समाज किन बिब्ल्याँटो बाटोमा ?

समाधान संवाददाता २०७७ जेठ २८ गते ६:४६


एकजनाको मृत्यु हुँदा पनि शव व्यवस्थापन गर्ने ठाउँ तय गर्न घन्टौं लाग्नु दुखद कुरा हो । यसबाट स्थानीय र प्रदेश सरकारबाट शव व्यवस्थापनका लागि खास तयारी कागजमा मात्रै भएको रहेछ भन्ने देखाएको छ ।

स्याङ्जाको वालिङ ३ का ६० वर्षे हर्कबहादुर गुरुङको जीवन आफैंमा रोगले थिलोथिलो थियो । मिर्गाैला रोग, उच्च रक्तचाप, रक्त अल्पता लगायतले गाँजेको उनको जिउमा कोरोना भाइरस पनि प्रवेश गरेपछि उपचारका लागि पोखरा ल्याइएको थियो । तर उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति ११ः २५ बजे अन्तिम सास फेरे ।

रोजगारीका लागि हर्क भारत गएका थिए । लकडाउन लागेको हुँदा २२ जेठमा स्वदेश फर्किए । उनको नगरपालिका वालिङले सीमा नाका सुनौलीबाट उद्धार ग¥यो । वालिङकै क्वारेन्टाइनमा बस्दा उनलाई समस्या भएपछि उपचारका लागि पोखरा ल्याइएको थियो । तर उनी दैवको प्यारो भए । जीवित छँदा रोगले सताइएका उनको मृत्युपछि पनि शवले सुख पाएन । मृत्युको २० घन्टासम्म शव व्यवस्थापन हुन सकेन ।

एकातिर परिवारका सदस्यले अंकमाल गरेर उनलाई विदाई गर्न पाएनन् । कोरोना भाइरस संक्रमणको डर र नियमानुसारै परिवारले सदस्यले शव छुन सकेनन्, पाएनन् । शव व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, स्थानीय प्रशासन र नेपाली सेनाको जिम्मामा थियो । तर पोखरा महानगरपालिकासँग सहकार्य गरी प्रहरी प्रशासनले गुरुङको शव व्यवस्थापन गर्न निकै गोता खायो । सेतीनदीको किनारमा खाल्डो खनेर शव पुर्ने तयारी गर्दा पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोलाको अगुवाइमा स्थानीय विरोधमा उत्रिए । पोखरा २० का वडाध्यक्ष सिम गुरुङ र भलामका बासिन्दा पनि शव सेती किनारको रिठ्ठाघाटमा गाड्न नदिने पक्षमा रहे ।


बिरामी, सुत्केरी, वृद्धवृद्धा, असहाय, मृतकका हकमा जस्तै परिस्थिति र आन्दोलनमा पनि बाटो खुला गर्ने नेपाली समाजको चरित्र हो । तर पोखराको सोमबारको घटनाले समाज बिब्ल्याँटो बाटोमा जाँदैछ भन्ने प्रमाणित गरेको छ ।

संघीय सरकार र प्रदेश सरकारले महिना दिनअघि नै कोरोना संक्रमितको मृत्यु भए शव व्यवस्थापन कसरी गर्ने भनेर कार्यविधि बनाएका थिए । त्यसै अनुसारको जिम्मेवारी स्थानीय प्रशासन, प्रहरी र सेनाको थियो । तर कार्यविधि बनाएको यतिका समयपछि एकजनाको मृत्यु हुँदा पनि शव व्यवस्थापन गर्ने ठाउँ तय गर्न घन्टौं लाग्नु दुखद कुरा हो । यसबाट स्थानीय र प्रदेश सरकारबाट शव व्यवस्थापनका लागि खास तयारी कागजमा मात्रै भएको रहेछ भन्ने देखाएको छ । त्यो जस्तै अर्काे दुखद पक्ष भनेको स्थानीयको अवरोध र त्यो पनि जनप्रतिनिधिकै अगुवाइमा हुनु हो ।

मर्दापर्दा काम लाग्ने नेपाली समाजको चरित्रलाई सोमबारको घटनाले बिब्ल्याँटो बनाइदिएको छ । बिरामी, सुत्केरी, वृद्धवृद्धा, असहाय, मृतकका हकमा जस्तै परिस्थिति र आन्दोलनमा पनि बाटो खुला गर्ने नेपाली समाजको चरित्र हो । तर पोखराको सोमबारको घटनाले समाज बिब्ल्याँटो बाटोमा जाँदैछ भन्ने प्रमाणित गरेको छ । त्यो असाध्यै संवेदनाहीन, अमानवीय र अनेपाली चरित्र हो । यस्तो कार्यमा उक्साउने कुरा कसैलाई पनि सुहाउने कुरा होइन । यसले मृतकका परिवारलाई मात्रै होइन सिंगो नेपाली समुदायको भावनामा चोट पुगेको छ ।

सँगसँगै प्रशासनले ख्याल गर्नुपर्ने कुराचाहिँ शव व्यवस्थापनका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड पनि ख्याल गर्नुपर्ने हो । जस्तो पानीको स्रोतभन्दा टाढा शव व्यवस्थापन गर्नुपर्ने कुरा, गहिरो खाडल खन्नुपर्ने कुरा आदिआदि । यो घटनाबाट पाठ सिकेर समाज र प्रशासन एवं सरकारहरु अग्रगामी बन्नुको विकल्प छैन ।

तपाईको प्रतिक्रिया