बहाल छुटको विशेष व्यवस्था गर्न माग

समाधान संवाददाता २०७७ जेठ २७ गते १३:०१

समाधान स‌ंवाददाता, पोखरा

पोखरा चेम्बर अफ कमर्स कास्कीले कोरोना भाइरसको सिर्जित असहज अवस्थामा सरकारी, अर्ध सरकारी निकाय, संस्था, स्थानीय सरकार, विद्यालय तथा हस्पिटल आदिका घरजग्गा बहाल लिने दिनेका हकमा सम्बन्धित निकायले वहालमा विशेष छुटको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

निजी व्यक्तिको घर एवं जग्गाहरुमा उद्योग व्यवसाय सञ्चालन गर्नेको हकमा चेम्बरले घरधनीको तर्फबाट आर्थिक अवस्था समेत विचार गरी ५० देखि ७५ प्रतिशतसम्म वहाल छुटको व्यवस्था गर्न अपिल गरेको छ ।

Advertisement

चेम्बरको वस्तुगत तर्फका उपाध्यक्ष तथा कोरोना भाइरसको जोखिम नियन्त्रण एवं न्यूनीकरण समन्वय समितिका संयोजक यमनाथ पौडेलले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी डेरा कोठा बहालमा लिने र आवास प्रयोजन गर्नेको हकमा जागिर तलव पाई रहेकालाई र अत्यआवश्यक सेवा अन्तर्गत व्यवसायीलाई यथावत रुपमा भाडा भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेका छन् । विज्ञप्तिमा स्वतस्फुर्त रुपमा घरधनीले भाडा छुट गरेको अवस्थालाई स्वागतयोग्य भनिएको छ ।

लकडाउनको अवधीमा भाडा छुट गर्ने घरधनीलाई सरकारको तर्फबाट घरभाडाकर,विद्युत तथा खानेपानी महसुलमा छुटको व्यवस्था मिलाउन पौडेलले आग्रह गरेका छन् ।

Advertisement

ज्याला मजदुरी गर्ने विपन्न वर्गका लागि सरकारी राहातको प्याकेजभित्र परेका परिवारलाई डेरामा पूर्ण छुटको व्यवस्था गर्न अपिल गरिएको छ । कोरोना भाइरसको पीडादायी अवस्थामा केही घरधनी महानुभावले बहालमा बस्ने उद्योगी व्यवसायीलाई भाडा भुक्तानी गर्न दबाब दिने, भाडा नदिएको भन्दै घर सटर कोठा खाली गर्न दबाव दिएको चेम्बरमा गुनासो आएको उल्लेख गर्दै विज्ञप्तिमा विषम परिस्थितिमा घरवाहाल दिने व्यक्ति निकायले कुनै पनि घरबहालवालालाई कुनै पनि वहानमा निकाला गर्न नपाउने उल्लेख छ ।

तपाईको प्रतिक्रिया