पोखराको प्रदर्शनमा घुसपैठ, २ ‘उच्छृंखल’ युवा पक्राउ
समाधान संवाददाता
पोखरामा स्वतन्त्र युवाले गरेको प्रदर्शनमा घुसपैठ भएपछि २ युवा पक्राउ परेका छन् ।
सामाजिक सञ्जालबाट आह्वान गरिएको उक्त प्रदर्शनका क्रममा विमलबहादुर पहारी र प्रेमबहादुर केसीले प्रहरीलाई ढुंगा प्रहार गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्स्पेक्टर नरहरि अधिकारीले जानकारी दिए ।
‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम भएपनि आयोजकको भावना विपरीत कार्य भएको पाइयो,’ उनले भने, ‘स्वतन्त्र युवा समूहले १ विज्ञप्ति पनि निकालेको रहेछ । प्रदर्शनमा तनाव सिर्जना गराउन उच्छृंखल व्यक्तिले त्यस्तो गरेको पाइयो ।’
सरकारले कोरोना भाइरस रोकथाममा उल्लेखनीय रुपमा काम नगरेको भन्दै पोखरामा बिहीबार बिहान ११ बजेदेखि प्रदर्शन सुरु भएको थियो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पर्याप्त पिसिआर परीक्षण नभएको, क्वारेन्टिन व्यवस्थित नभएको र सरकारले गरेको खर्च पारदर्शी नभएको प्रदर्शनकारीको भनाइ छ ।
स्वतन्त्र समूहले आयोजना गरेको प्रदर्शनमा केही राजनीतिक व्यक्तिहरुले घुसपैठ गरेको आयोजकले बताएका छन् ।
आयोजकमध्येकी १ मोनिका रानाभाटले उक्त विरोध प्रदर्शनको अन्तिम समयमा राजनीतिक दलसँग आबद्ध केही युवाले गरेको अभद्र व्यवहारको निन्दा गरेकी छन् ।
रानाभाटले लेखेकी छन्, ‘सरकारलाई कोभिड–१९ को व्यवस्थापन संवेदनशील र जवाफदेही बनाउने उद्देश्यका साथ पोखराका स्वतन्त्र युवाहरु मिलेर सहिद चोकस्थित जिल्ला प्रसाशन कार्यालय कास्की अगाडि गरेको मौन र शान्तिपूर्ण प्रदर्शनको अन्तिम घडीमा राजनीतिक दलसँग आबद्ध केही युवाहरुले गरेको अभद्र व्यवहारको हामी घोर निन्दा गर्दछौं ।’
कार्यक्रमको मापदण्ड विपरीत कार्य गर्ने उक्त युवाहरुको आयोजकसँग कुनै सम्बन्ध नरहेको उनले जनाएकी छन् ।
तपाईको प्रतिक्रिया