कोभिडले लकडाउन, लकडाउनले चिन्ता

समाधान संवाददाता २०७७ जेठ २७ गते ११:५९

खिम लामिछाने

नोभल कोरोना भाइरस भाइरसकै एक नयाँ प्रजाति हो । नोभल कोरोना भाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ अर्थात् कोभिड १९ नामकरण गरिएको छ । ‘को’ ले कोरोना र ‘भी’ ले भाइरस र ‘डी’ ले डिजिज अर्थात रोग भन्ने जनाउँछ ।

अहिले विश्वभरि कोरोनाभाइरस संक्रमण र त्यसबाट हुने रोग कोभिड १९ को त्रास छ । उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको लकडाउन नीतिका कारण अधिकांश मानिसहरू घरभित्रै बस्न बाध्य छन् ।

Advertisement

लकडाउनको संक्रमणको रोकथाम भएको छ तर लामो समयसम्म चलिरहेको यो लकडाउनले मानसिक, सामाजिक र भावोनात्मक रूपमा रोगी बनाउँदै गइरहेको छ । जस्ले गर्दा उराठ लाग्ने, मनमा डर, चिन्ता, खिन्नता र नैराश्यता बढ्दै गैरहेको छ ।

विश्व स्वास्थ्यसंगठनका अनुसार ‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरूस्तीको अवस्थालाई नै स्वास्थ्य भनिन्छ । ‘कोनोरा भाइरस कोभिड १९ र लकडाउन दुवैले हाम्रो मानसिक स्वस्थ्यमा असर पारेको तथ्य डब्लुएचओले बताइसकेको छ ।

Advertisement

लकडाउनको उद्देश्य मानिसलाई एक अर्कासँग व्यक्तिगत रुपमा टाढा राख्नु र आवतजावतमा बन्द गरिनु हो । लकडाउन आपतकालीन अवस्थामा सरकारद्वारा जारी गरिने निषेधाज्ञा हो । लकडाउन घोषणा गरिएको समय कफ्र्यू लागेको बेला जस्तो इमर्जेन्सी बाहेक घरबाट बाहिर निक्सन मनाही गरिन्छ । हालको लकडाउनको मुख्य उद्देश्य भिडभाड कम गरी कोरोना भाइरस संक्रमण फैलन नदिनु नि हो ।

आन्तरिक रुपमा संक्रमण रोक्ने उपायहरु अबलम्बन गर्ने, संक्रमण भइहालेमा फैलनबाट रोक्ने, सभावितहरु कोरोना जाचहरु गर्ने, जाँच गर्ने ठाउँहरु र सख्या बढाउने । कन्ट्र्याक्ट ट्रेसिङ गरी संक्रमितहरुको खोजीनीति गर्ने र उनीहरुलाई क्वारेन्टिनमा राख्ने, संक्रमितलाई उपचार गर्ने ।

अस्पतालको व्यवस्थापन, क्वारेन्टिन निमार्ण कार्य गर्ने । सबै प्रदेश तथा स्थानीय तह समुदयमा भाइरस फैलन रोक्न र संक्रमितको उपचार गर्ने अग्रिम ब्यबस्था तथा कार्यक्रमहरु यही लकडाउनको समयमा गरिन्छ ।

एकातिर भाइरस फैलिन नदिन लकडाउन गरिएको छ भने अर्कोतिर लामो लकडाउनमा देशको आर्थिक र ब्यक्तिहरुको मानसिक अवस्थामा नकारात्मक प्रभाव पारेको छ । क्लिनिकल साइकोलोजिस्ट डा मारिया लौडेसद्वारा बाथ युनिभर्सिटी ब्रिटेनमा लकडाउनको कारण बच्चा र युवकहरुको मानसिक असर र एक्लोपनाबारे एक अध्ययन गरिएको थियो ।

जसको निष्कर्ष अब आउने वर्षहरुमा मानिसको मानसिक स्वास्थ्य सेवाको धेरै नै खाँचो पर्छ । उक्त अध्ययनले डिप्रेसन र चिन्ता जस्ता बिरामीहरु ३ गुणा बढ्ने सम्भावना रहेको हुँदा मानसिक स्वास्थ्य सेवा विस्तारका लागि तयार रहन समेत सुझाव दिएको छ ।

कोरोना लागेर मर्ने एउटा चिन्ता छ भने आयआर्जनका स्रोत बन्द हुनाले अर्को चिन्ता थपिएको छ । लकडाउनको कारण धेरै कुराहरुमा परिवर्तन आइरहेको छ । दैनिक गरिने क्रियाकलापहरुमा अकस्मात ब्रेक लाग्दा मानिसमा भविष्यको चिन्ताले सताउन थालेको छ ।

सरकारले लकडाउनको समय लम्ब्याउँदै गर्दा जनतामा अब के हुन्छ, कहिले लकडाउन सकिन्छ । कोरोना भाइरसको कहर कहिले सकिन्छ भन्ने जस्ता कुराले रातभर निदाउन सकेका छैनन । लकडाउनकै कारणले आत्महत्यासमेत गरिसके । मानिस सामाजिक प्राणी हो । ऊ एक्लै बस्न सक्दैन ।

लकडाउनको समयमा घर बाहिर निस्केर साथीसंगीसँग भेटघाट तथा गफगाफ गर्न नपाउँदा निकै आत्तिरहेको छ । मानसिक स्वास्थलाई मध्यनजर गर्दै डब्लुएचओले १८ मार्च २०२० मा ‘मेन्टल हेल्थ एन्ड साइकोलोजिकल कन्सिडेरेसन ड्युरिङ कोभिड १९ आउटब्रेक’ भनेर विज्ञप्ति जारी गरेको थियो ।

ज्येष्ठ नागरिक, एचआइभी, क्यान्सर, मधुमेह, प्रेसर र अन्य मुटु रोगका बिरामीसँग भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम हुने हुँदा उनीहरुमा अझ बढी डर, चिन्ता र तनाव हुने हुनसक्छ ।

लकडाउनका कारण बढी समस्यामा परेकाहरुमा ज्येष्ठ नागरिकहरु, वृद्धाश्रममा बस्ने वृद्धवृद्धा, सुगर, प्रेसर, शारीरिक रुपमा अशक्त व्यक्तिहरू, असायहरु, बालबालिकाहरु, हृदयघात र अन्य मुटुरोगका बिरामीहरु, बिरामीको सेवामा अहोरात्र खटेका स्वास्थकर्मी र उनीहरुको परिवार, क्वारेन्टाइनमा रहेका व्यक्तिहरु, अन्य रोगको उपचारार्थ अस्पताल भर्ना भएर बसेका बिरामीहरु लागायत हामी सबैलाई कुनै न कुनै रुपमा मानसिक समस्याले सताउन थालएको छ ।

लकडाउनको कारण सबैभन्दा मर्कामा पर्नेहरु दैनिक ज्यालागरी खानेहरु परेका छन् । त्यसैगरी सानोतिनो व्यवसाय गरी दैनिक गुजारा गरी जीवन धानिरहेका व्यक्तिहरुलाई लकडाउनले ठूलो पीडा दिएको छ । जसको कारण उनीहरु हासेर बोल्न समेत सकिरहेका छैन ।

एकातिर आफ्नो ब्यबसाय चौपाट अर्को तर्फ आफ्नो बाबुनानीहरुलाइ खुवाउने अन्नको अभाव, उनीहरु दोहोरो मारमा परेका छन, जसको कारण पिर, ब्यथा र नैराश्यले जीवनमा डेरा जमाउन थालेको छ ।

लकडाउनले हरेक तह, तप्का, वर्ग, जाति, धनी, गरीब, भाषा, भाषी सबैको जीवन धमिल्याएको छ, थोरै र धेरै मात्राको मात्र फरक छ । हुने खानेहरुलाई लकडाउनले अलि कम असर र हुँदा खानेहरुलाई अलि बढी असर गरेको छ । तर सबैको जीवनमा उत्तिकै नैराश्यता छाएको छ ।

बाहिर हासेर बोले पनि भित्री मनमा कोरोनाको डरले सबैको मन भयभित छ, जसले आम मानिसमा निराशा छाएको छ । युनिसेफका अनुसार ‘विभिन्न माध्यममार्फत गलत सूचना प्रसारित भइरहेका छन् । त्यसले चिन्ता लगाउन सक्छ । त्यसैले भरपर्दो र विश्वास गर्न सकिने ठाउँबाट मात्रै सूचना र जानकारी लिनुहोस् ।

इन्स्टाग्राम, युटुब र फेसबुकमा देखिने, पढिने सबैकुरा भरपर्दा हुँदैनन् । त्यसैले विश्व स्वास्थ्य संगठन, नेपाल सरकारको वेबसाइड तथा भरपर्दा र आधिकारिक वेबसाइटहरु बाट मात्र समाचार र सूचना हेर्ने गर्नुपर्छ ।

एकातिर व्यवसाय ठप्प छ, अर्कोतिर सरकारले कर तिर भनेको छ, बैकको साँवाब्याज त नतिरी सुक्कै छैन, जसले गर्दा व्यापारी पीडा र निराशाले खुलेर हाँस्न सकेका छैनन । सामाजिक तथा भौतिक दुरी कायम राख्न कतिपय कर्मचारीलाई सरकारद्वारा घरमै बस्न भनिएको छ ।

लकडाउन लम्बिँदै जाँदा घरमा बस्नेहरुमा विभिन्न खालक समस्या देखिन थालेका छन् । जस्तै घरमा बस्दा बस्दा मोटोपन बढेर कोही चिन्तित छन् । कोही घरमा बस्दाबस्दा थाकेर मानसिक बिरामी नै भएका छन् । घरमात्र बस्नाले शारीरिक कसरत नहुँदा रक्तचाप, मधुमेह, मुटुका रोग लगायत अन्य रोगहरु बढेर चिन्तित भएका छन् ।

स्वास्थ क्षेत्र, बैकिङ, पत्रकारिता तथा अन्य अत्यावश्यक कार्यमा लागेकालाई कोरोनाबाट संक्रमित भइन्छ कि भन्ने छुट्टै प्रकारको चिन्ता छ । घर बाहिर काम जाउ, घरमा आएपछि कपडा फेर, नुहाऊ, कतै भाइरससँगै आयो कि भनेर दिनहुँको शंका, उपशंका आशंकाले एक प्रकारको शंकालु बानी बसालिसको हुच्छ । यही शसंकित हुने र शंकालु बानीले जीवनमा नैराश्य थपिएको छ ।

३४ दिनसम्म घरबाट ननिस्केका चाइनाको बुहान सहरका १७८४ जना बच्चाहरुमा वुहानको हाउझोङ साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीले गरेको एक अध्ययनमा २२.६ प्रतिशत बच्चाहरुमा डिप्रेसन पाइएको थियो । १८.९ प्रतिशत बच्चाहरुमा एन्जाइटी (तनाव) का लक्षणहरु पाइएको थियो ।

अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्स, मानसिक रोग विभागका प्रा.डा. मलहोत्रा र डा राजेश सागरको अध्ययनले मानसिक रोगीहरुलाई लकडाउनले थप मानसिक समस्या थपेको कुरा द न्यु इन्डियन एक्सप्रेसमा बताएका छन् ।

मानसिक बिरामीहरु जसले नियमित औषधी सेवन गरिरहेका थिए । उनीहरुले पटक पटक फोन गरेर नयाँनयाँ मानसिक समस्या र चिन्ता व्यक्त गर्ने गरेको कुरा बताएका अध्ययनमा उल्लेख गरेका छन् ।

स्कुल पढ्ने विद्यार्थीको परीक्षा त प्रकाशित भयो । पास पनि भइसके तर नयाँ पुस्तक किन्ने र नयाँ कक्षा कोठामा पढ्ने रहर भने पूरा हुन सकेको छैन । त्यो नयाँ कक्षा प्रवेशको पहिले दिनको एक्साइटमेन्ट त्यो अद्भूत अनुभूति लिन नपाउँदा नैरश्याता छाएको छ ।

सबैभन्दा ठूलो पीर, व्यथा र मर्कामा त एसइई दिनेहरु छ । जसको भोलि बिहानदेखि परीक्षा हुने भनिएको थियो । तर सोही दिन दिन साँझ ६ः०० मा परीक्षा रद्द भएको जानकारी समाचार बनेर आयो । कतिले परीक्षाको तयारी मात्र होइन, परीक्षा केन्द्र परेको स्थान नजिक डेरा लिएर बसिसकेका थिए ।

उनीहरुलाई अहिले सबैभन्दा बढी नैराश्यता छाएको छ । उनीहरु अहिले पढ्न पनि त्यती मन गरिरहेका छैनन् । त्यस्तै गरी अन्य लेभलमा पढ्नेहरुको पनि परीक्षा र नियमित कक्षाहरु सबै रद्द भइसके । उनीहरुको जीवन पनि निराशाजनक भएर बितेको छ ।

दिनभर घर बस्ने तर पढ्न मन पटक्कै नलाग्ने, बरु इन्टेरनेट र सामाजिक सन्जालमा समय बिताउने गर्न थालेका छन । युटुब र अनलाइनका अतिरञ्जित गरिएका समाचारहरु पढेर झन नैराशता थपिदै गएको छ ।

‘द साइकोलोजी अफ पेन्डामिक’ पुस्तकका लेखक तथा युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका प्रोफेसर डा स्टेभन टेलरले आफ्नो पुस्तकमा कोनोरा भाइरसबारे सबैलाई आतंक पार्ने अनलाइनका समाचारले डर र भय पैदा भई गर्भवती महिला र बच्चाहरुमा मानासिक बिचलन हुने र मृत्युसमेत हुने गरेको उल्लेख गरेका छन् ।

कलेज पढ्नेहरु संगीसाथीहरुसँग लामो समयदेखि भेट हुन नपाउँदा, पार्क, सिनेमा, कफीसफ र सपिङ गर्न नपाउँदा निकै दुखी छन् । प्रेमी प्रेमिकाहरुलाई त झन् यो लकडाउनको समय निकै नै कष्टप्रद रही आएको छ । एक प्रकारको जेल झैँ भएको छ ।

एकातिर लुकीचोरी नियमित भेट्घाट हुन पाएको छैन । अर्कोतिर घर परिवारभित्र बसेर खुलेर फोनमा कुरा पनि गर्न पाइरहेको अवस्था छैन । उनीहरुको जीवनमा पनि नैरशयता छाएको छ । वैदेशिक रोजगारीमा गएकाहरु कतिपय फर्किसके ।

कतिपयलाई सरकारले अन्य मुलुकमा फसेका नेपालीको उद्धार गर्ने निर्णय पनि गरेको छ । स्वदेश ल्याउने प्रयास गर्दैछ । उनीहरुको रोगजारी खोसिएको एउटा पीडा छ भने तत्काल पुन त्यही काम गर्न मिल्छ कि मिल्दैन, फेरि विदेश जान पाइने हो कि होइन भन्ने अर्को कुराले पिरोलेको छ । जस्को कारण उनीहरुमा निकै चिन्तित छन् ।

लकडाउनको समयमा बच्चादेखि वृद्धसम्म सबैको समय बिताउने सहारा टिभी, मोबाइल फोन, ल्यापटप जस्ता उपकरण भएका छन् । मोबाइलमा गेम खेल्नु र सामाजिक सञ्जाल चाहर्नु नै हरेक मानिसको दिन काट्ने साझा माध्यम बनेको छ । दिनभर हरेक मिनेट मिनेटमा मोबाइल स्क्रोल गर्ने राम्रा नराम्रा सही गलत सबै प्रकारका समाचारहरु हेर्ने सुन्ने बानीले मोबाइलको लत बनिसको छ ।

आजकल बरु मान्छेहरु खाना खान कुर्न सक्छन् तर कोरोना अपडेट कुर्न नसके भइसके । यो पनि एक प्रकारको मानसिक रोग नै हो । हरेक कुरामा अपडेट हुनु राम्रो हो, तर कुनै पनि कुरामा आशक्ति हुनु कदापि राम्रो होइन । भनिन्छ ‘अ ब्याड न्युज इस गुड न्युज’ खराब समाचार नै राम्रो समाचार हो, तर त्यो समाचार छाप्नेहरुका लागिमात्र ।

तनावले डिप्रेसनको सिकार बनाउँछ । धेरै इन्टरनेटको प्रयोगले मानिसमा निद्रा नलाग्ने, कम निद्रा लाग्ने र ढिला सुत्ने बानीको विकास भइरहेको पाइन्छ । जसको कारण स्लिप डिसअडर जस्ता मानसिक रोग लाग्न जान्छ । धेरै इन्टरनेटको प्रयोगबाट आँखाको रेटिनामा पनि समस्या देखिन्छ ।

लकडाउनले गर्दा विध्यालय जान नपाएर बालबालिकाको मनोविज्ञानमा समेत असर परेको छ । नयाँ कुरा सिक्न नपाउँदा, साथीहरूसँग खेल्न नपाउँदा, मन परेको कुरा खान नपाउँदा, २४सै घण्टा घरैमा मात्र बस्नु पर्दा बालबालिकाको सामाजिक एवं मानसिक अवस्थामा असर गरेको छ । सानो कुरामा झनक्क रिसाउने, धेरै रूने, जिद्दी गर्ने, मोबाइल र इन्टरनेट बिना बँच्नै नसक्ने झै गर्ने जस्ता समस्याहरु बढ्दै गएको पाइन्छ ।

लकडाउनको समयमा विभिन्न खालका घरेलु हिंसा बढिरहेको एक तथ्यांकले बताएको छ । नेपाल प्रहरीको तथांक अनुसार नेपालभर २०१८ देखि २०१९ बीचमा २११ वटा बालबालिकामा यौनजन्य हिंसाको घटनाहरु रेकर्ड भएका थिए । जब कि लकडाउन २ महिनाभित्रमा मात्र ४८ वटा घटनाहरु रेकर्ड भएका छन् । जुन तथ्य वोमेन्स रिहाबिलिटेसन सेन्टरले आँकडासहित प्रस्तुत गरेको पाइन्छ ।

कोरोना संक्रमितको उपचारार्थ अहोरात्र खटिएका स्वास्थकर्मीहरुलाई एकातिर आफैलाई कोरोना सर्छ कि भन्ने डर छ । अर्कातिर घर परिवारमा कोरोना सर्ने हो कि भनी परिवारका सदस्यामा पीर चिन्ता ।

त्यसमाथि समाजमा व्याप्त स्वास्थ्यकर्मीहरुले भाइरस सार्छन् भन्ने नकारात्मक दृष्टिकोण । यो समयमा उनीहरु शारीरिक र मानसिक दुबै रुपले तनाव झेल्न बाध्य छन् । कोरोना भाइरस सार्ने सभावना देखेर नै कतीपय घरबेटीहरुले स्वास्थकर्मीलाई घरबाट नै निकालेको समाचार प्रकाशित भइरहन्छन् ।

मानिस एक सामाजिक प्राणी भएकोले गर्दा समाजबाट टाढा बस्नु भनेको उसका लागि एकदमै गाह्रो काम हो । तर हाल लकडाउनको कारण होम क्वारेन्टिनमा बस्नु पर्दा मानिस आफूलाई समाजदेखि टाढा भएको महसुस भएको छ ।

समाजसँग जोडिनबाट वञ्चित भएको कारणले गर्दा मानिस विचलित भएको छ । यस्तो अवस्थामा मानिसलाई भौतिकरूपमा नभए पनि इन्टरनेटले सामाजिक सञ्जालको माध्यमद्वारा समाजसँग जोडिरहेको छ ।

यसरी उचित तवरले इन्टरनेटको प्रयोग गर्दा क्वारेन्टाइनको समय एकदम फलदायी बन्न जान्छ भने गलत तरिकाबाट भनौं वा उठेदेखि नसुतेसम्म इन्टरनेट वा सामाजिक सञ्जालको प्रयोग गर्दा विभिन्न प्रकारका मानसिक समस्या देखिन थाल्छ ।

लकडाउनको समयमा घरमा बस्दा केही सकारात्मक काम पनि भएका छन् । जस्तो व्यस्त जीवन पद्दतिबाट लामो समयको आराम । घर परिवारसँग समय बिताउने अवसर छ । सबैभन्दा ठूलो फाइदा वातावरण प्रदूषण हुनबाट बँचेको छ ।

गत चैत महिनामै नासाले ओजोन तह पुरिँदै गएको तस्बिर सार्वजनिक गरेको थियो । लकडाउनको समयमा विभिन्न कारणले सहरमा बसोबास गरेकाहरु आफ्नै गाउँ फर्केका छन् । बाँझो जमिन हराभरा पारेका छन् ।

साना बाबुनानीले गाउँले परिवेश बुझ्ने असवर पाएका छन् । तर पनि बाबु नानीहरुको मोबाइल र इन्टरनेटमा रमाउने बानीको विकास बढ्दै गइरहेको छ । जसले गर्दा इन्टरनेट अडिक्सनको सिकार भई डिप्रेसन हुने खतरा बढिरहेको छ ।

समग्रमा हेर्दा यो लामो समयको लकडाउनले सबै व्यक्तिहरुमा कुनै न कुनै प्रकारको मानसिक तनाव दिएको छ । जीवनलाई नैराश्यतातर्फ धकेलिएको छ । यसबाट बँच्न हामी सबैले मनोबल उच्च राख्न जरुरी छ । ध्यान, योग, शारीरिक व्यायाम र सकारात्मक सोचले हाम्रो मनोबल उच्च राख्न मद्दत मिल्छ ।

तपाईको प्रतिक्रिया