प्रहरीलाई ढुंगा हान्ने वडाध्यक्षकै छोरा
समाधान संवाददाता
पोखरामा बिहीबार स्वतन्त्र युवाहरुले गरेको प्रदर्शनमा प्रहरीलाई ढुंगा प्रहार गरेर तनाव उत्पन्न गराउने २ युवाहरु नै कांग्रेस भातृ संस्था नेपाल विद्यार्थी संघमा आबद्ध रहेको खुलेको छ । उनीहरु दुवै वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा छन् ।
पक्राउ परेका २ मध्ये १ युवा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पोखरा महानगरपालिकाका वडाध्यक्षकै छोरा भएको खुलेको छ ।
विमलबहादुर पहारी पोखरा वडा ६ का अध्यक्ष जगतबहादुर पहारीका छोरा हुन् ।
उनीसँगै पक्राउ परेका प्रेमबहादुर केसी नेविसंघमा आबद्ध रहेको स्रोतले बतायो ।
शान्तिपूर्ण प्रदर्शनमा तनाव उत्पन्न गराउन प्रहरीलाई ढुंगा प्रहार गरेपछि पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता इन्स्पेक्टर नरहरि अधिकारीले बताएका थिए ।
प्रदर्शनको मापदण्ड विपरित कार्य गरेका दुबै युवा आयोजकसँग सम्बन्ध नरहेको आयोजकले जनाएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पर्याप्त पिसिआर परीक्षण नभएको, क्वारेन्टिन व्यवस्थित नभएको र सरकारले गरेको खर्च पारदर्शी नभएको भन्दै सामाजिक सञ्जालमार्फत आह्वान गरी प्रदर्शन भएको थियो ।
आयोजकले कार्यक्रममा घुसपैठ भएको बताएका छन् ।
सम्बन्धित समाचार : पोखराको प्रदर्शनमा घुसपैठ, २ ‘उच्छृंखल’ युवा पक्राउ
तपाईको प्रतिक्रिया