पोखराका ६० वर्षे संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ
समाधान संवाददाता
पोखरा, २७ जेठ
पोखराबाट काठमाडौं लगेपछि कोरोना संक्रमण देखिएका ६० वर्षे पुरुषको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको छ । चिकित्सकलाई उद्धृत गर्दै परिवारका सदस्यले दिएको जानकारी अनुसार मंगलबार बिहान प्राप्त नतिजामा रिपोर्ट नेगेटिभ आएको हो ।
गत मंगलबार पोखराको आलुमाइला चोकनजिकैको डेरामा बेहोस अवस्थामा भेटिएपछि ती पुरुषलाई गण्डकी मेडिकल कलेजमा प्रारम्भिक उपचार र परीक्षण गरी हेलिकोप्टरबाट काठमाडौं पुर्याइएको थियो ।
शरीरमा सोडियमको मात्रा अत्यन्तै कम भएपछि उनका सुभेच्छुकहरुको सक्रियतामा काठमाडौं पुर्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । गत शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरामा ती पुरुषको प्रत्यक्ष सम्पर्कमा आएका मानिसहरु पहिचान गरी आइतबार ३९ जनाको स्वाब संकलन गरे पनि परीक्षणको नजिता भने आइसकेको छैन । ती पुरुषसँग सिधा सम्पर्कमा आएका ३९ जना र ती ३९ जनासँग सम्पर्कमा आएकाहरु अहिले सबै सेल्फ क्वारेन्टाइनमा छन् । मंगलबार बेलुकासम्म परीक्षण सकिने प्रयोगशाला स्रोतले बताएको छ । तर नतिजा मंगलबारै (आज) सार्वजनिक गर्ने बारेमा भने प्रदेश स्वास्थ्य निर्देशनालयले केही बताएको छैन ।
पहिलो घेरामा कानुन व्यवसायी, औषधी पसले र सैलुन सञ्चालक समेत छन् । पहिलो घेरामा रहेकाको नतिजा आइसकेपछि मात्र त्यसैको आधारमा दोस्रो घेरामा रहेकाहरुको स्वाब परीक्षण गर्ने नगर्ने भन्ने टुंगो लाग्ने छ । दोस्रो घेरामा रहनेको संख्या निकै ठूलो छ ।
तपाईको प्रतिक्रिया