वालिङका संक्रमित भारतबाट आउँदै सिकिस्त, नगरपालिकाले छुट्टै गाडीमा ल्याएको थियो

समाधान संवाददाता २०७७ जेठ २६ गते ९:५३

अनुप पौडेल, पोखरा

पोखरामा मृत्यु भएका स्याङ्जाका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको अवस्था भारतबाट आउँदा नै नाजुक रहेको खुलेको छ । वालिङ ३ घर भएका उनी श्रीमतीसँगै दिल्लीबाट सुनौली नाकासम्म आएका थिए ।

अवस्था नाजुक भएको पत्तो पाएपछि त्यहाँबाट फर्किनलाई नगरपालिकाले छुट्टै गाडी पठाएर उनलाई ल्याइएको वालिङका स्वास्थ्य महाशाखा प्रमुख कमल पाण्डेले जानकारी दिए ।

Advertisement

‘उहाँहरु सुनौली आफ्नै हिसाबले आउनुभयो । उताबाटै आउँदा बिरामी भएकाले हामीले उद्धारका लागि पठाएको गाडीमा आउनसक्ने परिस्थिति थिएन,’ उनले भने, ‘त्यसपछि प्राइभेट कार पठाएर जेठ २१ गते मध्यराति वालिङ ल्यायौं । यहाँ आएलगत्तै भोलिपल्ट बिहान पोखरा पठायौं ।’

बिरामी भएकाले थप उपचारका लागि जेठ २२ गते बिहानै श्रीमान/श्रीमती दुवैलाई पोखरा पठाइएको उनले बताए । पोखरा आएपछि स्वाब संकलन गरिएकोमा उनमा शुक्रबार कोरोना पोजेटिभ देखिएको हो ।

Advertisement

मृतक पुरुषमा झन्डै आधा दर्जन शारीरिक समस्या रहेकाले रोग प्रतिरोधात्मक क्षमता निकै कम रहेको पाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार ती पुरुषमा उच्च रक्तचाप, सुगर, रक्तअल्पता, सेप्टिसिमिया (रगतमा ब्याक्टेरियाको संक्रमण हुने रोग) र मृगौलासम्बन्धी समस्या थियो ।

संक्रमण पुष्टि भएलगत्तै अस्पतालकै आइसोलेसनमा भर्ना गरिएकोमा आइतबार राति ११ः२५ बजे उनको मृत्यु भएको हो । ती पुरुषको श्रीमती र छोरीको भने स्वाब संकलन नभएको अस्पतालका निर्देशक आचार्यले जानकारी दिए । उनका अनुसार दुवैलाई पोखरा ५ मालेपाटनमा महानगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको छ ।

वालिङका यी संक्रमित कोरोनाबाट मृत्यु हुने गण्डकी प्रदेशका पहिलो व्यक्ति हुन् । सोमबार बिहान मात्रै पोखरामा थपिएका १ संक्रमित गरेर प्रदेशभर हालसम्म १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये बागलुका २ र लमजुङका १ गरी ३ संक्रमित निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया