मुख्यमन्त्री गुरुङद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण
समाधान संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँ शुक्लागण्डकी स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्रको निरीक्षण गरेका छन् । जिल्लामा भेटिएका कोरोना भाइरस संक्रमित ३ जनाको उपचार
केन्द्रमा भइरहेको छ ।
उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको हौसला बढाउन र वस्तुगत अवस्था बुझ्न मुख्यमन्त्री निरीक्षणमा पुगेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।
केन्द्रको तर्फबाट चिकित्सकहरुले कोरोना भाइरस संक्रमितको उपचारमा भइरहेको प्रगतिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । उनीहरुले केन्द्रको पूर्वाधार र गुणस्तरीयतामा सुधारको खाँचो भइरहेकाले सहयोग गर्न मुख्यमन्त्री समक्ष अपिल गरेका छन् ।
मुख्यमन्त्री गुरुङले प्रदेशका स्वास्थ्य संस्थाहरुको दीगो विकास गर्न आगामी आवको नीति तथा कार्यक्रममा समावेश गरिसकेको जानकारी दिए । बजेटमा समेत प्रदेशका स्वास्थ्य संस्थाको पूर्वाधार विकासमा सम्बोधन गरिने उनले सुनाए ।
संक्रमितको उपचारमा कुनै किसिमको कमी नगर्न मुख्यमन्त्रीले केन्द्रका अधिकारीहरुलाई आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया