घरटहरो बनाउन जस्ता पाता सहयोग

समाधान संवाददाता
पोखरा, २७ जेठ
पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरको महेन्द्रगुफास्थित विपन्न वर्गका स्वर्गीय बलबहादुर नेपालीको परिवारको घर टहरो निर्माणको लागि सोमबार जस्तापाता प्रदान गरिएको छ ।
हिमालय क्लब बाटुलेचौरको अगुवाइ र गण्डकी प्रदेश सभाका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापाको सक्रियतामा ३० हजार बराबरको जस्तापाता प्रदान गरिएको हो ।
आर्थिक अभावको कारण उनको घर टहरोको निर्माण कार्य १ वर्ष देखि अधुरो रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य थापाले सिंगो पार्टी र सामाजिक संघ संस्थाहरु साझेदारीमा विपन्न गरिबहरुको हक हितका लागि काम गर्ने बताए । उनले सामाजिक न्याय र जातीय सद्भाव कायम गर्नका लागि सरोकारवालाहरु एकजुट हुने उल्लेख गरे ।
गैसस महासंघ नेपालका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले सामाजिक संघसंस्थाहरुले समुदायका समस्या उजागर गर्ने मात्र नभएर राज्यको ध्यान नपुगेको क्षेत्रमा सहयोगको कार्यक्रम लैजाने बताए । हिमालय युवा क्लबका अध्यक्ष मोहनबहादुर थापाले जनस्तरबाट २ लाख १० हजार आर्थिक सहयोग जुटाएर क्लवले घर टहरो निर्माण गरी हस्तान्तरण गर्ने योजना सुनाए ।
क्लवका कोषाध्यक्ष शिवराज देवकोटाले आर्थिक अवस्था कमजोर रहेको नेपालीको परिवारको घर टहरो निर्माणको लागि सहयोग संकलन अभियान चलाएको बताए । उनले अहिलेसम्म ४० भन्दा बढी सहयोगीहरुबाट १ लाख ९५ हजार संकलन भएको जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्य, क्लबका प्रथम उपाध्यक्ष सुशील बस्नेत, मानार्थ सदस्य उदयबहादुर बस्नेत लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया