पोखराका पहिलो संक्रमितको बयानः कसरी सर्यो अनुमानै छैन
पाेखरा
म लामो समयदेखि पोखरामा प्राध्यापन र वकालत पेसामा संलग्न छु । मेरो परिवार भने काठमाडौंमा बस्दै आएको छ । हाल म काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत छु । अहिले मेरो स्वास्थ्य निकै राम्रो भएको छ ।
पोखराको डेरामा बेहोस अवस्थामा गएको मंगलबार मलाई भेटेपछि शुभेच्छुकहरुले गण्डकी मेडिकल कलेजमा लग्नुभएको रहेछ । त्यहाँबाट फेरि हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको रहेछ । तत्काल निर्णय गरेर साथीहरुले मलाई काठमाडौं पठाउनुभएको उहाँहरुलाई जति धन्यवाद दिए पनि पुग्दैन ।
तरकारी किन्न सिर्जनाचोक जान्थें, मर्निङ वाकमा निस्कन्थें, ३/४ दिन अघि बार्बरसप गएर कपाल काटेको थिएँ
काठमाडौं ल्याएर ह्याम्स हस्पिटलको आइसियुमा मलाई भर्ना गरिएको रहेछ । साँझपख बल्ल मेरो होस खुल्यो । डाक्टरले ‘तपाईंलाई छोराले यहाँ ल्याएर भर्ना गर्नुभएको हो’ भने । पोखराको मान्छे काठमाडौंको अस्पतालमा पाउँदा आफैलाई अचम्म लाग्यो ।
उपचारकै क्रममा मेरो स्वाब परीक्षण गरिएको रहेछ । परीक्षण रिपोर्ट पोजेटिभ आयो । यसबाट म आफैं अचम्ममा परें । मलाई कसरी कोरोना सर्यो भन्ने कुनै अनुमान नै गर्न सकेको छैन ।
बिरामी भएपछि र त्यसभन्दा अगाडि मेरो सम्पर्कमा आएका साथीभाइ र सुभेच्छुकहरु अहिले शंकाको घेरामा हुनुहुन्छ । प्रत्यक्ष सम्पर्कमा आएका ३९ जनाको त स्वाब संकलन भइसकेको खबर मैले मंगलबारमात्र पाएँ । किनभने मंगलबार (आज) मात्र मलाई डाक्टरले फोन चलाउन दिएका छन् । आजमात्रै परिवारका सदस्यसहित धेरै साथीभाइ र शुभेच्छुकको फोन आएको छ । कतिको फोन त रिसिभ गर्न पनि भ्याएको छैन ।
मेरो स्वास्थ्यप्रति चिन्ता जाहेर गर्ने र स्वास्थ्यलाभको कामना गर्ने अनि उपचारका लागि काठमाडौं ल्याउन अग्रसरता जनाउने सबैप्रति आभार व्यक्त गर्दछु । मसँग सम्पर्कमा आएकै कारण शंकाको घेरामा रहनुभए अनि घरमै क्वारेन्टाइनमा बस्नुभएका साथीमा खेप्नुपरेको मानसिक दबाबप्रति म चिन्तित छु । मेरो सम्पर्कमा नआउनुभएको भए उहाँहरुले मानसिक र सामाजिक दबाब खेप्नुपर्ने थिएन । आशा र कामना गर्छु, उहाँहरु सबैको रिपोर्ट नेगेटिभ नै आउँछ ।
मैले पहिला नै भनें कि मलाई कहाँबाट कोरोना संक्रमण भयो केही अनुमान गर्नै सकेको छैन । मैले पत्नीलाई पनि सोधें, मलाई कसरी सर्याे होला है भनेर । मेरो दैनिकी बिहान ४ बजे उठेपछि सुरु हुन्छ । दैनिक मर्निङ वाकमा निस्कन्थें । आलुमाइला चोक नजिकैको डेराबाट म मूलबाटो हुँदै सिद्धार्थ चोक अनि कहिलेकाँही विन्ध्यवासिनीसम्म पुगेर साढे ५ बजेभित्रै फर्किसक्छु । म तरकारी किन्न जाने सिर्जनाचोकमा हो । मैले मर्निङ वाक र तरकारी किन्न जाँदा मास्क भने प्रयोग गरेको थिइनँ ।
लकडाउन सुरु भएपछि आफूले पढाउने क्याम्पसमा २ पटक बैठक बसियो । ठ्याक्कै मिति थाहा भएन, बिरामी परेका ३/४ दिन अगाडि डेरा नजिकैको बार्बर सपमा गएर कपाल काटेको हो । कपाल लामो भएको थियो, बन्द भएको बार्बर सप खोल्न लगाएर कपाल फालेको हो । जेठ १८ गते म गण्डकी विकास बैंक पुगें । म त्यो बैंकको कानुनी सल्लाहकार रहेकाले करार सम्झौता नवीकरण गर्न त्यहाँ पुगेको थिएँ ।
बिरामी परेको दिनको अघिल्लो रात खाना खाएर म सुतेको हो । बिहान उठेको पनि याद छ । त्याे दिन मर्निङ वाक गएनँ कि जस्ताे लाग्छ । तर कतिबेला के कारणले म बेहोस भएँ थाहा पाउने कुरै भएन । काठमाडौं आएर पो बल्ल चाल पाएँ ।
स्वाबकाे पहिलो रिपोर्ट शुक्रबार आउँदा कोराना संक्रमण देखिए पनि मंगलबार (आज) बिहानको रिपोर्ट नेगेटिभ आएको छ । आजै बिहान फेरि स्वाब लगेको छ । साँझसम्म या भोलिसम्म रिपोर्ट आउँछ होला । अर्को रिपोर्ट नेगेटिभ आएपछि मलाई आइसियुबाट वार्डमा सार्छ । मलाई मेन्जिाइटिसको समस्या रहेको डाक्टरले बताएका छन् । यो रोगका बारेमा मलाई पनि थाहा थिएन । यसको उपचारका लागि पनि केही दिन अस्पताल बस्नुपर्ने हुन्छ ।
(नाेट : उनकै आग्रहमा नाम खुलाइएकाे छैन)
(कार्यकारी सम्पादक भरत कोइरालासँग टेलिफोनमा गरेको कुराकानीमा आधारित )
सांकेतिक तस्बिर : सामाजिक सञ्जाल
सम्बन्धित समाचार
पोखराका ६० वर्षे संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ
कसरी संक्रमित भए कास्कीका ६० वर्षे पुरुष, पत्ता लगाउनै मुस्किल !
पोखराका संक्रमित पुरुषको सम्पर्कमा आएका ३५ जना सम्पर्कमा, अधिकांश हाइप्रोफाइल
संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तीसंगै थिए प्रदेशमन्त्री विकास लम्साल
पोखराका ६० वर्षे संक्रमितको सम्पर्कका ३९ जनाको स्वाब नतिजा भोलि
तपाईको प्रतिक्रिया