पोखरामा उपचाररत संक्रमितको इम्युनिटी बढाउन राउतले दिए आयुर्वेद औषधि

समाधान संवाददाता
पोखरा, २८ जेठ
पोखरा स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस संक्रमितको इम्युनिटी पावर बढाउन आयुर्वेद औषधि वितरण गरिएको छ ।
पोखरा तेर्सापट्टीस्थित कुशुम कृष्ण आयुर्वेद फर्माका सञ्चालक कृष्ण राउतले रोग प्रतिरोधात्मक क्षमता बढाउने विभिन्न प्रकारका औषधि प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
आइसोलेसनमा रुपा गाउँपालिका २ र पोखरा महानगरका २ गरी ४ जना उपचाररत छन् । उनीहरुको रोग प्रतिरोध क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जारी गरेको प्रोटोकल अनुसारको औषधि उपलब्ध गराएको राउतले जानकारी दिए ।
च्यावन प्राश, अश्व गन्धा चूर्ण, तुलसी चिया, यष्ठि मधु चूर्ण, त्रिकटु चूर्ण, गुडुची चूर्ण उपलब्ध गराइएको हो । संक्रमितको उपचारमा खटिने अग्र भागका स्वास्थ्यकर्मीलाई पनि औषधि उपलब्ध गराएको राउतले जनाए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोनाको उपचार तथा खोप तयार नभइसकेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण भएका जडिबुटीहरुको प्रयोग गर्न सुझाव दिएको छ ।
अस्पतालमा बुधबारदेखि नै आयुर्वेदिक औषधि प्रयोग प्रोटोकल अनुसार नै थालिएको छ । संक्रमितहरुको तनाव व्यवस्थापनका लागि योगाभ्यास र प्राणायाम पनि सुरुआत गर्ने तयारी अस्पतालको छ ।
विभागद्वारा जारी कोभिड १९ रोकथाम एवं व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम कार्ययोजना तय गरी आयुर्वेद औषधीको प्रयोग थालिएको छ ।
गण्डकी आयुर्वेद औषधालय कास्कीका प्रमुख आयुर्वेद चिकित्सक डा कुमार कासुलाले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखासँगको समन्वयमा आयुर्वेद औषधी प्रयोग थालिएको बताए ।
संक्रमित र क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वास्थ्य क्षमता बढाई कोरोना विरुद्ध लड्न सक्ने बनाउन आयुर्वेद औषधि उपयुक्त रहने विश्वास राउतको छ ।
राउतको सक्रियतामा सामाजिक विकास मन्त्रालय, प्रदेशका जिल्लाहरु तनहुँ, बागलुङ, म्याग्दी, स्याङ्जा, पर्वतमा निशुल्क औषधि वितरण भइसकेको छ । गोरखा र नवलपुरमा समेत वितरणको तयारी रहेको उनले सुनाए ।
तपाईको प्रतिक्रिया