तनहुँका पालिका मिलेर पिसिआर मेसिन खरिद गर्ने

कृष्ण न्यौपाने
दमौली, २९ जेठ
तनहुँ जिल्लाका स्थानीय तहको लागत सहभागितामा कोरोना परीक्षणका लागि पिसीआर उपकरण खरिद गरिने भएको छ । कोभिड–१९ को नियन्त्रण, उपचार तथा व्यवस्थापन गर्ने क्रममा क्वारेन्टिनमा रहेका व्यक्तिहरुको पिसीआर परीक्षणमा ढिलाई भएपछि जिल्लाका स्थानीय तहले लागत सहभागितामा पिसीआर उपकरण खरिद गर्न लागेका हुन् ।
बिहीबार बसेको स्थानीय तहका प्रमुख सहितको बैठकले पिसीआर उपकरण सहितको पूर्वाधार निर्माण गर्न १ करोड बजेट विनियोजन गर्ने र उक्त बजेट स्थानीय तहहरुबाट खर्च व्यहोर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेका अनुसार उक्त कार्यका लागि शुक्लागण्डकी नगरपालिकाले १४, व्यास नगरपालिकाले १२, भीमाद नगरपालिकाले १२, भानु नगरपालिकाले १२, म्याग्दे गाउँपालिकाले ९, आँबुखैरेनी गाउँपालिकाले ९, ऋषिङ गाउँपालिकाले ९, घिरिङ गाउँपालिकाले ९ र देवघाट गाउँपालिकाले ५ प्रतिशत बजेट व्यहोर्ने निर्णय भएको छ ।
जसअनुसार शुक्लागण्डकी नगरपालिकाले १४ लाख, व्यास, भानु र भीमाद नगरपालिकाले १२/१२ लाख, म्याग्दे, आँबुखैरेनी, बन्दीपुर, रिसिङ र घिरिङ गाउँपालिकाले ९/९ लाख र देवघाट गाउँपालिकाले ५ लाख खर्च व्यहोर्नेछन् ।
क्वारेन्टिनमा बसेकाहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा पठाउनुपर्ने र पोखरामा परीक्षणमा ढिलाई हुने गरेकाले जिल्लामै उपकरण राखेर कोरोना परीक्षणका लागि स्थानीय तह अग्रसर भएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । ‘गण्डकी प्रदेशको पोखरामा मात्रै पिसीआर परीक्षण हुँदा रिपोर्ट आउन ढिलाई भइरहेको छ, जिल्लामै उपकरण राखेर परीक्षण गर्न सके सहज हुन्छ,’ उनले भने, ‘सोही कारण सबै स्थानीय तहको सहभागितामा उपकरण खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।’
नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम पिसीआर परीक्षण गर्ने उपकरण खरिद गरी आवश्यक पूर्वाधार निर्माण गर्ने जिम्मेवारी शुक्लागण्डकी नगरपालिकालाई प्रदान गरिएको छ । पिसीआर परीक्षणका लागि प्रयोगशाला शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिनेछ । पिसीआर प्रयोगशालाको लागि आवश्यक जनशक्ति गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयसँग माग गर्ने निर्णय समेत भएको छ ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी लगायतको उपस्थिति थियो ।
३५४ को रिपोर्ट आउन बाँकी
जिल्लास्थित विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएपनि अझै ३ सय ५४ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार भानु नगरपालिकाका २५, व्यास नगरपालिकाका ९१, शुक्लागण्डकी नगरपालिकाका २५, म्याग्दे गाउँपालिकाका ४१, घिरिङ गाउँपालिकाका ५२, ऋषिङ गाउँपालिकाका १ सय २२ जनाको रिपोर्ट आउन बाँकी छ ।
जिल्लामा हालसम्म ७ सय ७९ जनाको स्वाब संकलन गरिएकामा ४ सय २२ जनाको रिपोर्ट नेगेटिभ छ भने तीन जनामा कोरोना पुष्टी भएको छ । तीन जनाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया