बाइक दुर्घटना भएपछि उपचार गर्न पोखरा आएका थिए कुश्माका संक्रमित

समाधान संवाददाता २०७७ जेठ ३० गते ९:३६

अनुप पौडेल, पोखरा

Advertisement

पर्वतको कुश्मा नगरपालिकाका कोरोना संक्रमित मोटरसाइकल दुर्घटना भएपछि उपचारका लागि पोखराको मनिपाल अस्पताल आएको खुलेको छ ।

संक्रमित ३५ वर्षे पुरुषको स्वाब नगरपालिकाले नपठाएको कुश्मा नगरपालिकाका सूचना अधिकारी धु्रवराज पौडेलले जानकारी दिए ।

Advertisement

पौडेलका अनुसार मोटरसाइकल दुर्घटनामा परेपछि १० दिन पहिले कुश्मा ३ का उनी पोखरा आएका हुन् ।

उक्त वडाका वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार संक्रमितको विदेशबाट आएको ट्राभल हिस्ट्री छैन । उनले भने, ‘८/१० दिन पहिले बाइक दुर्घटनामा परेर उनी पोखरा गएका हुन् । टाउकोमा चोट लागेपछि २ दिन जति बेहोस थिए । टाउनकोको अप्रेसन भएको हो । खै कताबाट त्यस्तो रिपोर्ट आएछ ।’

Advertisement

प्रदेश स्वास्थ्य निर्देशनालयले कुश्माका १० जनामा संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले १० जनामा संक्रमण देखिएको भनेपनि मोटरसाइकल दुर्घटनामा परेकाबाहेक अर्को पुरुषबारे नगरपालिका बेखबर छ । ‘हामीले पठाएको स्वाबको सबै रिपोर्टिङ हुन्छ । यहाँबाट स्वाब नपठाए पनि १ जना बाइक दुर्घटनामा परेर पोखरा गएका हुन् । अर्को पुरुष को हुन् थाहा भएन,’ सूचना अधिकारी पौडेलले भने ।

पर्वतका पालिकाले कुश्मामा क्वारेन्टाइन बनाएका छन् । कुश्माका २ होटल र एउटा विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको छ ।

ती क्वारेन्टाइनमा बसिरहेका मध्ये १ सय ७५ जनाको स्वाब पोखरा पठाएकोमा कुश्माका ८ जनाको पोजेटिभ आएको हो । आठै जना भारतबाट आएका हुन् ।

कुश्माबाहेक पैंयु र विहादी गाउँपालिकाका १÷१ जनामा आज संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पर्वतका ३२ वर्षे पुरुषमा संक्रमण देखिएको बताए पनि उनी कुन पालिकाका हुन् भन्ने खुलेको छैन ।

जिल्लाका अरु पालिकालेसमेत कुश्मामा क्वारेन्टाइन बनाएका छन् । ती क्वारेन्टाइनमा अहिले करिब ३ सय जना बसिरहेको सूचना अधिकारी पौडेलले बताए ।

गण्डकी प्रदेशका ४ जिल्लाका ३७ जनामा आज बिहान संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा स्याङ्जाका २२, पर्वतका १३, तनहुँ र नवलपुरका १/१ जना छन् ।

आज थपिएका ३७ जनासहित गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ । संक्रमितमध्ये ११ जना निको भएका छन् भने १ को मृत्यु भएको छ । वालिङ नगरपालिकाका ५८ वर्षे पुरुषको गत २५ जेठमा पोखरास्थित क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया