सुनौलीमा अलपत्र परेपछि अर्कै टोलीसँग पोखरा आएका थिए ४२ वर्षीय संक्रमित

अनुप पौडेल, पोखरा
कोरोना संक्रमण पुष्टि भएका पोखराका ४२ वर्षीय पुरुष दिल्लीबाट पोखरा आएको खुलेको छ । पर्वतको जलजला गाउँपालिका बाँसखर्क स्थायी ठेगाना भएका ती संक्रमित जेठ १६ गते पोखरा आएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।
पोखरा ९ नयाँबजारमा उनको दाइ–भाउजु बस्छन् । ‘संक्रमित दिल्लीमै काम गर्ने हुन् । घर पर्वत भए पनि हामीलाई ठेगाना टिपाउँदा नयाँबजारको टिपाए । दाइभाउजु नयाँबजार बस्ने रहेछन्,’ आचार्यले भने ।
उनी पोखरा ५ ले बाराही माविमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएका थिए । आचार्यका अनुसार संक्रमित पुरुष सुनौलीमा अलपत्र परेका थिए । पोखरा आउने टोली भेटेपछि उनी त्यही टोलीमा पोखरा आएका थिए ।
आज भेटिएका पुरुष पोखराका तेस्रो संक्रमित हुन् ।
यसअघि महानगरले लेकसिटी हस्पिटलमा बनाएको क्वारेन्टाइनमा बसिरहेका पोखरा २७ का ५९ वर्षका पुरुषमा कोरोना देखिएको थियो । पोखराका पहिलो संक्रमितको भने काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा ८ आलुमाइला चोकस्थित डेरामै गत मंगलबार बेहोस भेटिएका ती पुरुषलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । काठमाडौं पुगेपछि स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको थियो ।
उनमा कसरी कोरोना देखियो भन्ने अझै पत्ता लागेको छैन । ती संक्रमितको सम्पर्कमा आएका ३९ जनाको आइतबार स्वाब संकलन गरिएको छ । त्यसको रिपोर्ट भने आइसकेको छैन ।
उनको सम्पर्कमा आउनेमा कानुन व्यवसायी, प्राध्यापक, औषधि व्यवसायी, हजामलगायत छन् । संक्रमितको सम्पर्कमा आएका सबै घरमै क्वारेन्टाइनमा बसिरहेको महानगरको स्वास्थ्य महाशखाले जनाएको छ ।
गण्डकी प्रदेशमा सोमबार बिहान कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वालिङका ती पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार मध्यरातमा मृत्यु भएको हो ।
सम्बन्धित समाचार
पोखरा ९ का ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया