सबै कार्यालय अब २ सिफ्टमा खुल्ने

समाधान संवाददाता
सरकारले घोषणा गरेको लकडाउन मोडालिटीमा मुलुकभरका कार्यालय २ सिफ्टमा सञ्चालनमा आउने भएका छन् । सरकारी तथा निजी, बैंक वित्तीय संस्थालाई २ सिफ्टमा सञ्चालन गरिने भएको हो ।
असार १ गतेदेखि सबै कार्यालयहरु बिहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
बुधबारको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउँदै कर्मचारीबीच दूरी कायम गरी कार्यालय २ सिफ्टमा सञ्चालन गर्न सकिने निर्णय गरेको हो ।
सार्वजनिक सवारी सञ्चालनमा भने सरकारले प्रतिबन्ध कायम रहेको जनाएको छ । डा खतिवडाका अनुसार निजी सवारी साधन जिल्ला भित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालनमा आउने तर उक्त प्रणाली मोटरसाइकलमा लागू नहुने बताए ।
मोटरसाइकलमा १ जना (चालक) मात्र सवार हुन पाइने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन आह्वान गरेको थियो ।
तपाईको प्रतिक्रिया