पोखरा २७ मा कांग्रेस र राप्रपा छाडेर नेकपा प्रवेश

समाधान संवाददाता २०७७ जेठ २६ गते १७:४९

समाधान संवाददाता
पोखरा, २६ जेठ

पोखरा महानगरपालिका २७ मा नेपाली कांग्रेसका ६ जना क्रियासिल सदस्य र १ जना राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

लामो समयदेखि कांग्रेसमा आबद्ध रही राजनीतिमा क्रियासिल रहँदै आएका राचन्द्र पौडेल, कल्पना पौडेल, सीता लामिछाने, कमला अधिकारी, शुक्रराज लामिछाने, विष्णु लामिछाने राप्रपामा क्रियासिल गणेशराज लामिछाने नेकपा प्रवेश गरेका हुन् ।

Advertisement

कास्की इन्चार्ज राजकाजी गुरुङ करण, नेकपा नेता तथा प्रदेश सभा सदस्य दीपक कोइराला र प्रभा कोइरालाले नवप्रवेशीलाई स्वागत गरे ।
नवप्रवेशीको नेतृत्व गर्दै कार्यक्रममा सम्बोधन गरेका रामचन्द्र पौडेलले कुनैपनि लेनदेनका लागि नेकपा प्रवेश नगरेको सुनाए । ‘मन र बुद्धिले नेकपा प्रवेश गर भन्यो मैले त्यहीँ गरे,’ उनले भने । पार्टी परिवर्तन गर्ने क्रममा आफूलाई प्रलोभन नआएको र आफूले महत्वाकांक्षा पनि नराखेको उनले बताए ।

स्वागतपछि बोल्दै नेकपा नेता तथा प्रदेश सांसद दीपक कोइरालाले पार्टी मुल प्रवाह भएकाले आन्दोलनलाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । नेकपाकै नेतृत्वमा समृद्ध मुलुक साकार बन्ने उनको दाबी छ ।

Advertisement

कास्की इन्चार्ज राजकाजी गुरुङ करणले पार्टी शसक्त बन्दै गइरहेका बेला शुभेच्छुकहरुको प्रवेशले हौसला बढाएको सुनाए । नवप्रवेशीलाई कुनै न कुनै उचित भूमिका दिइने समेत बताए ।

वडा संयोजक सूर्यमणि लामिछानेले वडाको विकासमा संघीय सांसददेखि प्रदेश र स्थानीय तहबाट प्राप्त योजनाका कै कारण नेकपाकै नेतृत्वमा विकासका काम अघि बढिरहेको सुनाए । ‘वडामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएका कारण भइरहेको विकासका काम उनीहरुले मात्र ल्याएका हुन भन्ने लाग्न सक्छ,’ उनले भने, ‘महानगर, प्रदेश र संघीय सांसदहरुले ल्याएका योजनाहरुको काम हाम्रै नेतृत्वमा धमाधम भइरहेका छन् ।’

पार्टीलाई शसक्त बनाउन बाहिर रहेका शुभेच्छुकहरुलाई स्वागत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । कार्यक्रममा नेकपा महानगर कमिटीका सचिव विश्वप्रकाश लामिछाने, वडा ३० का संयोजक कृष्ण अधिकारी २७ का नेकपा सचिव रामप्रसाद तिमिल्सिना लगायत नेकपाबाट निर्वाचित जनप्रतिनिधिको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया