रिपोर्ट नेगेटिभ आए पनि समाज पोजेटिभ भएन

समाधान संवाददाता २०७७ जेठ २९ गते २१:२५

सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आयो । अझै १४ दिन घरमै बस्नुपर्ने हो कि बाहिर हिँड्न पाउने/नपाउने भन्ने सम्बन्धित निकायले स्पष्ट पार्नुपर्छः रोहितराज बास्तोला

Advertisement

संक्रमितको सम्पर्कमा आएको थाहा भएपछि त मेरो घरतिर फर्किएर साससमेत फेर्नै नहुनेजस्तो भावना सिर्जना भयो, रिपोर्ट नेगेटिभ हुँदा पनि अझै उस्तै त्रास छः शुकदेव गौतम 

अनुप पौडेल
पोखरा, २९ जेठ

अधिवक्ता शुकदेव गौतम गत साता मंगलबार एकजना अग्रज कानुन व्यवसायी बिमार भएको थाहा पाएपछि पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज पुगे । चिकित्सकले थप उपचारका लागि काठमाडौं लैजान सुझाएपछि हेलिकोप्टर खोज्न र गृह मन्त्रालयबाट अनुमति नआउँदासम्म उनी बिरामीसँगै रहे ।

उपचारका लागि काठमाडौं पठाउन पाएकोमा अधिवक्ता गौतम खुसी थिए । तर, उपचारका लागि पठाएकै मान्छेमा ३ दिनपछि कोरोना संक्रमण देखियो । गौतम संक्रमितको सम्पर्कमा रहेको चर्चा छरछिमेकमा चल्यो ।

Advertisement

आफूलाई नि संक्रमण भयो भन्ने डर एकातिर थियो, समाजले संक्रमित नै भएकोजस्तो व्यवहार गर्दा गौतमले असहज महसुस गरे । ‘हामी केही साथीभाइ राम्रै कामका लागि गएका थियौं । उहाँ (संक्रमित) सँग सम्पर्कमा आएको भन्ने कुरा मैले समाजमा लुकाइनँ । तर छिमेकमा त कोरोना नै भइसक्यो भनेर कति छिमेकी त हाम्रो घरको बाटै हिँड्न छोड्नुभयो,’ उनले भने ।

कोरोना संक्रमितसँग सम्पर्कमा आउँदा उनी जति त्रसित थिए त्योभन्दा बढी उनको समाज भयभित बन्यो । छिमेकमा त्रास बढेकाले उनी सेल्फ क्वारेन्टाइनमा बसे ।

‘मानवीय उद्धारका लागि गएँ, गल्ती गरेको भए पनि मैले गरेँ, राम्रो पनि गरेँ भन्ने मलाई थियो,’ उनी भन्छन्, ‘संक्रमितको सम्पर्कमा आएको थाहा भएपछि त मेरो घरतिर फर्किएर साससमेत फेर्नै नहुनेजस्तो भावना सिर्जना भयो ।’ पोखरा–१७ छोरेपाटन बस्ने गौतमको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपनि छिमेकी अझै ढुक्क छैनन् ।

अर्का अधिवक्ता रोहितराज बाँस्तोला पनि घर बाहिर जाने/नजानेबारे अन्योलमा छन् । ‘सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आयो । अब हामी अझै १४ दिन घरमै बस्नुपर्ने हो कि सुरक्षित भएर बाहिर हिँड्न पाउने/नपाउने भन्ने सम्बन्धित निकायले स्पष्ट पार्नुपर्छ,’ उनले भने ।

पोखराका सामाजिक अभियन्ता रामबहादुर पौडेल स्वास्थ्यसँग सम्बन्धित निकायले संक्रमितको सम्पर्कमा आएका आफूहरुबारे चासो नराख्दा आजित भइसके । प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले कन्ट्र्याक ट्रेसिङमा आएका ३९ जनाबारे चासो नराखेपछि पौडेलले त्यसलाई गैरजिम्मेवार रबैया भनेका छन् ।

‘संक्रमितको सम्पर्कमा आएपछि मैले उहाँलाई पटकपटक फोन गरेँ । फोन नउठेपछि म्यासेज पनि गरेँ । तर उहाँले कुनै चासो दिनुभएन,’ उनले थपे, ‘हामीजस्ता सामाजिक अगुवाको कुराको सुनुवाइ हुँदैन भने अरु सामान्य नागरिकको के होला ?’

अधिवक्ताद्वय गौतम, बाँस्तोला र अभियन्ता पौडेल पोखराका पहिलो कोरोना संक्रमितको सम्पर्कमा आउने ३९ जनामध्येका हुन् । तर आफूहरुको रिपोर्ट नेगेटिभ आउँदा पनि सम्बन्धित निकायले कुनै सम्पर्क नगर्दा दैनिक कामकाजमा क्रियाशील हुने/नहुनेबारे अन्योलमा छन् ।

पोखरका ६० वर्षे पुरुषमा गत हप्ता शुक्रबार कोरोना पुष्टि भएको थियो । पेसाले कानुन व्यवसायी ती संक्रमित डेरामै बेहोस भेटिएपछि २० जेठमा हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । काठमाडौं लगिएपछि कोरोना पुष्टि भएका उनको कन्ट्र्याक ट्रेसिङ गर्दा ३९ जना सम्पर्कमा आएको भेटिएको थियो । आइतबार स्वाब लिइएकोमा मंगलबार राति सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सम्पर्कमा आएकाहरुले सरोकारवालाले समन्वय नगरेको बताइरहँदा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेल जोखिमको संक्रमण कायम रहेकाले घरमै बस्न उचित हुने बताउँछन् । ‘संक्रमणको जोखिम हुँदैन भने निस्कन मिल्यो । पिसिआर भनेको स्वाब परीक्षण गर्दासम्मलाई हो,’ उनले भने, ‘उहाँहरु आत्तिनु भएन । अहिले घरमा बस्नुबाहेक अरु उपाय छैन ।’

पहिलो संक्रमितको सम्पर्कमा आएका अधिकांश कानुन व्यवसायी, प्राध्यापक छन् । त्यसबाहेक औषधि पसले र हजामसमेत संक्रमितको सम्पर्कमा आएको कन्ट्र्याक ट्रेसिङमा भेटिएको छ । हालसम्म पोखरासहित कास्की जिल्लाभर गरेर ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा उपचाररत संक्रमितबाहेक अरु सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रदेशभर बिहीबारसम्म १ सय ५१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितमध्ये ११ जना निको भएर घर फर्किएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । स्याङ्जा वालिङका १ संक्रमितको भने गत आइतबार उपचारको क्रममा पोखरामै मृत्यु भएको थियो ।

‘ढुक्क हुन सकिँदैन’

डा. बद्री पौडेल
फिजिसियन, चरक मेमोरियाल हस्पिटल

पिसिआर नेगेटिभ आउनु भनेको संक्रमितको सम्पर्कमा आउनुभएकाहरु तत्कालका लागि संक्रमित हुनुहुँदैन भन्ने अर्थ हो । कुनै भाइरसको प्रभाव तत्काल नदेखिन सक्छ । त्यसको असर देखिन समय लाग्ने भएकाले रेस्पोन्स नगरे पनि सशंकित हुनुपर्छ ।

त्यसैले ढुक्क भने हुन मिल्दैन । कोरोनाको रिपोर्ट आएको १४ दिन क्वारेन्टाइनमा बस्दा राम्रो हुन्छ । संक्रमितको सम्पर्कका सबै अझै १ हप्ता घरमै बस्नुभयो, अरुको सम्पर्कमा आउनुभएन भने त्यो सबैभन्दा बुद्धिमानी हुन्छ ।

तपाईको प्रतिक्रिया