

देशका विभिन्न ठाउँमा बनेका क्वारेन्टाइनमा संक्रमण फैलिरहेका बेला होटलको क्वारेन्टाइन सुरक्षित हुने उनको भनाइ छ । होटलमा कार्यरत कर्मचारी ल्याउन र स्वास्थ्य सुरक्षाको प्रत्याभूत गर्न महानगरसँग छलफल भएको अध्यक्ष तुलाचनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया