कास्कीको रुपामा रिसोर्टजस्तो आइसोलेसन (फोटो फिचर)

समाधान संवाददाता २०७७ जेठ २७ गते १८:२०

ईश्वर देवकोटा
पोखरा, २७ जेठ

स–साना आकारका स्तूपजस्ता भवन छन् । भवन पुग्ने बाटो फराकिलो छ । जंगलको बीचका ससाना घरहरु निश्चित दुरीमा छन् । एउटा रिसोर्टका छुट्टाछुट्टै भिल्ला जस्ता लाग्छन् ती । पानी र बत्ती पुर्‍याउन दर्जन बढी मजदुर दिनभर खटिएका छन् ।

अदिमभूमि संस्थाको तालिम केन्द्रका भवन केही समययता उपयोगमा थिएनन् । कोरोना महामारीले तमासा नदेखाएको भए सायदै यो भवनमा कसैका नजर पर्थे । १२ वर्षपछि पनि खोलो फर्किन्छ भने झैं ठ्याक्कै त्यति नै समयमा भवनको मुहार फेरिएको छ ।

विश्वका अधिकांश मुलुकमा भयावह भइरहेको कोरोनाका कारण कास्कीको रुपा गाउँपालिकाबासी उपचारबाट बिमुख हुन नपरोस् भन्नकै लागि भवनलाई प्रयोग गरिँदैछ । गाउँपालिका अध्यक्ष नवराज ओझा गैरी भन्ज्याङका यिनै भवनमा ३० बेडको आइसोलोसन वार्ड बनाउन लागेको सुनाउँछन् ।

गाउँपालिका ७ स्थित रामकोट मावि क्वारेन्टिनमा मुलुकबाहिरबाट आएका ३० जना बसेका छन् । गत शनिबार त्यहीँ क्वारेन्टिनमा बसेका २ जनामा कोरोना पुष्टि भयो । उनीहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत छन् ।

क्षेत्रीय अस्पतालमा १० बेड क्षमताको मात्रै आइसोलेसन छ । जुन संघीय सरकारले कोरोना डेडिकेटेड अस्पताल घोषणा गरेको थियो । अहिल्यै नै त्यहाँ ३ जना उपचाररत छन् । तर त्यसको ३ गुना बढी क्षमताको आइसोलोसन रुपा गाउँपालिका एक्लैले तयार गर्दैछ ।

कास्कीमा संक्रमण दर बढ्न सक्ने संकेत देखिएकाले पनि गाउँपालिका स्वयंले आइसोलेसन बनाउन खटिएको अध्यक्ष ओझाले सुनाए । ‘क्वारेन्टिनबाट आइसोलेसनमा ल्याएर गाउँपालिकाले नै व्यवस्थापन गर्न सक्ने खालको पूर्वाधार बनाउन लागिरहेका छौं,’ उनले भने, ‘समुदायसँगको दुरी पनि रहेको र आइसोलेसन बनाउन उपयुक्त संरचना भएकाले मर्मत थालिएको छ ।’

विद्युत, खानेपानी र भवन सम्भारका लागि गाउँपालिकाले नै मजदुर प्रबन्ध गरेर काम थालेको अध्यक्ष ओझाले बताए । उक्त कामका लागि १० लाख रुपैयाँ बराबर खर्च लाग्ने अनुमान गरेको उनले सुनाए । ‘सबै काम केही दिनभित्रमा नै सक्ने गरी कामदार गाउँपालिकाले नै खटाएको हो । इन्टरनेट र टिभी सुविधासम्म उपलब्ध गराउँदै छौं,’ उनले भने ।

झाडी पन्छाएर मानिस बस्न योग्य बनाउन सक्ने अनुमान नै नगरेको ठाउँमा गाडी पुग्न सक्ने बनाउन लागिएको ओझाले बताए । कम्तीमा ३० जनासम्म बस्न मिल्ने गरी व्यवस्था मिलाउन धमाधम काम गरिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आइसोलेसन व्यवस्थापनमा खटिने सबैलाई आवास उपलब्ध गराउन सकिने भवन उपलब्ध त्यहाँ छन् । जीर्ण शौचालयलाई प्रयोगयोग्य बनाइएको छ ।

गाउँपालिकामा एमबिबिएस चिकित्सक १ जना छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार लक्षण नदेखिएका संक्रमितलाई स्वास्थ्यकर्मीकै निगरानीमा आइसोलेसनमा राखिने अध्यक्ष ओझाले बताए । ‘डब्लुएचओको मापदण्ड र सरकारको निर्देशनअनुसार लक्षण नदेखिएका संक्रमितलाई आइसोलेसनमा राख्ने हो,’ उनले भने, ‘गम्भीर प्रकृतिका र भेन्टिलेटरको आवश्यकता पर्नेलाई अस्पतालमै पठाउँछौं ।’

कोरोनाले उक्त भवनको सदुपयोग गर्ने अवसर सिर्जना भएपछि गाउँपालिकाले भविष्यमा तालिम केन्द्रकै रुपमा विकसित गर्ने अध्यक्ष ओझाले योजना सुनाए ।

रुपामा गाउँपालिकाकै स्वास्थ्यकर्मीले क्वारेन्टिनमा बस्नेहरुको स्वाब संकलन गरिरहेको उनले जानकारी दिए ।

सबै तस्बिर ईश्वर देवकाेटा

तपाईको प्रतिक्रिया