कन्ट्र्याक ट्रेसिङको घेराभित्र घरको क्वरेन्टाइनमा

समाधान संवाददाता २०७७ जेठ ३० गते १३:५४

सुुरेन्द्र थापामगर

पोखराका एकजना वरिष्ठ अधिवक्ता एकाएक बिरामी भएको खबर रामबहादुर पौडेलबाट गत २० गते बिहान फोनमार्फत जानकारी पाएँ । मलाई पढाएको सर हुनुका कारण म ढिला नगरी गण्डकी मेडिकल कलेजमा गएँ । उहाँलाई एकजना पुरुषले इमर्जेन्सी वाडमा समातिराखेका थिए । उहाँ कामिरहनु भएको थियो ।

हामी कानुन व्यवसायीहरु जम्मा भएका थियौं । पछि उहाँलाई एक्सरे तथा सिटीस्क्यान रुममा लगियो । प्रारम्भिक रिर्पोटमा उहाँलाई सोडियम कम भएको भनियो । म मेरो काम परेका कारण त्यहाँबाट हिँडे । पछि साथीहरुले उहाँलाई काठमाडौंको हेम्स अस्पतालमा थप उपचारका लागि हेलिकप्टरमार्फत लाने व्यवस्था गर्नु भएछ ।

२३ गते बेलुकीपख उच्चअदालत बार पोखराका अध्यक्ष रोहितराज बास्तोलाले फोन गरेर थाहा पाउनु भयो ? कसैले फोन गरेको छ ? सरलाई पोजेटिभ भएको छ रे भन्नु भएर फोन राखिदिनु भयो । उहाँको हतास मनस्थिति मलाई थाहा भयो ।

म पनि असमन्जस्यतामा परेँ । आमा, म र पत्नी टिभी हेर्दै थियौं । म बाहिर निस्केर पत्नीलाई भने मैले अस्ति भेट्न गएको सरलाई पोजेटिभ देखियो रे भनें । उनले आत्तिएको अनुहारले मलाई हेरिन् । मेरो अनुहार कस्तो थियो मलाई थाहा भएन । त्यसपछि आमालाई पत्नीले जानकारी गराइन् । प्रारम्भिक चरणमा आमा हतासमा देखिनु भयो । त्यसपछि घरको क्वारेन्टाइनमा बस्ने निधो भयो । मैले केही साथीलाई फोन गरेँ।

धेरै शुभचिन्तक, मित्रहरुको फोन आयो । हरेक मानिस हतासमा रहेको, आन्तरिक भयमिश्रित आश्वासन देखियो । कोरना रोगभन्दा भय बढिरहेछ । सञ्चारमाध्यमले राहतभन्दा भय बढी पस्कँदा कोरना रोगको लक्षण भन्दा भय र त्रासले समाजमा जरा गाडेको रहेछ ।

आम सर्वसाधारण कोरोना भन्दा त्राहीत्राही रहेका छन् । हाम्रो पोखराको जनप्रिय स्कुलमा स्वाब संकलन गरेर लगियो । त्यसपछि के होला भन्ने प्रतीक्षामा हामी रह्याैँ ।

घरमा आमाको अनुहार हेर्दा साह्रै नरमाइलो भयो । पत्नी इन्दिराको छटपटाहटले पनि भनेको नमान्दा यस्तो भयो भनिरहेको थियो । धरानमा मेडिकल कलेजमा एमडी गर्दै गरेकी छोरीले मलाई बारम्बार नसम्झाएको होइन तर मैले मानवता भुल्न सकिनँ । उक्त दिन नजानु भनेर सुझाव दिने श्रीमतीको बचन मानेको भए पनि हुँदोरहेछ जस्तो लाग्छ ।

अर्कोतर्फ हामी बेलामा नगएको भए हाम्रो गुरु यतिबेला यो संसारमा हुनुहुन्थेन यो पक्कापक्की हो । कोरानाको भय कतिरहेछ भने छिमेकीहरुले पनि यसो झ्यालबाट हेरेर डराएझै लाग्छ । कसैकसैले त मान्छेलाई हेर्दा पनि सर्छ भनेझै गरे । सायद डब्लुएचओले कोरना फोन र फेसबुकबाट पनि सर्छ भनिदिएको भए मान्छेले मोबाइल छुन के गथ्र्यो होला कुन्नि ?

सोझो मनका व्यक्तिहरु आपत परेको बेलामा सहायता गर्न जाँदैनन् होला अब । कोरानाले पहिला आफू बाँचमात्र भन्दोरहेछ । मृत्युलाई जित्नेहरुलाई पनि यतिबेला कोरानाको डर र भय छ । मान्छे साँच्चै स्वार्थी हुनु पर्नेरहेछ ।

जति धेरै आदर्शका कुरा गरे पनि आखिर मान्छेलाई आफनो ज्यानभन्दा ठूलो कोही लाग्दैन । भन्दा प्राणभन्दा प्यारो भनेर जस्ले जस्लाई भने पनि यी भन्नेका कुरा रहेछन् । खुसीको कुरा उहाँलाई एकदुईको अन्तरालमा नेगेटिभ देखियो । स्वाब दिएर रिजल्ट नआउँदाको क्षण बढी पीडादायक रह्यो । हामी जस्तै धेरै पीडा धेरैले व्यहोरेका छन् ।

प्रयोगशालामा स्वाबको थुप्रोसँगै क्वारेन्टाइनमा बसेका मनहरुमा भय र त्राश व्याप्त छ । पिसिआर किट, भिटिएम र जनशक्ति पर्यात नभएका कारण हामीले यो दुर्गति भोगेका छौं । १० दिनसम्म रिपोर्ट नआएपछि कतिपय क्वारेन्टाइनबाट भागेका छन् ।

यसो हुनुको पछाडि कोरानाको अनावश्यक भय, आतंक सिर्जना भएर हो । मान्छेहरु कोरनालाई यति भयको रुपमा हेरेका छन् कि पिसिआर टेस्ट गरेको व्यक्तिलाई देखे पनि, उसको स्वर सुने पनि, उनीहरु हिँडेको बाटो हिँडे पनि, उसका जहान परिवारलाई समेत देखे पनि कोरोना आफनो शरीरका अंगमा जिमाराज झै झ्याप्प आएर अगाँलो मार्छ झै मान्छन् विचराहरुको अल्पज्ञानले ।

मिल्ने भए हामीले सास फेरेको हावा पनि फेरेर अर्को हावा लिने थिए विचराहरुले । उनीहरुको दोष छैन यस्तो व्यवहार हुनुमा । हाम्रा सञ्चार माध्यमले कोरनाको बारेमा यथार्थ तथ्यभन्दा भय र आतंक बढी पस्के, परिणाम मान्छेको मनमा भय रोग लाग्यो ।

डब्लुएचओले भनेको छ संक्रमित व्यक्तिले छुँदैमा तथा छोटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन । कोरोना भाइरस सर्न १००० देखि ३००० भाइरस हाम्रो शरीरमा प्रवेश गर्न आवश्यक हुन्छ । यसको लागि यात संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नु पर्ने हुन्छ वा हाछछ्युँ गर्नुपर्ने हुन्छ ।

अन्यथा छोटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन । सही सूचना नहुँदा यतिबेला समाजमा भय भइरहेको छ । रोगभन्दा सोकले मान्छेलाई भयभित बनाउँछ । कोरानाको भय पनि यस्तै छ । कोरोना लागेपछि पनि अरु रोग लागेको मान्छे झै सञ्चो हुन्छ भन्ने कुरा समाजमा अझै स्थापित भएको छैन ।

यसलाई भयानक र डरलाग्दो रोगको रुपमा लिइएको छ । कोरोनाबाट संक्रमितहरुको मृत्यु अत्यन्त न्यून छ । सदियौदेखि हाम्रो समाजमा सामान्य रुघाखोकीबाट पनि मानिस मरेका छन् । रोग नलागेका मानिसहरु पनि अकालमा मरेका छन् । कुनै पनि व्यक्तिको मृत्यु कतिबेला हुन्छ कसैलाई थाहा छैन । यसबारे एउटा रोचक कथा छ ।

एकपटक एउटा धार्मिक आश्रममा एकजना शिष्यले गुरुलाई समातेर प्रश्न सोधेछन् । गुरुले शिष्यलाई आश्रमको नियम बताए । यो आश्रममा कसैले गुरुलाई प्रश्न सोध्ने हो भने पहिला गुरुलाई सातपटक परिक्रमा गर्नुपर्छ अनि गुरुको पाउमा ३ पटक ढोग्नुपर्छ तबमात्र प्रश्न सोध्न पाइन्छ ।

तिमीले यो नियम पुरा गर तबमात्र तिम्रो प्रश्नको उत्तर दिन मिल्छ । शिष्यले ती गुरुलाई भनेछन् गुरु मैले ती सबै नियम पालन गर्न तयार छु तर म ती नियम पालन गरेर प्रश्न सोध्दासम्म बाँच्छु भन्ने ग्यारेन्टी गुरुले गर्नु हुन्छ ?

गुरु अवाक बनेछन् त्यतिबेलासम्म बाँच्ने ग्यारेन्टी म दिन सक्दिन तिम्रो प्रश्नको उत्तर म अहिल्यै दिन्छु तिमीले ठिक प्रश्न ग¥यौ भनेर ती शिष्यको काँधमा ढयाप मारेछन् । विधताले मान्छेलाई तिन कुरा कहिले, कहाँ, कसरी (के राग लागेर) मर्छ भन्ने कुराको जानकारी दिएको छैन रे ।

सबैभन्दा आश्चर्य फेरि के छ भने मान्छे म पनि मर्छु भनेर कसैले ठान्दैन रे । यही आश्चर्यका कारण मानिसहरुले मृगौला लगायत अन्य घातक रोग तथा कोरोना समेतले मृत्यु भएका व्यक्तिको दाहसंस्कार मा अमानवीय हर्कत गरेको लाजमर्दो दृश्य देखियो ।

कोरोनाबाट मृत्यु भएकाहरुको दाहसंस्कार निश्चिित सुरक्षित स्थानमा रहनुपर्छ । यसमा कसैको फरक मत छैन तर मृत्यु संस्कार व्यक्तिको मानवअधिकार हो भन्ने कुरा कसैले बिर्सनु हुँदैन । एकातिर आफ्नो प्रियजनको मृत्यु हुँदाको पीडा अर्कोतर्फ आफ्नो प्रियजनको मृत्युमा उनको दाहसंस्कार समेत गर्न नपाउँदा परिवारजनलाई कति पीडा भएको होला ?

सायद यो कल्पना गर्दा पनि मुटु दुख्छ । कोरोना महामारी हो यसलाई लापरबाही गर्न किमार्थ हुँदैन । यो जो कोहीलाइ पनि लाग्न सक्छ यसबाट सचेत र सजग रहनु पर्छ तर रोग लाग्यो कि भनेर टेस्ट गर्ने, संक्रमण लागेर उपचार गर्ने, दुर्भाग्यबस कोरोनाबाट मृत्यु हुनेहरु, र निजका धरपरिवारलाई घणा र हेयले हेर्ने अल्पज्ञानी दृष्टिकोणमा हामीले परिवर्तन गर्नुपर्छ ।

थाहा छैन कोरोनाको शंका भय र त्रासबाट उनीहरुलाई हेर्ने घृणाको अमानवीय दृष्टि कुनै दिन आफैतिर फर्कन पनि सक्छ । हामी कसैलाई नहोस् यस्तो ।

तपाईको प्रतिक्रिया