कोरोना नेगेटिभ देखिएकालाई मात्रै होटल क्वारेन्टिनमा राख्न माग

समाधान संवाददाता २०७७ जेठ २६ गते १९:५३

समाधान संवाददाता

विदेशबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टिनमा राख्न होटलको प्रयोग गर्नुपूर्व गम्भीरता अपनाउनुपर्ने भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले सम्बन्धित पक्षको ध्यानाकार्षण गराएको छ ।

२ दर्जन होटलको नामसहित विभिन्न ९ बुँदामा समेटिएको ध्यानाकर्षणपत्र संघका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई सोमबार बुझाइएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

Advertisement

उक्त पत्रमा होटलमा पाहुना आगमन हुनुपूर्व स्वास्थ्य परीक्षण गर्नुपर्ने र कोरोना नेगेटिभ देखिएका व्यक्तिलाई मात्र होटलमा राख्ने व्यवस्था गरिनुपर्ने माग गरिएको छ । होटलमा रहने सम्पूर्ण व्यक्तिहरुको नियमित स्वास्थ्य जाँच गरिनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार – होटलले बुझाए क्वारेन्टाइन बनाउने प्रस्ताव – १ दिनको खर्च कम्तीमा ३ हजार

Advertisement

होटलहरुको नामावलीसंघबाट प्रदान गरिएको भएता पनि आवश्यक मापदण्ड अपनाई वर्गीकरण गरी होटलहरुको छनोट गर्नुपर्नेपनि जनाइएको छ ।

यसैगरी क्वारेन्टिनमा प्रयोग हुने होटलमा स्थानीयबाट अवरोध आउन सक्ने हुँदा उक्त अवरोधलाईसौहार्दपूर्णवातावरणमा सरकारद्वारा समाधान गरिनुपर्ने र स्थानीय स्तरमा फैलन सक्ने संक्रमणको जिम्मा सरकारले लिनुपर्ने विषय पनि समेटिएको छ ।

धेरैजसो होटल बन्द रहेका र कर्मचारीहरु पनि विदामा रहेको हुँदा पाहुना आउनु भन्दा कम्तीमा पनि ४ दिन अगावै संघमा अथवा होटल प्रतिष्ठानमा जानकारी गराई दिनुपर्ने तथा होटल क्वारेन्टिनका लागि उपलब्ध गराउँदा अपनाउनुपर्ने कार्यविधिमा सुरक्षा, स्वास्थ्य लगायतको स्पष्टता र होटलका कर्मचारीलाई तालिमको व्यवस्था गरिनुपर्ने माग पनि गरिएको छ ।

होटलमा रहेका जम्मा कोठाको ८० प्रतिशत पाहुना राखेपछिमात्रै अन्य होटलमा राख्ने व्यवस्था हुनुपर्ने साथै भुक्तानीको अवस्थाबारे अग्रीम जानकारी हुनु पर्ने पनि संघले जनाएको छ ।

होटल प्रतिष्ठानमा आवश्यक पर्ने स्वाथ्य सामग्रीहरु सर्वसुलभ रुपमा उपलब्ध गराईनु पर्ने र होटलमा रहने पाहुनाहरु अनुसाशित र सुरक्षित तवरमा रहनका लागि कोठा भन्दा बाहीर निस्कन नदिई सुरक्षाको व्यवस्थाको जिम्मा लिइनु पर्ने भन्दै संघले ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचार –पोखराका होटलमा ५ हजार बेडको ‘सेल्फ पेड’ क्वारेन्टाइन बनाउने तयारीमा महानगर

होटललाई क्वारेन्टिन बनाई सकेपश्चात् होटललाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पूर्ण रुपमा निर्मलीकरण गरी भविष्यमा सहज रुपले व्यवसाय संचालन गर्न स्वास्थ्य, महानगर वा पर्यटन विभागबाट निर्मलिकरणको प्रमाणीकरण स्टिकर टाँस गरिनु पर्ने माग पनि संघको छ ।

होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दा कोठा दर प्रति व्यक्तिका लागि २ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँ र २ जनाका लागि ३ हजारदेखि १४ हजार रुपैयाँ प्रस्तावित गरिएको छ ।

विश्वव्यापी रुपमा देखापरेको कोरोना रोगको संक्रमणका कारण हाल विदेशी मुलुक यूरोप, अस्ट्रेलिया, अमेरिका जापान, चीन मलेसिया, कोरिया, क्यानाडा, खाडी मुलुक, सार्क राष्ट्र र नेपालका विभिन्न स्थानबाट आउने व्यक्तिहरु आफ्नो घर वा डेरामा जान सुरक्षित नरहेको भन्दै होटलहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया